Jan 04, 2020
म्याग्दी उबासंघको साधारण सभा सम्पन्न

बेनी, १९ पुस । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्योग, उत्पादन र प्रवर्द्धन समृद्धिको आधाररहेको बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको २६ औँ बार्षिक साधारणसभाको शनिवार बेनीमा उद्घाटन गर्दै मन्त्री पुनले म्याग्दीमा उद्योग रउत्पादनको विकास हुन नसकेको भन्दै व्यवसाय भन्दा माथि उठेर उद्योग सञ्चालन रबस्तु तथा सामाग्रीको उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभएको हो ।
 
आयात गरेका बस्तु तथा सामाग्री विक्रि गर्ने व्यवसायले आत्मनिर्भर बन्न नसकिने बताउँदै उहाँले उद्योगी बन्ने र बनाउन तर्फ ध्यान दिन आग्रह गर्नुभयो। प्रदेश सरकारले उद्योगको विकास र स्थापनाको लागि रचनात्मक सहयोग गर्ने बताउँदै मन्त्री पुनले कर तिर्ने संस्कारको विकास गर्नुपर्नेमा समेत जोड दिनु भयो । उहाँले सरकारलाई गाली मात्रै गर्ने प्रवृत्ति बढेको भन्दै करको दायरा फराकिलो बनाउनुको साथै राज्यलाई कर तिनुपर्छ भन्ने मान्यताको विकास गर्नुपर्ने बताउनु भयो ।
 
"सरकार, नीजि क्षेत्र, सहकारी र जनताको सहकार्यले मात्रै आर्थिक विकास र समृद्धि सम्भव छ, त्यसको लागि प्रदेश सरकारले आफ्ना नीति र कानुन निर्माणको क्रममा आबश्यक पहल थालेको छ, अहिलेको समय लगानीमैत्री रहेकाले उत्पादनशिल क्षेत्रमा लगानी बढाउन नीजि क्षेत्र लाग्न जरुरी छ"- मन्त्री पुनले भन्नुभयो । उहाँले सामाजिक विकास मन्त्रालयको अगुवाईमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने तयारीमा गण्डकी प्रदेश सरकार लागी परेको समेत बताउनु भयो ।
 
"दुई छाक खान नपुग्नेलाई रोजगार मार्फत खान पुग्ने बनाउने, खान पुग्नेलाई बचत गर्न सिकाउने र उद्यमी बनाउनुपर्छ, महिलाहरु पनि उद्यमशिलतामा जोडिनु पर्छ, यसको लागि प्रदेश सरकारले पनि प्रोत्साहनको नीति लिएको छ" - मन्त्री पुनले भन्नुभयो । बस्तु आयात गर्न नसकेसम्म मुलुक समृद्ध बन्न नसक्ने भएकाले उत्पादनमा जोडिनु नै अहिलेको प्रमुख दायित्व रहेकोमा मन्त्री पुनले जोड दिनुभयो ।

सामाजिक विकास मन्त्रालय अहिले शिक्षाको अवस्थालाई सुधार गर्नको लागि शिक्षा नीति निर्माणमा जुटेको बताउँदै मन्त्री पुनले शैक्षिक जनशक्तिलाई मुलुकमै रहने वातावरण बनाउन गण्डकी प्रदेश विश्वविद्यालय स्थापनामा लागेको बताउनु भयो ।
 
उहाँले स्रोत साधनलाई एकिकृत गरि गुणस्तरीय शिक्षा दिनको लागि गण्डकी प्रदेश सरकारले नमुना आवासीय विद्यालयको अवधारण अघि सारेको बताउनु भयो । उहाँले बालबालिकाहरुमा नैतिक शिक्षाको लागि प्रदेशका ३६ वटा निर्वाचन क्षेत्र हरेकमा एक/एक वटा आदर्श विद्यालय बनाउने गरि अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । म्याग्दी हुँदै ढोरपाटन जोड्ने सडकलाई थप बजेटको लागि पहल भैरहेको बताउँदै बेनी अस्पतालमा मिर्गौला पिडितहरुको डायलासिस सेवा सुचारु गर्ने तयारी गरिएको बताउनु भयो ।
 
कार्यक्रममा संविधान सभा सदस्य नवराज शर्मा, गोविन्द पौडेल र रेशम बहादुर बानियाँ, गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, नेपाली काँग्रेसका उप-सभापती माधव प्रसाद रेग्मीले उत्पादन र पर्यटन तर्फ नीजि क्षेत्रको ध्यान जान नसकेको भन्दै लगानीलाई त्यसतर्फ केन्द्रित गर्न सुझाब दिनु भएको थियो ।
 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवाल, नेपाल उद्योग बाणिज्य महासंघका गण्डकी प्रदेश समितिका अध्यक्ष सञ्जीब कोईराला, केन्द्रिय सदस्य देवकुमार श्रेष्ठ, संघका निवर्तमान जिल्ला अध्यक्ष जिवन बहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा, गैसस महासंघका अध्यक्ष दिपक पौडेल, संघको मंगला गाउँपालिका इकाई अध्यक्ष होमनाथ पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।
 
संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षता र स्वागत रहेको कार्यक्रममा महासचिब लिलाराम गौतमले प्रगति र सचिब सुवर्ण रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट अंक सहित उतिर्ण हुन सफल म्याग्दी बहुमुखी क्याम्पसका हरिप्रसाद उपाध्याय र निता शर्मालाई उद्योग बाणिज्य अवार्ड र राष्ट्रिय खेलाडीहरु अरुणा शाही, कमला पुन, विन्दुपुन मगर र तारादेवी पुनलाई सम्मान गरिएको थियो भने कार्यक्रमको समापन बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल र सञ्चालन महासचिब गौतमले गर्नु भएको थियो । कार्यक्रममा नृत्य समेत देखाईएको थियो ।
 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by