Jun 13, 2019
सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा महासंघ र मेडेफ इन्टरनेशनल बीच पेरिसमा सहमतीपत्रमा हस्ताक्षर दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा सहमती कोशेढुंगा हुने–अध्यक्ष राणा (मितिः २०७६/०२/३०)
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको समुपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेशनल (MEDEF International - the French Business Confederation) बीच पेरिसमा एक सहमतीपत्र 
(Memorandum of Understanding) मा हस्ताक्षर भएको छ । 

नेपाल तथा फ्रान्स बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणका क्षेत्रमा सहयोग एवं सहकार्य गर्ने उद्देश्यले महासंघ र मेडेफ बीच सहमतीपत्रमा हस्ताक्षर भएको हो । 

सम्माननीय प्रधानमन्त्रीज्यूको फ्रान्सको उच्चस्तरीय भ्रमणका अवसरमा नेपाली समय अनुसार गए राती सम्पन्न सो सहमतीपत्रमा महासंघका अध्यक्ष भवानी राणा र मेडेफ इन्टरनेशनलका अध्यक्ष फ्रेडरिक सान्जेज (Mr. Frederic SANCHEZ, Chairman,MEDEF International, the French Business Confederation) ले हस्ताक्षर गर्नुभयो । महासंघ र मेडेफ बीच यस अघि पनि निरन्तर सहयोग एवं सहकार्य हुदै आएको छ । 


आपसी सहमतीपत्रमा, एक अर्का देशमा व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान, आर्थिक तथा व्यापारिक क्षेत्रबाट परियोजना अध्ययन समूहको भ्रमण, दुवै संस्थाको सहयोगमा सम्बन्धित विषयमा गोष्ठी, छलफल, सेमिनार लगायतका कार्यक्रम आयोजना गर्ने, प्राविधिक क्षेत्रमा सम्मेलन आयोजना गर्ने, आर्थिक तथा व्यवसायिक क्षेत्र बीच नियमित सम्पर्कमा रहेर सूचना तथा जानकारीको आदान प्रदान गर्ने, एकअर्का देशले अवलम्वन गरेका नीति नियमहरू आदान प्रदान गर्ने, आपसी लाभका क्षेत्रमा सहकार्य गर्ने, आर्थिक व्यापारिक क्षेत्रमा सहयोगका अवसरहरू जुटाउने, व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणमा सहकार्य गर्ने उल्लेख छ । 

समारोहमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट महासंघ र मेडेफ इन्टर नेशनल बीच सहमतीपत्रमा हस्ताक्षर सम्पन्न भएकोमा दुवै संस्थालाई बधाई दिनुहुदै यो सहमती दुई देश बीच आपसी लाभका क्षेत्रमा सहकार्य गर्न महत्वपूर्ण हुने विश्वास प्रकट गर्नु भयो । फ्रान्सेली उद्यमी, व्यवसायी र लगानीकर्ताहरूको समेत बाक्लो उपस्थिति रहेको सो उच्चस्तरीय व्यवसायिक भेटवार्ता  कार्यक्रमलाई संवोधन गर्नु हुंदै प्रधानमन्त्रीले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा आएर लगानी गर्न आग्रह गर्नुभयो । साथै उहांले स्वदेशी एवं विदेशी लगानी आकर्षणका लागि हालै भएका प्रगति एवं नीतिगत सुधारका विषयमा समेत स्पष्ट पार्नुभयो । 

उच्चस्तरीय प्रतिनिधिमण्डलमा सहभागी हुनुभएका माननीय मन्त्रीज्यूहरू, फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारी, नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वा“ जाभिएर लेजेर ]/ (Mr. Francois-Xavier Leger, Ambassador of France to in Nepal) महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागिता रहेको सो कार्यक्रमलाई संवोधन गर्नुहुदै महासंघका अध्यक्ष राणाले महासंघ र मेडेफ बीच सम्पन्न सम्झौताले आगामी दिनमा नेपाल फ्रान्स बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा अझ बढी सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो ।  


नेपालको साना तथा मझौला व्यवसायको विकास, विस्तार तथा प्रविधिगत रुपमा उनीहरूको क्षमता विस्तारमा समेत यो सहमती कोशेढुंगा हुने दावी गर्दै अध्यक्ष राणाले सहमतीपत्रमा उल्लेख गरिएका दफाहरूलाई अक्षरश कार्यान्वयन गर्न महासंघको प्रतिवद्धता समेत जनाउनु भयो । अध्यक्ष राणाले नेपाललाई यतिखेर वाह्य लगानीको आवश्यकता रहेको, लगानीका लागि अत्यन्त अनुकुल समय समेत रहेकाले लगानीका लागि आग्रह गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न महासंघले सशक्त भूमिका निर्वाह गर्ने समेत फ्रान्सेली उद्यमी व्यवसायीहरूलाई विश्वास दिलाउनु भयो । 

उच्चस्तरीय औपचारिक भेटवार्तामा नेपाल फ्रान्स बीच दुई पक्षीय लगानी, प्रविधि हस्तान्तरण, केवुलकार, पर्यटन पूर्वाधार, जडीबूटी प्रशोधन लगायतका क्षेत्रमा संयुक्त लगानीका लागि आग्रह समेत गरियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by