Jan 19, 2020
सामाजिक सुरक्षा कोषको अन्तर्क्रिया

सामाजिक सुरक्षा कोष, बबरमहल, काठमाडौंको आयोजना, उद्योग संघ मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ र एच. आर. सोसाईटी नेपालको सहकार्यमा एक दिवसीय सामाजिक सुरक्षा कोष सम्बन्धी छलफल कार्यक्रम शुक्रबार हेटौंडामा सम्पन्न भयो । 

कार्यक्रममा कोषका प्रशासकीय अधिकृत कैलास कुमार यादवलगायत, उद्योगी/व्यवसायी, उद्योग प्रतिष्ठानका प्रतिनिधिहरु, लेखापरीक्षकहरु तथा निजि विद्यालय संचालकहरुको सहभागिता थियो । 

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको अध्यक्षतामा एच.आर. नेपालका अध्यक्ष मोहन ओझा, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता र उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष नवराज अर्यालको आतिथ्यतामा कार्यक्रम आयोजना भएको थियो । 

कार्यक्रममा सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले कोषका सुविधा तथा प्रावधानहरुबारे प्रस्तुतिकरण दिनुभयो । 

मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताले संघले यस किसिमको महत्वपूर्ण कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै उद्योग/व्यवसायमा काम गर्ने कर्मचारी तथा कामदारसम्मलाई यसरी सुविधा प्रदान गर्ने प्रावधान आउनु सुखद भएपनि उद्योगी/व्यवसायीहरुलाई भने कुनै सुविधा नआएकोले उद्योगी/व्यवसायीको पक्षमा पनि यस्तै सुविधाको व्यवस्था सरकारले गर्नुपर्ने सुझाव राख्नु भयो ।

उद्योग संघ मकवानपुरको तर्फबाट विजय कुमार वैद्यले मन्तव्य राख्नु भएको थियो भने अन्य उद्योगी/व्यवसायी तथा सहभागिहरुले राखेको जिज्ञासा उपर कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञावलीले जवाफ दिनुहुँदै कोषले दिने सुविधा सम्बन्धी प्रावधनहरुमा समय सापेक्ष सुधार गर्दै योगदानकर्ताहरुलाई अधिकतम सुविधा प्रदान गर्न कोषले काम गरिरहेको बताउनु भयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by