Dec 10, 2018
मकवानपुर उवासंघले गर्यो बेलायती राजदुतको स्वागत
२०७५ साल मंसिर २६ गते

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण कटुवालज्यूको अध्यक्षतामा नेपालकालागि बेलायती राजदुत महामहिम रिचर्ड मोरिसज्यूको स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्यो । संघका अध्यक्ष कटुवालले मकवानपुर जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा विशेष सहयोग गर्न आग्रह गर्नुभएको थियो भने मकवानपुर र बेलायती लगानीकर्तासंग उद्योग व्यापारमा सहजीकरण, मकवानपुरलाई शैक्षिक केन्द्र बनाउन तथा IELTS को परिक्षा लिने व्यवस्था संघको सहकार्यमा हेटौंडामै गराउन, DFID संग आवश्यक सहकार्य गरी अघि बढ्न आवश्यक पहल गरिदिनु अनुरोध पनि गर्नुभएको थियो । संघका कासस नरेन्द्र भण्डारीज्यूले संघको विगतदेखि वर्तमानसम्मको अवस्था र संघले बेलायती राजदुतबाट अपेक्षा गरेको विषयवस्तुको विषयमा प्रस्तुतिकरण पेश गर्नुभएको थियो । संघको निर्माणाधीन अतिथि गृह र आगामी फागुनमा हुन गईरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको विषयमा पनि उहाँलाई जानकारी गराइएको थियो ।

पहिलो पटक मकवानपुर आउनुभएको महामहिम राजदूत रिचर्स मोरिसले नेपालको तीब्र आर्थिक विकासमा बेलायत साथी बन्ने बताउनुभएको छ । नेपाल र बेलायतबीच दुईसय दुई वर्ष पुरानो सम्बन्ध रहेको स्मरण गराउनुहुँदै नेपालले अब तीब्ररुपमा आर्थिक विकास गर्ने अपेक्षा आफूले लिएको बताउनुभएको थियो । DFID मार्फत नेपाललाई विगत ५ दशकदेखि सहयोग गर्दै आएको र मकवानपुरमा पनि भूकम्पपछिको पुनर्निर्माणमा सहयोग भईरहेको उहाँले बताउनुभयो । द्विदेशीय व्यापार प्रवर्द्धनमा पनि आफूले सक्दो प्रयास गर्ने बताउनुहुँदै महामहिम मोरिसले आर्थिक विकासकालागि विदेशी लगानी पनि आउन जरुरी रहेको बताउनुभयो । मकवानपुरको प्राकृतिक अवस्थाले आफू अत्यन्तै मोहित भएको र यहाँ पर्यटनको ठूलो सम्भावना रहेकोले यसकालागि सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराउनुभयो । 

संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीज्यूले महामहिम राजदुतले छोटो निमन्त्रणामा मकवानपुर आईदिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुहुँदै कार्यक्रम समापन गर्नुभएको थियो ।

संघका महासचिव प्रमोदसिंह रानाभाटज्यूले सञ्चालन गर्नुभएको कार्यक्रममा DFID का टिम लिडर कर्टिस पामर, नेपाल ब्रिटेन उवासंघका सदस्य दिनेश पौड्यालय, संघका पूर्वअध्यक्ष तथा सल्लाकार  केशव श्रेष्ठ, उत्तमशर्मा ढकाल, जीवनकाजी माकजु श्रेष्ठ, भुवनलाल श्रेष्ठ तथा सल्लाहकारज्यूहरु, संघका पदाधिकारी तथा कासस एवम् आमन्त्रित सदस्य महिला उद्यमी विकास समितिका सदस्य, कर्मचारी तथा सञ्चारकर्मीज्यूहरुको उपस्थिति रहेको थियो ।

संघको विशेष पहलमा मकवानपुर आउनुभएका महामहिम राजदुत रिचर्ड मोरिसले प्रदेश नं. ३ का मुख्यमन्त्री माननीय डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानूनमन्त्री माननीय शालिकराम जम्कट्टेलज्यूसंग भेटघाट तथा छलफल गर्नुभएको थियो भने जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मध्य नेपाल क्षेत्रीय पर्यटन समितिका प्रतिनिधिज्यूहरुसंग पनि भेटघाट तथा छलफल गर्नुभएको थियो । उहाँलाई मकवानपुरको चुरियामाई सुरुङ्ग, शहिद स्मारक, मनकामना मन्दिरको अवलोकन पनि गराईएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by