Mar 07, 2019
महासंघ प्रतिनिधिमण्डलद्वारा गभर्नर समक्ष भेटवार्ता (२०७५/११/२३)
महासंघ प्रतिनिधिमण्डलद्वारा गभर्नर समक्ष भेटवार्ता (२०७५/११/२३)

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल समक्ष आज बालुवाटारमा भेटगरी हाल उच्च दरमा रहेको बैकिङ व्याजलाई कम गर्न निम्न सुझावहरू पेश गरेको छ । 

१.    बैंक तथा वित्तीय संस्थाले बेस रेटमा अधिकतम चार प्रतिशत सम्म प्रिमियम थपगरी लिनपाउने व्यवस्था गरिनुपर्ने । साथै, कर्जा अवधिभर प्रिमियमको दर परिवर्तन गर्न नपाउने व्यवस्था गरिनुपर्ने ।

२.    अनिवार्य नगद अनुपात (CRR) मा बैंकहरुलाई ब्याज दिने व्यवस्था गरिएमा बैंकहरूको Cost of Fund घटेर Base Rate घट्न सक्ने भएकोले यसतर्फ कदम चाल्नु पर्ने । 

३.    पुनरकर्जा कोषमा छ—छ महिनामा नवीकरण गर्नुपर्ने हालको व्यवस्थाको सट्टा पाँच वर्षको अवधि बनाउनु पर्ने । पूनरकर्जाका प्रक्रिया सरल गरिनुको साथै पूनरकर्जा कोषलाई बृद्धि गरी रू. १०० अर्ब बनाउनुपर्ने ।

४.    नाफा मुलक सँस्थागत बचतकर्ताले निक्षेपमा पाउने ब्याजदर न्यूनतम बचतकर्ताको ब्याजदर भन्दा बढी नहुनेगरी ब्याजदर कायम गरिनु पर्ने ।  

५.    बैंकिङ्ग सेवालाई सरल र सहज बनाउनका लागि रू. १० लाख भन्दा कमको बचतमा KYC फर्मलाई उदार गरिनुपर्ने । 

महासंघको तर्फबाट प्रस्तुत सुझाव पत्र ग्रहण गर्नुहुंदै गभर्नर नेपालले महासंघले विभिन्न समयमा दिएका सुझावहरु अत्यन्त महत्वपूर्ण रहेको र हालको समस्याको समाधानको लागि परिणाम निस्कन समय लागेतापनि नेपाल राष्ट्र बैंकले कार्य गरिरहेको विश्वास दिलाउनु भयो ।

साथै भेटवार्ताका क्रममा साना तथा मझौला उद्योग व्यवसायले सहज र सुपथ ब्याजदरमा कर्जा पाउनुपर्ने विषयमा पनि छलफल भयो । 



कार्यक्रममा  डेपुटि गभर्नर शिवराज श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, महासंघको बैकिङ समितिका सभापति शौरभ ज्योति, कार्यकारिणी समितिका सदस्यहरू विजयसिंह बैध, गोपाल खनाल, चन्द्रकान्त अधिकारी, रविन कुमार श्रेष्ठ र सुनिलनारायण श्रेष्ठ हुनुहुन्थ्यो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by