Aug 11, 2017
महासंघका अध्यक्ष राणाबाट निजी क्षेत्रको  तर्फबाट विम्ष्टेक बैठकलाई संवोधन(२०७४/०४/२७)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्ष्टेक) को १५ औं मन्त्रीस्तरीय बैठकको दोस्रो दिनको विशेष सत्रलाई सिंगो नेपाली निजी क्षेत्रको तर्फबाट आज काठमाडौंमा संबोधन गर्नुभयो । नेपाल लगायत भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य राष्ट्रहरू रहेको बिम्ष्टेकको १५ औं मन्त्रीस्तरीय बैठक हिजोदेखि काठमाडौंमा शुरु भएको हो । 

बिम्ष्टेकका सदस्य राष्ट्रहरुका विदेश मन्त्रीहरू सहित उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको उक्त बैठकलाई संबोधन गर्नुहुँदै अध्यक्ष राणाले नेपाली निजी क्षेत्रलाई बैठकमा संबोधनका लागि अवसर प्राप्त भएकोमा नेपाल सरकारप्रति आभार प्रकट गर्दै चालु बैठक, बिम्ष्टेकलाई नयाँ उचाईमा पुर्‍याउन पूर्णरूपमा सफल हुने विश्वास समेत प्रकट गर्नुभयो । 

सन् १९९७ मा गठित बिम्ष्टेक यस क्षेत्रका जनताको अपेक्षा अनुसार अगाडी बढ्न नसकेकाले काठमाडौं बैठक बिम्ष्टेकलाई बिना कुनै विलम्ब सशक्त ढंगबाट अगाडी बढाउन महत्वपूर्ण निर्णयहरू गर्न सफल हुने विश्वास प्रकट गर्नुभयो । 

अन्तरक्षेत्रीय व्यापारको करिब ७ प्रतिशत मात्र हिस्सा रहेको बिम्ष्टेकमा एक दुई राष्ट्र बीच मात्र क्षेत्रीय व्यापार सञ्जाल जोडिएको छ । सदस्य राष्ट्रहरू बीच न्यून सम्पर्क, कर तथा गैर कर अवरोधहरू र व्यापार सहजिकरणका कमजोर मापनहरूनै यस क्षेत्रका मुख्य कमजोरीहरू रहेको बताउनु हुंदै अध्यक्ष राणाले सन् २००४ मा बिम्ष्टेक सदस्य राष्ट्रहरू बीच स्वतन्त्र व्यापार सम्झौता भए पनि यसले व्यापार उदारीकरणमा मूर्तरुप पाउन नसकेको बताउनु भयो । म यस समारोह मार्फत यस क्षेत्रका निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सदस्य राष्ट्रका सरकार समक्ष एकिकृत क्षेत्रीय व्यापारका लागि जतिसक्दो छिटो राजनीतिक प्रतिबद्धता सहित यसलाई अगाडि बढाउन विशेष आग्रह गर्दछु अध्यक्ष राणाले भन्नु भयो । 

स्वतन्त्र व्यापार सम्झौता मात्रले आर्थिक सहयोग र आर्थिक एकिकरणको प्रत्याभूति दिन नसक्ने बताउनु हुंदै अध्यक्ष राणाले यस्ता मञ्चहरूलाई सफल पार्न नेपाल जस्ता अल्प विकसित राष्ट्रहरूको चासोलाई विशेष प्राथमिकता दिनै पर्नेमा जोड दिनुभयो । अध्यक्ष राणाले बैठकमा सहभागी विदेश मन्त्रीहरू समक्ष नेपाल जस्ता अल्प विकसित राष्ट्रहरूको उत्पादन क्षमता विकास, लगानी प्रवद्र्धन तथा आर्थिक अवसरहरू सृजना गर्न विशेष सहयोगका लागि आग्रह गर्दैै भन्नु भयो– त्यसका लागि अन्तर क्षेत्रीय लगानी तथा प्रविधि हस्तान्तरण सहितको क्षेत्रीय व्यापार अविबृद्धिमा हाम्रो महत्वपूर्ण जोड छ । 

