Jan 21, 2019
राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५ सम्बन्धी प्रेस विज्ञाप्ति

२०७५ माघ ७ गते सोमबार ।

विकासको पूर्वाधार उद्योग र व्यापार भन्ने मूल नाराकासाथ जिल्लामा रोजगारी, कृषि, सूचना प्रविधि, पर्यटन, व्यापार तथा जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित मकवानपुर उद्योग वाणिज्य संघ एउटा गैरनाफामूलक, गैरसरकारी सेवामुखी संस्था हो । वि.सं. २०२३ सालमा हेटौंडा व्यापार संघबाट नामांकृत तथा २०२५ सालमा नाम संशोधन भई मकवानपुर उद्योग वाणिज्य संघ रहन गएको यस संघले जिल्लामा रहेका सदस्य तथा गैरसदस्य व्यवसायीहरुको हकहित, अधिकार तथा सुरक्षाको लागि आवश्यक कार्यहरु सम्पादन गर्दै आएको छ । जिल्लामा व्यापार व्यवसाय विस्तार तथा प्रवर्द्धन गर्न नियमितरुपमा सूचनामूलक कार्यक्रम, तालिम, गोष्ठी, छलफल, अन्तरक्रिया, राष्ट्रिय तथा अन्तराष्ट्रिय भ्रमण जस्ता कार्यक्रमहरु संचालन गर्नुका साथसाथै जिल्लामा भएका औद्योगिक हड्ताल, मजदुर व्यवस्थापन विवाद जस्ता समस्याहरुको निराकरण तथा सामाजिक हितका लागि पनि उल्लेखनीय काम कर्तव्यहरु सम्पादन गर्दै आएको छ । व्यवसायको विस्तार, सम्भावित ग्राहकहरुसंग छलफल तथा नयाँ वस्तु एवम् सेवाहरुको प्रवद्र्धन गर्ने तथा समग्रमा उद्योग एवम् व्यापारमार्फत यस क्षेत्रकै आर्थिक, सामाजिक तथा पर्यटकीय विकासमा मद्दत पुर्याउने उद्देश्यका साथ यस संघद्वारा विभिन्न समयमा मेला, प्रदर्शनी तथा व्यापार प्रवद्र्धनका कृयाकलापहरु संचालनको सिलसिलामा वि. सं. २०४२ मा तत्कालीन अध्यक्ष नारायणप्रसाद शर्माको नेतृत्वमा सम्भवत नेपालकै पहिलो औद्योगिक व्यापार मेला २०४२ सम्पन्न गरिएको थियो । सोपश्चात मेलालाई निरन्तरता प्रदान गर्ने क्रममा बि.सं. २०४३, २०५३, २०५५, २०५६ सालमा आयोजना गरिएको थियो भने बि.सं. २०६६ मा मध्यमाञ्चल औद्योगिक व्यापार मेला तथा २०६८, २०७० र २०७२ सालमा राष्ट्रिय औद्योगिक व्यापार मेला सफलतापूर्वक सम्पन्न भएका छन् । तसर्थ यस मेला अन्य साना प्रदर्शनी तथा महिला उद्यमी मेला बाहेक संघको नवौ मेलाकोरुपमा आयोजना गरिंदै छ ।

जिल्लामा उद्योग व्यापार क्षेत्रको विकास गरी समग्रमा देशकै आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले मकवानपुर उद्योग वाणिज्य संघले बृहत औद्योगिक व्यापार मेला आयोजना गर्ने कार्यतालिका बमोजिम यस पटक पनि २०७५ फागुन १६ देखि २६ गते सम्म क्याम्पा चौर, हेटौंडा-५ मा "राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५" आयोजना गर्न गइरहेका व्यहोरा औपचारिकरुपमा सहर्ष जानकारी गराउदछौं ।

देशकै मध्य भागमा रहेको यस सुन्दर हेटौंडा नगरीको ५० बर्षभन्दा बढीको औद्योगिक संस्कार रहेको छ । हेटौंडा औद्योगिक क्षेत्र क्षेत्रफलको हिसाबमा राष्ट्रकै ठूलो औद्योगिक क्षेत्र हो । संगसंगै अर्को नयाँ औद्योगिक क्षेत्रको स्थापना भई पूर्वाधारको तयारी पनि भईरहेको अवस्था छ । विगतका बर्षहरुमा देशका विभिन्न भागबाट हेटौंडामा बसाईसराई गर्ने क्रम पनि तीव्र रुपमा रहेको छ । प्रदेश नं. ३ को राजधानी भईसकेपश्चात हेटौंडाको आर्थिक विकासले गति लिंदै गएको पाईन्छ । विगत १० बर्ष यता मात्र करिब ५०,००० नयाँ व्यक्तिहरुले आफ्नो थप राम्रो भविष्यको अपेक्षामा हेटौंडा नगरमा बसाइसराई गरेको तथ्य हाम्रा सामु रहेको छ । बढ्दो जनघनत्वको अर्थ बढ्दो व्यावसायिक अवसर पनि हो ।

