Oct 29, 2026
सिलिगुडीको प्रदर्शनीमा मोरङ उद्योग व्यापार संघको सहभागिता - द्विपक्षीय व्यापारिक छलफल

२०८३ कार्तिक १२ गते

भारतको महिला उद्यमीहरुको प्रतिष्ठित संस्था ‘इन्डियन उमन एरा (आईडब्लुई) बजार’ले भारतको पश्चिम बंगाल स्थित सिलिगुडीमा कार्तिक १० र ११ गते आयोजना गरेको भव्य‘दिवाली एग्जिबिसन (प्रदर्शनी)’मा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल कुमार साहले सहभागिता जनाउनु भई द्विपक्षीय व्यापारिक छलफल गर्नु भएको छ ।

‘आईडब्लुई बजार’ की अध्यक्ष श्रीमती नेहा जैनको विशेष निमन्त्रणामा सो प्रदर्शनीमा सहभागी हुनु भएका संघका अध्यक्ष साहले त्यहाँका महिला उद्यमीहरुद्वारा उत्पादित उत्पादन, हस्तकला, फेसन, दैनिक उपभोग्य वस्तुहरु तथा सेवामूलक स्टलहरुको स्थलगत अवलोकन गरी उहाँहरुको व्यावसायिक सिर्जनशीलता, उद्यमशीलता विकास तथा सीमापार बजारीकरणका विविध सम्भावनाहरुबारे प्रत्यक्ष कुराकानी गर्दै उत्पादन सम्बन्धी जानकारी र अनुभवहरु आदान प्रदान गर्नु भएको थियो ।

सो क्रममा संघका अध्यक्ष साहले संस्थाकी अध्यक्ष जैन सहित महिला उद्यमीहरु समक्ष नेपालको औद्योगिक तथा व्यावसायिक विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको मोरङ उद्योग व्यापार संघको ऐतिहासिक पृष्ठभूमि, वर्तमान गतिविधि तथा संस्थागत उद्देश्यहरुबारे समेत जानकारी गराई सीमावर्ती क्षेत्रका महिला उद्यमीहरुको व्यावसायिक सञ्जालविस्तार गर्न तथा नेपाली र भारतीय बजारबीच सेतुको भूमिका निर्वाह गर्न संघ सदैव अग्रसर रहेको बताउनु भएको थियो । साथै अध्यक्ष साहले संघद्वारा नियमित रुपमा आयोजना गरिने अन्तर्राष्ट्रियस्तरीय एक्स्पोमा समेत सहभागी हुन उहाँहरुलाई आमन्त्रण गरी नेपाली महिला उद्यमीहरुको सञ्जाल विस्तार तथा नेपाली उत्पादनहरुको प्रवर्द्धनमा सहयोग गर्न आग्रह गर्नु भएको थियो ।


 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image