Jul 07, 2017
महासंघका अध्यक्ष राणा र नेपालका लागि श्रीलंकाका राजदूत बीच महासंघ सचिवालयमा भेटवार्ता (२०७४/३/२२)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि श्रीलंकाका राजदूत डव्लू. एस. परेरा (H.E. Ms. W.S. Parera, Ambassador of Sri Lanka to Nepal) बीच आज महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भयो । महासंघको कार्यकारिणी समितिका सदस्य ज्योत्साना श्रेष्ठ, कार्यकारिणी समितिका सदस्य एवं नेपाल श्रीलंका उद्योग वाणिज्य संघका उपाध्यक्ष हेमराज ढकाल, महासंघका महासचिव सुरेश मान श्रेष्ठ सहभागी रहनु भएको सो भेटवार्तामा नेपाल र श्रीलंका बीचको आर्थिक व्यवासायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भयो । 



सो अवसरमा राजदूत परेराको महासंघ सचिवालयमा स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष राणाले दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी तथा आपसी हितका थुप्रै क्षेत्रहरु भएकाले संयुक्त सहकार्यलाई अगाडी बढाउन आर्थिक कुटनीतिमा जोड दिनु भयो । अध्यक्ष राणाले आपसी सहकार्यका क्षेत्रहरुको सम्भाव्यता अध्ययन गर्न तथा त्यहांका उद्यमी, व्यवसायी एवं लगानीकर्ताहरुसंग भेटवार्ता गर्न महासंघका तर्फबाट श्रीलंका भ्रमणको कार्यक्रम तय गर्ने विश्वास दिलाउनु भयो । 

उक्त भेटवार्तामा भएको छलफलमा नेपाल श्रीलंका बीच दौत्य सम्बन्ध स्थापना भएको ६० औं  वर्षका अवसरमा आर्थिक सम्बन्ध विस्तारका विविध विषयमा दुवै देशमा कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिइयो । साथै जेम्स जेवलरी लगायत हस्तकला, चिया, रवर उत्पादन, पर्यटन लगायतका क्षेत्रमा सहकार्यको सम्भाव्यता रहेको समेत सो अवसरमा औल्याइयो । 

राजदूत परेराले श्रीलंका नेपाल बीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध विस्तारलाई थप मजवुत बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउनु हुंदै नियमित रुपमा व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान एवं सहकार्यका विषयमा गहनरुपमा भेटवार्ता एवं छलफल हुनुपर्नेमा जोड दिनुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by