Feb 14, 2019
उद्यमीहरूद्वारा नेपालको एसएमइज (SMEs) को विकासमा ओइसीडीको सहयोगको अपेक्षा (२०७५/११/०२) 

साना तथा मझौला उद्यम व्यसायमा आवद्ध उद्यमी व्यवसायीहरूले नेपालका घरेलु, साना तथा मझौला उद्योग व्यवसायको प्रतिस्पर्धी क्षमता विकास, अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच, गुणस्तर सुधार तथा शीप विकासका लागि यस क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय सँस्थाहरूको सहयोग अपरिहार्य भएको कुरामा जोड दिएका छन् । 

आर्थिक सहयोग तथा विकासका लागि संगठन (Organization for Economic Cooperation and Development-OECD) को दक्षिण पूर्व एशिया हेर्नुहुने साना तथा मझौला व्यवसाय सम्बन्धी नीति तथा परियोजना प्रवन्धक म्याक्स बुलाकोभोस्की (Mr. Max Bulakovskiy, Project Manager for South East Asia/OECD) को उपस्थितिमा आज महासंघ सचिवालयमा आयोजित घरेलु, साना तथा मझौला ऊद्योगको विद्यमान अवस्था सम्बन्धी अन्तरक्रिया कार्यत्रममा सहभागी उद्यमीहरूले ओइसीडी जस्ता अन्तराष्ट्रिय सँस्थाहरूको सहयोग नेपाली उद्यमी व्यवसायीहरूले खोजेको बताएका थिए । 

विशेष गरी नेपालका साना तथा मझौला उद्योग व्यवसायले पर्याप्त वित्तिय सहयोगको अभाव, राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा सहज पहुँच, नीतिगत अप्ठेराहरू, कमजोर सँस्थागत संयन्त्र, पुरानै परम्परा अनुसार व्यवसाय संचालन गर्नुपर्ने बाध्यता, नविन प्रविधिको प्रयोग तथा पर्याप्त सूचनाको अभाव लगायतका समस्या भोग्नु परेको छ । 



कार्यक्रमको प्रारम्भमा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले नेपाल जस्ता मुलुकका लागि घरेलु, साना तथा मझौला उद्योग व्यवसायको निकै ठूलो महत्व रहेको तर विभिन्न कारणबाट यो क्षेत्र अगाडी बढ्न नसकेकाले ओइसीडी जस्ता यसै क्षेत्रमा कार्यरत सँस्थाहरूबाट सहयोगको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताउनु भयो । यस कार्यक्रमबाट ओइसीडीसँगको सहकार्यलाई आगामी दिनमा अगाडी लैजान थप सहयोग पुग्ने विश्वास आफूहरूले गरेको पनि स्पष्ट पार्नुभयो । सहभागी उद्यमी व्यवसायीहरूले ओइसीडीबाट खासगरी अन्तराष्ट्रिय बजार प्रवर्द्धन, गुणस्तर सुधार, प्रविधि प्रयोग, नेपाली उत्पादनहरूको अन्तराष्ट्रिय ब्राण्ड स्थापना लगायतमा सहयोगको अपेक्षा गरेको सो अवसरमा बताएका थिए । 

महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ र महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी बस्नेतले नेपालको औद्योगिक विकासको महत्वपूर्ण आधारको रूपमा रहेको एसएमइजलाई प्रभावकारी ढंगलले अगाडी बढाउन ओइसीडी र महासंघ बीच सहकार्यमा जोड दिनु भयो । 

ओइसीडाका दक्षिण पूर्व एशिया हेर्नुहुने साना तथा मझौला व्यवसाय सम्बन्धी नीति तथा परियोजना प्रवन्धक म्याक्स बुलाकोभोस्की (Mr. Max Bulakovskiy, Project Manager for South East Asia/OECD) ले ओइसीडीका वारेमा प्रस्तुती दिनुहुँदै नेपाली उद्यमीहरूबाट पाएका सुझावका आधारमा के कसरी सहकार्य गरि अगाडी बढ्न सकिन्छ आफूले सकेको सहयोग गर्ने विश्वास दिलाउनु भयो । ओइसीडीले निजी क्षेत्रसँग विशेष गरी लगानी प्रवर्द्धन, ग्लोवल भ्यालु चेन, एसएमइजको विकास, उद्योग व्यवसायको पक्षमा लवि गर्ने, मनिटरिङ सपोर्ट लगायतमा कार्य गर्दै आएकाले आउँदा दिनमा के कसरी सहकार्य गर्न सकिन्छ महासंघसँग सम्पर्कमा रहेर कार्य गर्ने विश्वास दिलाउनु भयो । 



सो अवसरमा नेपालमा साना तथा मझौला उद्यम व्यवसायको वर्तमान स्थितिका विषयमा महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले प्रस्तुती दिनुहुंदै यस क्षेत्रमा अध्ययन अनुसन्धान तथा सूचना विकास, नेपाली उत्पादनहरूलाई अन्तराष्ट्रिय बजारसम्म पहुँच बिस्तार र प्रविधि प्रयोगमा लगायतका क्षेत्रमा ओइसीडीसँग सहकार्य हुन सक्ने सम्भावना औल्याउनु भयो । 

कार्यक्रममा महासंघका कार्यकारिणी समितिका सदस्यहरू, सरकारी अधिकारीहरू, घरेलु तथा साना उद्यमीहरूको सहभागिता रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by