Nov 26, 2022
कोभिडले सार्क क्षेत्रमा रोजगारीमा परेको प्रभाववारे काठमाडौंमा छलफल (२०७९/०८/१०)

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) द्वारा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा  दक्षिण एशियाका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूले कोभिड-१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा आ-आफ्ना देशमा पारेको प्रभावका सम्बन्धमा गम्भीर छलफल गरेका छन् ।

बिल्डिङ रेजिलियन्स फर फ्यूचर अफ वर्क एण्ड पोष्ट कोभिड-१९ (Building Resilience for Future of work & post Covid-19) विषयमा आयोजित कार्यक्रममा दक्षिण एशियाका नेपाल लगायत बंगलादेश, भारत र पाकिस्तानका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूको सहभागिता थियो ।
 
कार्यक्रमलाई संवोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नया चुनौतीहरू देखापरेको बताउनुु भयो । सभापति संघाईले यी चुनौतीहरूको सामना गर्न थप प्रयासहरू आवश्यक भएकोमा जोड दिनुभयो । यसका लागि उपयुक्त रणनीति र नीति आवश्यक रहेकोमा संघाईको जोड थियो । 

दक्षिण एसियामा अर्थतन्त्रको ठूलो हिस्सा अहिलेपनि अनौपचारिक रहेको भन्दै साना मझौला उद्यमहरूको दिगोपन र अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुधारिएको कामको अवस्था सुनिश्चित गर्न महत्वपूर्ण भएको संघाईले बताउनु भयो । 

भौगोलिक रूपमा हामी दक्षिण एसियाली देशहरू एकअर्कासंग नजिक छौं, अनुभव आदानप्रदानका लागि विभिन्न माध्यम र संयन्त्रहरू छन्, दक्षिण एसियाली रोजगारदाता मञ्च (साफी) तीमध्ये एक हो, साफी अध्यक्ष समेत रहनु भएका संघाईले भन्नु भयो - साफीलाई हाम्रो पारस्परिक हित र सहयोगको लागि अझ प्रभावकारी रुपमा परिचालन गर्नेतर्फ हाम्रो साझा प्रयास आवश्यक छ ।

कार्यक्रममा आइएलओका देशिय निर्देशक डा. रिचार्ड हवार्ड (Dr. Richard Howard, Director ILO Country office in Nepal), आइएलओ दिल्लीका वरिष्ठ विशेषज्ञ रवि पेरिस (Mr. Ravi Peiris, Senior Specialist, ILO, New Delhi), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव, आइएलओ काठमाडौं र दिल्ली अफिसका वरिष्ठ विज्ञहरू, सार्कटुकका महासचिव लक्ष्मण बस्नेतले पनि कार्यक्रमलाई संवोधन गर्नुभएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by