Oct 22, 2019
महासंघका पदाधिकारी र आइएलओ प्रतिनिधिमण्डल बीच भेटवार्ता (२०७६/०७/०४)

अन्तर्राष्ट्रिय श्रम संगठन (International Labor Organization-ILO) का वरिष्ठ सल्लाहकार संचिर टग्स्चीमेग (Ms. Sanchir Tugschimeg, Senior Advisor, ILO/ACT/EMP) को नेतृत्वमा आएको आइएलओ प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानसंग आज महासंघ सचिवालयमा शिष्टाचार भेटवार्ता गर्‍यो । 

सो अवसरमा महासंघका उपाध्यक्ष प्रधानले वरिष्ठ सल्लाहकारको नेतृत्वको आइएलओ प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै श्रम सम्बन्धमा आएको सुधारले नेपालमा लगानीको वातावरण बन्दै गएको जानकारी गराउनु भयो । उहांले महासंघ र आइएलओ बीचको सम्बन्ध र सहकार्यका विषयमा पनि चर्चा गर्नुभयो । 

नयां श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन सफल रूपमा अगाडी बढीरहेको उल्लेख गर्दै उपाध्यक्ष प्रधानले महासंघले श्रम क्षेत्रको सुधारका साथै मुलुकको आर्थिक विकास, रोजगारी सृजना र उद्योग व्यवसायको प्रवर्द्धनका लागि सरकार र ट्रेड यूनियनसंगको सहकार्य र संवादलाई महत्व दिई काम गरिरहेको बताउनुहुदै आईएलओमार्फत थप कार्यक्रमका साथै सहयोगको आग्रह गर्नुझयो ।

सो अवसरमा वरिष्ठ सल्लाहकार संचिर टग्स्चीमेग (Ms. Sanchir Tugschimeg, Senior Advisor, ILO/ACT/EMP) ले नेपालको श्रम सम्बन्धको स्थिति र आर्थिक एवं सामाजिक विकासतर्फ भईरहेका प्रयास बारे जिज्ञासा राख्नुहुँदै निजी क्षेत्रले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिनुभयो । साथै उहाँले रोजगारदाता संगठनले सदस्यहरूको चाहना र आवश्यकता अनुसार कार्यक्रम संचालन गरी आफ्नो भूमिका प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिंदै आइएलओले महासंघसंग मिलेर सहकार्य गर्नेमा विश्वास दिलाउनु भयो ।  



भेटवार्तामा आइएलओका इम्प्लोयर्स एक्टिभिटिजका वरिष्ठ विज्ञ रभिन्द्र पेरिस (Ravindra Peiris,Senior Specialist, Employers' Activities, ILO), महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, उप-महानिर्देशक हंसराम फाण्डे, आइएलओका वरिष्ठ कार्यक्रम अधिकृत सलोमोन राजवंशी, राष्ट्रिय कार्यत्रम संयोजक प्रकाश शर्माको उपस्थिति थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by