Jun 05, 2019
 विश्व वातावरण दिवसदको अवसरमा उद्योग वाणिज्य संघ-चितवनको साइकल र्‍याली
जेष्ठ २२, चितवन ।

विश्व वातावरण दिवस २०१९ को सन्दर्भमा जेष्ठ २२ गते उद्योग वाणिज्य संघ-चितवनले बृहत सद्भाव साइकल र्‍याली आयोजना गरेको छ । उद्योग वाणिज्य संघ-चितवन र साईकल व्यवसायी संघ, चितवन-नवलपुरको संयुक्त तत्वाबधानमा उक्त साइकल र्‍यालीको आयोजना गरिएको हो ।

र्‍यालीको उद्घाटन समारोहमा बोल्दै उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष सहनलाल प्रधानले वातावरण प्रदुशण हुनुमा बढ्दो शहरिकरण, इन्धनको खपत र जनचेतनाको समेत कमि भएको औल्याउनु भयो । कार्यक्रममा उहांले विश्व वातावरण दिवसको नारा स्वच्छ वायु, स्वस्थ जीवन भने जस्तै मानवले आफ्नो स्वास्थ्यको लागि प्रतिकुल हुने खालका क्रियाकलाप नर्गन अनुरोध गर्दै साइकल यात्राले मानसिक, शारिरिक र वातावरण संरक्षणमा समेत उल्लेख्य सहयोग पुग्ने हुनाले साइकल यात्रा महत्वपूर्ण रहने बताउनु भयो । उहांले वातावरण प्रदुशणका कारणले दिगो विकासका लक्ष्यहरु हासिल गर्नमा अफ्ठेरो पर्न जाने हुनाले यस सम्बन्धमा सम्बन्धित निकायका साथसाथै सर्वसाधारण समेत सचेत हुनुपर्ने बताउनु भयो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं प्रदेश नं.३का प्रदेश सभासदस्य माननिय विजय सुवेदीले जसरी बनमाराले जंगल , जलकुम्भिले तालतलैयाहरुको विनास गरिरहेको छ त्यसै गरि फोहोरले मानव संसार जटिल र संवेदनशिल बन्दै गइरहेको बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि सुवेदीले मानव जीवन प्रतिकुल हुनेखालका कुनै पनि कुरा नर्गन अनुरोध गर्दै भरतपुर महानगरलाई हराभरा र सुन्दर बनाउंदै विकास निर्माणका क्रियाकलापहरु पनि वातावरणमैत्री हुनुपर्ने जनाउंदै यसको विकासका लागि आफुले आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा साइकल व्यवसायी संघ, चितवन-नवलपुरका अध्यक्ष श्याम खरेलले साईकल चढौं , स्वस्थ बनौं भन्ने नारालाई सार्थक बनाउन संघले बिभिन्न कार्यक्रम आयोजना गरिरहेको बताउंदै भरतपुर महानगरपालिका क्षेँत्र भित्रका मुख्य क्षेत्र भित्र साइकल लेनको विकास गर्नु पर्ने बताउनु भयो ।

उद्योग वाणिज्य संघ-चितवनको परिसरबाट शुरु भएको साइकल र्‍यालीले पोखरा वसपार्क-आँपटारी-वाइपासरोड-जिल्ला प्रशासन कार्यालय चोक-पारसवसपार्कचोक-हाकिमचोक-चौविसकोठी-लायन्सचोक-पुल्चोकहुंदै-पुनः उद्योग वाणिज्य संघ-चितवनमा आएर समापन भएको थियो ।समापन कार्यक्रममा बोल्दै साईकल व्यवसायी संघ, चितवन-नवलपुरका निबर्तमान अध्यक्ष धर्मराज सापकोटाले बिगत लामो समय देखी आफुहरुले माग गर्दै आइरहेको साइकल लेनको माग प्रति प्रमुख अतिथिको ध्यानाकर्षण गर्दै सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका पदाधिकारी, कार्यसमिति सदस्य, साईकल व्यवसायी लगायत १०० भन्दा बढिको  सहभागिता रहेको उद्योग वाणिज्य संघ-चितवनका कार्यक्रम अधिकृत निलबहादुर के.सीले जानकारी दिनुभयो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by