Jun 22, 2017
प्रधानमन्त्री देउवा समक्ष महासंघको प्रतिनिधिमण्डलद्वारा भेटघाट (२०७४/०३/८)
 
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेटगरी नवनिर्वाचित प्रधानमन्त्रीलाई निजी क्षेत्रको तर्फबाट बधाई दिनुका साथै मुलुकभित्र उद्योग व्यवसायको वस्तुस्थिति, उद्यमी व्यवसायीहरूले पछिल्लो पटक भोग्नु परेका समस्या लगायतका विषयमा छलफल गर्यो । 

विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरू तथा महासंघका महासचिव सुरेश मान श्रेष्ठ सहभागी रहनु भएको सो भेटवार्तामा अध्यक्ष राणाले प्रधानमन्त्री समक्ष निजी क्षेत्र के गरी मुलुकभित्र उद्योग व्यवसाय विस्तार गर्न सकिन्छ भनेर अहोरात्र खटिरहेको वेला विगत केही समयदेखि देशका विभिन्न भागमा उद्यमी व्यवसायीमाथि पु्नः आक्रमण, अपहरण, हत्या, कालोमोसो दल्ने, हातपात गर्ने जस्ता दुःखद घटना हुन थालेबाट उद्यमी व्यवसायीहरू हतोत्साहित हुन पुगेकाले व्यवसायिक सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्नुभयो । 



ठूलो राजनीतिक उपलव्धि हासिल गरेको र नयां संविधान कार्यान्वयन तर्फ अगाडि बढी रहेको अवस्थामा यसलाई संस्थागत गर्न मुलुकभित्र लगानीको वातावरण, उद्योग व्यवसाय गर्ने वातावरण हुनुपर्ने वेलामा पुनः यस्ता घटना हुन जांदा लगानीकर्ताहरूमा त्रासको वातावरण सृजना हु्नुको साथै अन्तर्राष्ट्रिय जगतमा नकारात्मक संदेश जाने हुंदा समयमै सरकारका तर्फबाट उचित कदम चाल्नु पर्ने तर्फ पनि अध्यक्ष राणाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । 

त्यसैगरी अनुसन्धानका नाउंमा उद्यमी व्यवसायीहरूमाथि भएका धरपकड, मुद्दा लगायतका कार्यहरूबाट त्रासको वातावरण सृजना भएको, बैंकहरूबाट भएको अस्वभाविक व्याजदर बृद्धि, सरकारी इजाजत लिई वर्षौदेखि संचालमा रहेका उद्योग व्यवसायहरूलाई अपरझट मापदण्ड परिवर्तन गरी संचालनमा अवरोध गरिँदा उद्योगी व्यवसायीहरू संकटमा पर्नुको साथै मुलुकलेनै निकै ठूलो घाटा व्यहोर्नु परेको समेत प्रधानमन्त्रीलाई जानकारी गराउनु भयो । त्यसैगरी अध्यक्ष राणाले उपभोक्ता संरक्षण सम्बन्धी कानूनको मस्यौदा उद्योगी व्यवसायीहरूको राय सल्लाह सुझाव विनानै संसदमा पेश गरिएको र उक्त ऐन जस्ताको तस्तै पारित हुने हो भने मुलुकभित्र व्यवसाय गर्न नसक्ने स्थिति पैदा हुने तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु हुंदै उद्यमी व्यवसायीहरूको वृहत् सहभागितामा उनीहरूका सुझावहरूलाई समेत समावेश गरी अगाडी बढाउनु पर्ने धारणा राख्नु भयो ।

साथै सो अवसरमा महासंघका तर्फबाट चीनसंगको प्रमुख व्यापारिक नाका तातोपानी नाका तत्काल संचालनमा ल्याउन पहल हुनुपर्ने, भारतले लागू गर्न लागेको जीएसटीबाट नेपालमा पर्ने प्रभावका विषयमा नेपालबाट हुने उच्चस्तरीय भ्रमणका बखत छलफल गरिनु पर्ने, मुलुकको संविधान अनुसार महासंघ पनि प्रादेशिक संरचनामा गएको लगायतका विषयमा प्रधानमन्त्री समक्ष छलफल गरिएको थियो । 

सो अवसरमा महासंघबाट गएको प्रतिनिधिमण्डललाई संवोधन गर्नुहुंदै प्रधानमन्त्री देउवाले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघलाई आफूले सधैनै उच्च प्राथमिकतामा राख्दै आएको स्पष्ट पार्नुभयो । मुलुकको आर्थिक विकासमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्न आग्रह गर्नुहुंदै प्रधानमन्त्री देउवाले महासंघले उठाएका समस्याहरुलाई आफूले तत्काल संवोधन गर्ने विश्वास दिलाउनु भयो । प्रधानमन्त्री देउवाले उपभोक्ता संरक्षण सम्बन्धी कानून संसदबाट पारित गर्नु अघि निजी क्षेत्रसंग बसेर वृहद छलफल पश्चात मात्र अगाडि बढाइने विश्वास दिलाउनु भयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by