Jun 03, 2019
नेउवामहासंघका प्रदेश-३ र मिलेनियल इण्डिया अन्तराष्ट्रिय चेम्वर बीच सहकार्यका लागि सहमती (२०७६/०१/२०)

आपसी व्यवसाय अभिवृद्धिमा सहकार्य गर्न उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्वर ३ र भारतको मिलेनियल इण्डिया अन्तराष्ट्रिय चेम्वर अफ कमर्स, ईण्डष्ट्रि एण्ड एग्रीकल्चर (Millennial India International Chamber of Commerce, Industry and  Agriculture-MIICCIA) बीच आज महासंघ सचिवालयमा एक सहमतीपत्रमा हस्ताक्षर भएको छ । 



महासंघका अध्यक्ष भवानी राणाको समुपस्थितिमा भएको सो कार्यक्रममा, सहमतीपत्रमा महासंघको प्रदेश नम्वर ३ का उपाध्यक्ष राजन गौतम र मिलेनियल इण्डिया अन्तराष्ट्रिय चेम्वरका अध्यक्ष एम्वेसडर अनिल क्रिगुनायत (Amb.Anil Trigunayat, President, MIICCIA)  ले हस्ताक्षर गर्नुभयो । 

सहमतीपत्र ६ वटा बूंदामा समेटिएको छ । आपसी सहमती अनुसार आवश्यक व्यवसायिक सूचनाको आदान प्रदान गर्ने, सहयोग प्रवर्द्धन गर्ने, कृषि क्षेक्रमा सहकार्य गर्ने, बजार अध्ययन अनुसन्धान गर्ने, व्यावसायिक विस्तारका त्रियाकलाप गर्ने, पालैपालो एक अर्का देशमा व्यवसायिक भेटवार्ता गर्ने, व्यवसायिक भ्रमणको आदान प्रदान लगायतका क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ । 

कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष राणाले दुई देश बीचको व्यवसायिक सम्बन्ध विस्तार, सहकार्यका क्षेत्र विस्तार सहितका आपसी हितका क्षेत्रमा मिलेर कार्य गर्न यो सहमती कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो । यसका लागि दुवै संस्थाले सहमतीपत्रमा उल्लेखित बूंदाहरूलाई अक्षरश लागु गर्नुपर्ने सुझाव सहित सफलताको कामना गर्नुभयो ।

भारतीय राजदुतावासका वाणिज्य सचिव कपिल ध्वज प्रताप सिंले दुवै देशका उवासंघहरू बीच भएको सहमतिको सराहना गर्नुहुंदै यसले आपसी सम्बन्धलाई मजवुद बनाउनुको साथै थप उचाईमा पुर्‍याउने विश्वास प्रकट गर्नुभयो ।

महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान, महासंघको मेला समितिका सभापति दिल सुन्दर श्रेष्ठको पनि उपस्थिति रहेको सो अवसरमा महासंघको प्रदेश नम्वर ३ का उपाध्यक्ष राजन गौतमले मिलेनियल इण्डिया अन्तराष्ट्रिय चेम्वरसंग सहकार्यका लागि जोडिन पाएकोमा खुशी प्रकट गर्दै आपसी हितका विषयमा सहकार्य गरी दुवै देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा यो सहमतीलाई सफल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

मिलेनियल इण्डिया अन्तराष्ट्रिय चेम्वरका अध्यक्ष त्रिगुनायतले दुवै संस्था बीचको सहमतीलाई ऐतिहासिक भन्दै सहमतीका बुँदाहरूलाई अक्षरश कार्यान्वयन गर्ने र नेपाली समकक्षी संस्थासंगको सहकार्यमा आगामी दिनमा विभिन्न कार्यक्रमहरू गर्दै जाने विश्वास दिलाउनु भयो । 

नेउवामहासंघको प्रदेश नम्वर ३ का उपाध्यक्ष कृष्ण प्रसाद अवालले धन्यवाद मन्तव्य दिनु भएको कार्यक्रममा प्रदेश नम्वर ३ का सदस्यहरू, महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, महासंघका वरिष्ठ अधिकृतहरू र एमआईआईसीसीआईएका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by