Oct 25, 2019
कुरूवा घर निर्माणका लागि महासंघ र कान्तिबाल अस्पताल बीच समझदारीपत्रमा हस्ताक्षर (२०७६/०७/०८)

नेपाल उद्योग वाणिज्य महासंघ र कान्ति बाल अस्पताल बीच कान्ति बाल अस्पतालमा उपचार गर्न आउने विरामीका अभिभावकहरूका लागि आवश्यक कुरुवा घर निर्माण गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । महासंघद्वारा महासंघ सचिवालमा आज आयोजित क्यान्सर रोग सम्बन्धी जनचेतनामुलक सामाजिक संवाद कार्यक्रमका अवसरमा सो समझदारी भएको हो ।

अभिनेत्री एवं सामाजिक अभियन्ता मनिषा कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणा र कान्ति वाल अस्पतालका तर्फबाट अस्पतालका निर्देशक प्राडा.आरपी बिच्छाले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

 

सामाजिक संवाद कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष राणाले मुलुकको स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती बन्दै गएको क्यान्सर रोगका विषयमा जनचेतना जगाउने प्रयास स्वरूप महासंघले कार्यक्रमको आयोजना गरेको स्पष्ट पार्नुभयो । अध्यक्ष राणाले महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गरी सामाजिक कार्यमा विशेष सहयोग गर्दै आएको स्मरण गर्नुहुंदै निजी क्षेत्रले सामाजिक उत्तरदायित्वलाई सदैव ख्याल गरी कार्य गर्दै बताउनु भयो ।

अध्यक्ष राणाले महासंघले आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरी कान्ति वाल अस्पतालमा विरामी कुरूवा घर निर्माणका लागि सहयोगको हात अगाडी बढाउन पाएकोमा खुशी समेत व्यक्त गर्नुभयो । साथै उहांले महासंघले जनचेतनामुलक कार्यक्रमलाई सातै प्रदेशमा लैजाने समेत बताउनु भयो ।

अभिनेत्री एवं सामाजिक अभियन्ता कोइरालाले यतिखेर सवै नेपालीले आ–आफ्ना जिम्मेवारी र भूमिकालाई प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने खांचो रहेकोमा जोड दिनुंहुंदै क्यान्सर रोग नियन्त्रणमा पनि पर्याप्त जनचेतनाको खांचो रहेको बताउनु भयो । सामूहिक सहकार्य र एकताबाट मात्र यस्ता रोगहरूका वारे जनचेतना जगाउन सकिने र रोग नियन्त्रणमा सहयोग पुग्ने भन्दै अभिनेत्री कोइरालाले निजी क्षेत्रको छाता संस्था महासंघले यस्ता कार्यमा अग्रभागमा रहेर सहयोग गर्न सक्ने आफूले विश्वास लिएको धारणा राख्नु भयो । साथै उहांले कान्ति वाल अस्पतालमा विरामी कुरूवा घर निर्माणमा महासंघले देखाएको सक्रियताको प्रशंसा समेत गर्नुभयो ।

महासंघको सामाजिक सेवा समितिका सभापति जय प्रसाद सिवाकोटीले धन्यवाद मन्तव्य दिनु भएको सो कार्यक्रममा वरिष्ठ चिकित्सकहरू प्राडा. राजेन्द्र बराल, डा. मदन पिया, डा. सुदिप श्रेष्ठ, प्राडा.आरपी बिच्छा र डा. विष्णु रथ गिरीले मुलुकभित्र क्यान्सर रोगको यथार्थ वस्तुतथ्य माथि प्रस्तुती दिंदै क्यान्सर रोग नियन्त्रणमा जनचेतनाको ठूलो भूमिका हुने हुंदा निजी क्षेत्रलाई जनचेतना जगाउने कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरू, उद्यमी व्यवसायीहरू, स्वास्थ्य क्षेत्रका विशिष्ठ व्यक्तित्वहरू, सामाजिक अभियन्ताहरू र संचारकर्मीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by