Dec 25, 2018
                        
                        
                                                    
गत शुक्रवार ऊर्जामन्त्री बर्षमान पुनले समुद्धघाटन गर्नुभएको निक इलेक्ट्रो टेक २०१८    (विद्युतीय सामाग्रीहरुको बृहत प्रदर्शनी) मेला सम्पन्न भएको छ । ‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नारा सहित शुरु भएको पाँचदिने मेलामा ८० हजार भन्दा धेरै जनाले अवलोकन गरेका छन् । 
मेलाको अन्तीमा दिन उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यसमिति सदस्य जय सिवाकोटी, लायन्स क्वलका लिडर ला. बालकृष्ण बुर्लाकोटी लगायत विशिष्ठ व्यक्तीहरुले अवलोकन गर्नुभयो । 
मेला अवधिभरमा ऊर्जामन्त्री बर्षमान पुन, श्रीलंकाका राजदूत स्वर्णलता परेरा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङका साथै उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले अवलोकन गर्नुभयो । त्यस्तै मेलाको हास्य कलाकार शिवहरी पौडेल, दीपाश्री निरौला लगायतका कलाकारहरुले पनि अवलोकन गर्नुभयो । 
नेपाल इकरात इन्जीनियरिङ्ग प्रा.लि.(निक) ले टाइटल स्पोन्सर गरेको निक इलेक्ट्रो टेक २०१८ मेलामा राष्ट्रिय एवं अन्तर्राट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूका नविनतम उपलब्धीहरू बारे सूचना आदानप्रदान गर्ने तथा उपभोक्ता वर्गलाई यस सम्बन्धी जानकारी अद्यावधिक गराउने उद्धेश्यसहित सञ्चालित प्रदर्शनीमा यस पटक ७७ वटा स्टल रहेका थिए । 
मेलामा ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिएको थियो ।
अवार्ड वितरण तथा समापन कार्यक्रम
मेलामा सहभागिता जनाएका कम्पनीहरुलाई उत्साहा स्वरुप पुरस्कृत पनि गरिएको थियो । यसमा नेपाली उद्योग, विदेशी ब्राण्ड र स्वदेशी ब्राण्ड विदेशी उत्पादीत गरि तीन विधामा पुरस्कार वितरण गरिएको थियो । 
अवार्ड वितरण तथा समापन कार्यक्रममा प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत तर्फका उपाध्यक्ष श्री उमेश लाल श्रेष्ठले स्वदेशमै विद्युतीय सामाग्रीहरुको उत्पादन गर्ने उद्योगहरु स्थापना हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा विशेष अतिथि नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले यस्तो मेलाले स्वदेशी उत्पादनलाई प्रोत्साहन मिल्ने वताउनु हुँदै निरन्तरता दिन आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा अतिथी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष श्री कुशकुमार जोशीले आगामी मेला अझ भब्य बनाउनु पर्नेमा जोड दिनु भयो ।