Jul 26, 2019
उवासंघ-चितवनद्वारा गौतम बुद्ध अर्न्तराष्ट्रिय क्रिकेट रंगशालालाई ५५ लाख सहयोग

श्रावण ९, चितवन ।

उद्योग वाणिज्य संघ चितवनले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १५ मा निर्माणाधिन अर्न्तराष्ट्रिय क्रिकेट रंगशालालाई ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । उवासंघ-चितवनको सभाहलमा आज एक औपचारिक कार्यक्रमका बिच उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष सहनलाल प्रधानले रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

राष्ट्रकै गौरवको परियोजना भएकाले संघले संस्थागत रुपमा सहयोग रकम प्रदान गरेको संघका अध्यक्ष प्रधानले बताउनुभयो । रंगशाला निर्माणले राष्ट्रको छवि बृद्धि हुने मात्र नभई चितवन जिल्लाको समग्र बिकासमा कोशेढुंगा सावित हुने प्रधानले वताउनुभयो । कार्यक्रममा अध्यक्ष प्रधानले गौतम बुद्ध अर्न्तराष्ट्रिय क्रिकेट रंगशाला चितवनमा निर्माण हुनु चितवनका उद्यमी व्यवसायी लगायत सर्वसाधारणको लागि पनि गौरवको विषय भएको बताउंदै रंगशालाको सफल निर्माणमा उद्योग वाणिज्य संघ-चितवन सदैव साथ रहने बताउनु भयो । कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष प्रधानले रंगशालाले जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटन र खेल पर्यटनको विकासमा उल्लेख्य सहयोग पुर्‍याउने अपेक्षा गरेको बताउनु भयो । 

सहयोग रकम हस्तान्तरण कार्यक्रमका प्रमख अतिथि एवं भरतपुर महानगरपालिकाकी  प्रमुख रेनु दाहालले रंगशाला निर्माण हुनु समृद्धिको सुचकका रुपमा रहेकोले रंगशाला निर्माणमा सबैको साथ सहयोग दिनानुदिन वृद्धि हुदै गएकोमा खुसी ब्यक्त गर्दै रंगशाला निर्माणसम्पन्न हुने समय सम्म अनवरत रुपमा सक्रिय भई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै दाहालले महानगरपालिकाका प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा सहयोग समिति गठन गरिएको बताउंदै चितवनवासीको उल्लेख्य सहयोग रहने अपेक्षा ब्यक्त गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले उद्योग वाणिज्य संघ-चितवनले गरेको सहयोगको प्रशंसा गर्दै यसले रंगशाला निर्माणमा उर्जा थपिदिएको बताउनु भयो । 

कार्यक्रममा सहयोग रकम ग्रहण गर्दै फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले  जिल्लाबासीको उत्साहपूर्ण साथ सहयोगले आफुलाई प्रसस्त हौसला मिलेको बताउनु भयो । रंगशाला निर्माणका लागि चितवन वासीले फाउण्डेशनलाई दरिलो साथ दिएका छन् , उद्योग वाणिज्य संघ-चितवनको सहयोगले थप हौसला उर्जा र प्रेरणा थपेको छ, उद्योग वाणिज्य संघ-चितवन प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु , अध्यक्ष कट्टेलले भन्नु भयो । कार्यक्रममा अध्यक्ष कट्टेलले सवै नेपालीको साथ रहे आगामी २ बर्षमा निर्माण सम्पन्न गरिसक्ने बताउनु भयो ।  सोहि कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका सक्रिय सदस्य फर्म  थपलिया ब्रर्दश एन्ड सप्लायर्सका प्रोपाईटर दिनेश थपलियाले रंगशालाको सेनेटरीका सामानहरु सौजन्य गर्ने घोषणा गर्नु भएको थियो भने सोहि अवसर पारी चितवन क्रिकेट एशोसियसनको तर्फबाट अध्यक्ष कैलास प्रधानले रु २,५५,५५५।०० बराबरको चेक रकम हस्तान्तरण गर्नुभएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनु भयो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत , धुर्मुस-सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस, नेउवामहासंघका कार्यकारिणि समिति सदस्य, पूर्व अध्यक्ष, संघका पदाधिकारी एवम् सदस्यहरु, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, भरतपुर महानगरपालिकाका बिभिन्न वडाका वडाध्यक्षज्यूहरु, उद्यमी व्यवसायी, सञ्चारकर्मि लगायत सयौंको उपस्थिती रहेको थियो । 

उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षता, कार्यक्रम अधिकृत निलबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको ऊक्त सहयोग रकम हस्तान्तरण कार्यत्रममा संघका वरिष्ठ उपाध्यक्ष एवं रंगशाला निर्माण सहयोग समितिका सदस्य सचिव चुननारायण श्रेष्ठले धनयवाद ज्ञापन गर्नुभएको थियो ।  भरतपुर महानगरपालिका वडा नम्वर १५ मा निर्माणधिन अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण पुरा गर्न सहज वातावरण बनेको भन्दै दुई महिना देखि रोकिएको काम फाउण्डेशनले फेरी सुचारु गरिसकेको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by