May 22, 2018
मकवानपुर उवासंघ टोली दक्षिण कोरियाको भ्रमणपश्चातको पत्रकार सम्मेलन

२०७५ जेठ ८ गते ।

दक्षिण कोरियाको विभिन्न क्षेत्रको विकासलाई मध्यनजर गरी कृषि क्षेत्रलाई विशेष चासोको विषय बनाई मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण कटुवालज्यूको नेतृत्वमा दक्षिण कोरिया भ्रमणमा जाने टोलीको हेटौंडाबाट विदाई भई शुरु भएको भ्रमण कार्यक्रम अन्तर्गत भ्रमण टोली २०१८।५।१२ मा बुसान पुग्दा गिम्हे माईग्रेन्ट हाउसले स्वागत गरी गिम्हे लगेका थिए । पुगेको भोलिपल्टबाट शुरु भएको अध्ययन अवलोकनको क्रममा श्रीलंका, नेपाल र चीनका कामदारसहितको टोलीसंग पोल्ट्री फार्मको अध्ययन अवलोकनकालागि नर्थ जोयला पुग्यौं र त्यहाँ ह्याचरी, लोकल कुखुरा उत्पादन र हारिम कम्पनीको अवलोकन गरियो जहाँ प्रति दिन ८ लाख कुखुराको बध गरी मासु तयार गरिन्थ्यो । २६ दिनमा २.६ केजीको लोकल कुखुरा मात्र डेढ केजी दाना खुवाएर तयार हुने गरेको पाईयो । 

त्यसैगरी ग्याङ्गनम् नेशनल युनिभर्सिटी अफ साईन्स एण्ड टेक्नोलोजी गई प्रो. डा. साङ्ग ह्योक पार्क, प्रो. डा. स्योल ब्युङ्ग मुन, प्रो. डा. ईन बाङ्ग सङ्गलगायतका टोलीसंग कृषि क्षेत्रको विकासकालागि व्यापक छलफल गरी नेपाली विद्यार्थीलाई पढाईदिने, छात्रवृत्ति दिने विषयमासमेत छलफल भई आवश्यक परे नेपालमै आई कृषि सम्बन्धी अध्यापनकालागिसमेत तयार रहेको युनिभर्सिटीका पदाधिकारीहरुले जानकारी गराए । तत्पश्चात रेशम किरा खेती र भेंडे खुर्सानी खेतीको अवलोकन गरियो । प्राय खेतीहरु टनेल बनाई सोभित्र खेती गर्ने गरिएको पाईयो । साथै सलादको रुपमा प्रयोग हुने रातो पहेलो भेंडे खुर्सानी र तरकारीको रुपमा प्रयोग हुने हरियो भेंडे खुर्सानीको निकै ठूलो बोट जुन नरिवलको जटामा रोपिएको थियो भने भेंडे खुर्सानी टिप्नकोलागि ट्रलीको प्रयोग गरिएको थियो । विरुवाहरुमा पानी दिनकालागि स्मार्ट फोनको प्रयोग गरिएको पाईएको थियो । अवलोकनका क्रममा भेंडे खुर्सानी फार्ममा काम गर्ने नेपाली कामदारहरुसंग पनि छलफल गरियो र लगानी तथा प्रविधि भित्र्याउने विषयमा कामदारहरुले आफू उत्साहित रहेको र आफ्नो देशमा केही गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका थिए । भ्रमणकै क्रममा सामसुङ्ग मोटर कम्पनीको पनि अवलोकन गरियो जहाँ प्रति मिनेट एउटा कार उत्पादन हुन्थ्यो । त्यस्तै नोङ्गस्मि चाउचाउ कम्पनीको अवलोकन गरियो जहाँ तेल आदिको प्रयोग नगरी चामलको पिठोबाट चाउचाउलगायत अन्य खाद्यबस्तु तयार गर्ने गरिएको पाईयो । 

दक्षिण कोरियाका विभिन्न उद्योग वाणिज्य संघहरुसंगको भेटघाटको क्रममा बुसान उवासंघमा गई उद्योग वाणिज्य क्षेत्रको विषयमा छलफल गरियो । साथै गिम्हे उवासंघमा वाणिज्य क्षेत्रको विषयमा छलफल गरियो र मकवानपुर उवासंघसंग भगिनी सम्बन्ध गाँसी आपसमा उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्न ईच्छुक रहेको जानकारी गिम्हे उवासंघले गराए जुन कुरा त्यहाँको स्थानीय पत्रिकामा समेत प्रकाशन भईसकेको छ । दुवै उवासंघ ठूलो शहरको नजिक रहेको, क्षेत्रफल र जनसंख्याको हिसाबले पनि उस्तै उस्तै रहेकोले पनि भगिनी सम्बन्ध गाँस्न उनीहरु ईच्छुक रहेको देखियो । त्यस्तै मुहाक कम्पनी लि. ले दक्षिण कोरियामै प्रख्यात सोजु नामक मदिराको उत्पादन गर्ने गरेको पाइयो जुन मदिरा दक्षिण कोरियाको राष्ट्राध्यक्षदेखि सामान्य नागरिकले समेत सेवन गर्ने गरेको पाइयो । उक्त मदिरा नेपाल मै उत्पादन गर्न सकिने विषयमा पनि छलफल गरिएको थियो ।

त्यसैगरी अध्ययन अवलोकनको क्रममा सिओलमा वातावरण मैत्री पेट्रोल, प्लाष्टिक प्लेट र ग्लासको सट्टामा प्रयोग गर्न सकिने मकैबाट निर्मित ग्लास र प्लेट जुन पछि पशुपक्षीको दानाको रुपमा प्रयोग गर्न सकिने बस्तुको विषयमा पनि छलफल गरिएको थियो । स्थानीय कलाकार तथा होटल व्यवसायी गम्भीरमान श्रेष्ठ तथा एनआरएन दक्षिण कोरियाका पूर्वअध्यक्ष विनोद कुँवरबीच पनि आपसी सहयोग तथा व्यापार आदिका विषयमा छलफल गरिएको थियो । दक्षिण कोरिया र उत्तर कोरियाको सिमाना अवलोकन र सिओल टावर अवलोकनपश्चात कोरिया भ्रमण सम्पन्न गरी अन्तिम दिन नेपाल प्रस्थान गरियो ।

यसैबीच गिम्हे माईग्रेन्ट हाउस र मकवानपुर उद्योग वाणिज्य संघबीच व्यापार, लगानी, कृषि तथा आधुनिक प्रविधि, सेवा तथा अन्य औद्योगिक व्यापार क्षेत्रमा दुई देशबीच समझदारी तथा मित्रताकालागि कार्य गर्ने सम्झौता भईसकेको र हालसम्मको उपलब्धिमा यो नै मुख्य उपलब्धि हो भने आगामी डिसेम्बर महिनाभित्र कृषि सम्बन्धी विशेष तालिम मकवानपुरमा प्रदान गरिने पनि भएको छ । थप उपलब्धिकालागि अन्य विषयमा भएको छलफलले मूर्त रुप लिंदै गएको अवस्थामा अन्य उपलब्धि पनि छिट्ट देखिंदै जानेछ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by