बिम्ष्टेक सदस्य राष्ट्रहरू बीच सहयोग तथा लगानीका निकै धेरै संभावनाहरू छन् । बिम्ष्टेक  आफैं प्राकृतिक श्रोतमा निकै धेरै सम्पन्न क्षेत्र हो । जस्तो कि भुटान र नेपाल जल उर्जामा निकै धनी छन् भने म्यानमार र बंगलादेश प्राकृतिक ग्यासमा सम्पन्न छन् । यस क्षेत्रका निजी क्षेत्रहरू बीचको संयुक्त लगानीमा यी सम्भावनाहरूलाई दोहन गर्न म विशेष आग्रह गर्दछु । क्षेत्रीय उर्जा प्रसारण लाइनको विकास एवं प्राकृतिक ग्यास पाइप लाइन विस्तार मार्फत यस क्षेत्रको उर्जा क्षमता विकास तथा उर्जा सुरक्षा प्रत्याभूतिका लागि अध्यक्ष राणाले आफ्नो संवोधन मार्फत यस क्षेत्रका सरकारहरू समक्ष आग्रह समेत गर्नुभयो ।

यस क्षेत्रमा सहयोगको अर्को ठूलो सम्भावना वोकको क्षेत्र पर्यटन हो । कला, सँस्कृति एवं प्राकृतिक सम्पदाले सम्पन्न यो क्षेत्रको पर्यटन विकासको सम्भावनालाई दोहन गर्न पर्यटन सम्बन्धी दीर्घकालिन योजना तथा रणनीति विकासमा अध्यक्ष राणाले जोड दिनु भयो । पर्यटन विकासको महत्वपूर्ण कडी हुन सक्ने यस क्षेत्रलाई बौद्ध सर्किटको रूपमा विकास गर्नुपर्नेमा समेत उहांले सुझाव दिनु भयो । अध्यक्ष राणाले यस क्षेत्रको आर्थिक विकासका लागि रेल, सडक, समुन्द्र, वायु र डिजिटल मार्फत आपसी सम्पर्क विस्तारमा विशेष जोड दिन समेत आग्रह गर्नुभयो । 

आफ्नो संवोधनको क्रममा अध्यक्ष राणाले भन्नु भयो–करिव २.५ ट्रिलियन अमेरिकी डलर कुल ग्राहस्थ उत्पादन भएको विम्ष्टेकमा १.५ बिलियन मानिसहरू बसोबास गर्दछन् । यस क्षेत्रमा रहेको प्रचुर आर्थिक विकासको संभावनालाई यथार्थतामा रुपान्तरण गरी क्षेत्रीय आर्थिक विकासलाई तीव्ररुपमा अगाडी लैजान यस क्षेत्रका निजी क्षेत्रहरू बीचको सहकार्य हुनुपर्नेमा विशेष जोड दिनु भयो । व्यवसायिक सम्बन्ध एवं संजाल विस्तारबाट मात्रै क्षेत्रीय समृद्धि संभव भएको बताउनु हुंदै अध्यक्ष राणाले बिम्ष्टेक उद्योग वाणिज्य संघ गठन गरी सोही संघमार्फत यस क्षेत्रको व्यापार तथा लगानी अभिबृद्धि अगाडी बढ्नुपर्नेमा जोड दिनु भयो । 

आशियान र ईयुले प्राप्त गरेको आर्थिक सफलताबाट पाठ सिक्दै हामीले पनि बिम्ष्टेकमा आर्थिक मुद्दालाई मुख्य रुपमा जोड दिई जानु पर्ने र यस क्षेत्रको सशक्त मञ्चको रुपमा अगाडि बढाउँदै यस क्षेत्रका जनताको समृद्धिमा लाग्न नेपाली निजी क्षेत्रको तर्फबाट अध्यक्ष राणाले यस क्षेत्रका सरकारहरू समक्ष विशेष आग्रह समेत गर्नुभयो । (संवोधनको अंग्रेजी पाठ यसैसाथ संलग्न छ ।)
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by