Aug 22, 2019
उवासंघ- चितवनले दियो बिपद् व्यवस्थापन तालिम शिक्षालयलाई मेडिकल उपकरण 

भाद्र ५, चितवन । 

उद्योग वाणिज्य संघ-चितवनले बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारलाई आज यहां एक कार्यक्रमको आयोजना गरि मेडिकल उपकरण हस्तान्तरण गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार-चितवनद्वारा सञ्चालित ट्रमा सेन्टरलाई मेडिकल उपकरण उपलब्ध गराईएको हो । उद्योग वाणिज्य संघ-चितवनको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि संघका अध्यक्ष सहनलाल प्रधानले शिक्षालयका समादेशक किशोर प्रधानलाई उक्त उपकरण हस्तान्तरण गर्नु भएको हो । 

उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले संघको संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत रहि विपद् न्यूनिकरण गर्नुका साथै बिपद्मा परेका व्यक्तिहरुलाई उद्दार गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विपद् व्यवस्थापन तालिम केन्द्रले सञ्चालनमा ल्याउन लागेको ट्रमा सेन्टर सञ्चालनका लागि मेडिकल सामाग्री उपलब्ध गराइएको जानकारी दिनु भयो । कार्यक्रममा अध्यक्ष प्रधानले संघले सञ्चालन गर्दै आइरहेको चितवन महोत्सवहरुमा नारायणी नदीमा हुने नदिजन्य खेलकुद कार्यक्रम लगायत व्यवसायीक बिपद्मा समेत केन्द्रले पुर्‍याएको योगदानको कदर गर्दै प्रदान गरिएका मेडिकल उपकरणको यथोचित सदुपयोग हुने आशा ब्यक्त गर्नु भयो । कार्यक्रममा उपकरण ग्रहण गर्दै बिपद् ब्यवस्थापन तालिम शिक्षालयका प्रमुख एवं सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक किशोर प्रधानले देशकै नमूनाको रुपमा रहेको उक्त केन्द्रले ट्रमा सेन्टर सञ्चालन गर्नका लागि प्राप्त गरेका सामाग्रीहरुको सहि सदुपयोग गर्ने भन्दै सहयोगको लागि हार्दिक आभार ब्यक्त गर्नुभयो । कार्यक्रम बोल्दै प्रधानले चितवनमा अवस्थित उक्त केन्द्रले नेपालभरका लगभग सबै स्थानमा आइपरेका मानविय तथा प्राकृतिक विपद्मा निरन्तर उद्धार कार्य गर्दै आइरहेको बताउंदै आगामी दिनहरुमा समुदाय संग मिलेर उद्धारका कार्यहरु अगाडि बनाउने योजना रहेको बताउनु भयो । उद्योग वाणिज्य संघ-चितवनले यस अगावै नारायणगढ देखी मुग्लिन सडक खण्डका बिभिन्न स्थानहरुमा सवारी दुर्घटना सम्बन्धि १० वटा जनचेतनामुलक होडिङबोर्डहरु राखिसकिएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनु भयो ।

उपकरण हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका निबर्तमान अध्यक्ष एवं नेउवामहासंघ-प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतम, नेउवामहासंघका कार्यकारिणसमिति सदस्य डा. तिलचन्द्र भट्टराई ,वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष द्धय चिरञ्जिवि सुवेदी, भोजराज कौडाल, पूर्वअध्यक्षहरु देसीराम प्रधान, उत्तमलाल चुके, प्रचण्डलाल प्रधान, कार्यसमिति सदस्य तथा सशस्त्र प्रहरी बल कुरिनटारका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । संघले ट्रमा सेन्टर सञ्चालनका लागि तिन लाख वरावरको मेडिकल उपकरणहरु उपब्ध गराएको उवासंघ-चितवनको सचिवालयले जनाएको छ । 

साथै कार्यक्रममा शिक्षालयको तर्फबाट शिक्षालय प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक किशोर प्रधानले उद्योग वाणिज्य संघ-चितवनलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गर्नु भएको थियो भने संघका अध्यक्ष सहनलाल प्रधानले उक्त प्रशंसा पत्र ग्रहण गर्नुभएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by