उद्योगको उत्पादनहरुलाई सहज ढंगले उपभोक्ता समक्ष पुर्याउन विभिन्न समयमा र स्थानहरुमा हुने मेला प्रदर्शनीहरुको ठूलो भूमिका रहने कुरालाई नकार्न सकिन्न । यिनै विषयलाई मध्यनजर गर्दै मकवानपुर जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा यो मेला आयोजना गर्न लागिएको छ । जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले यस मेलाको संरक्षकत्वको प्रदान गर्ने भएको छ ।

मेलामा विभिन्न क्षेत्रहरु कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादन तथा सेवाहरुलगायत प्रदेश स्तरीय प्रदेश परिसर राखिनेछन् । सो सबै स्टल गरी करिव ४०० वटा स्टलहरु रहनेछन् । मेला अवधिभर छलफल र अन्तरक्रिया तथा पुरस्कारमूलक कार्यक्रमहरुको पनि आयोजना गरिनेछ । मेलामा परम्परा र संस्कृतिको संरक्षण हेतु पञ्चेबाजा प्रतियोगिता गरिनेछ । मेलाको बिशेष आकर्षणको रुपमा दैनिक रुपमा विभिन्न जनजातिको स्थानीय भेषभुषामा साँस्कृतिक कार्यक्रमका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहनेछन् । मिनी चिडियाखाना, हेलिकप्टर, हात्ती तथा घोडचडी, डुंगा सयर, बालबालिकाहरुको मनोरञ्जनका लागि बालउद्यानको समेत व्यवस्था गरिनेछ । तर जोखिमयुक्त मौतका कुवा यसपटक बालउद्यानमा समावेश गरिने छैन । विभिन्न पेशा, व्यापार, उद्योगमा संलग्न व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिव ५ लाख अवलोकनकर्ताले यो मेला अवलोकन गर्ने अनुमान गरिएको छ । यस मेलामा सवारी साधनहरुसहित गरी करिव ५० करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको छ । मेलाको प्रवद्र्धनकालागि स्थानीय तथा राष्ट्रियस्तरका पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियासमेतबाट प्रचार प्रसार गरिनेछ ।

मेलाको प्रवद्र्धकमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ र नेपाल पर्यटन बोर्ड रहने छन् । सह-आयोजकमा कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, काठमाडौं र घरेलु तथा साना उद्योग कार्यालय, मकवानपुर प्रस्ताव गरिएको छ । मेला प्रवेश टिकट शुल्क रु. ५०।- (अक्षरेपि रु. पचास मात्र) र विद्यार्थी सहुलियत टिकट रु. ३०।- (अक्षरेपि रु. तीस मात्र) कायम गरिएको छ । मेलाको खर्च रु. १,३३,००,०००।- (अक्षरेपि रु. एककरोड तेत्तिसलाख मात्र) हुने अनुमान गरिएको छ । साथै बचतको स्थितिमा मेला सम्पन्न गर्न दाता अथवा सहयोगी निकायहरुसंग निरन्तर सहयोगको लागि छलफल तथा परामर्श भइरहेको व्यहोरा पनि अवगत गराउदछौं । यसै विज्ञप्ति मार्पmत मेलाको स्टल बुकिङ्ग आजैका मितिबाट खुल्ला गरिएको व्यहोरा पनि जानकारी गराउँदछौं ।

अन्त्यमा मकवानपुरको गौरवको रुपमा परिचित हुँदै गईरहेको यस मेलाको समुद्घाटन पूर्व र मेला अवधिभर संचालित कार्यक्रम तथा गतिविधिहरुलाई आप्mनो संचारमाध्यमबाट उचित स्थान दिनुभई मेलाको प्रचार प्रसारमा सहयोग गरिदिनुहुन उपस्थिति सम्पूर्ण संचारकर्मीज्यूहरुमा हार्दिक अनुरोध गर्दछौं ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by