Apr 02, 2024
वस्तुुगत संघका नवनिर्वाचित टिमको महासंघमा स्वागतः निजी क्षेत्रका मुद्दालाई समाधान गर्ने माध्यम नै महासंघ, अध्यक्ष ढकाल (२०८०/१२/२०)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्यमी व्यवसायीहरूको माग र मुद्दालाई राज्यसंग सहकार्य र समन्वयमार्फत समाधान गर्ने माध्यम नै महासंघ भएको बताउनुु भएको छ ।

सोमबार महासंघका सदस्य वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा महासंघद्वारा आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रमलाई संवोधन गर्नुहुंदै अध्यक्ष ढकालले महासंघ सरकार पछिको दोस्रो ठूलो संयन्त्र भएको र राज्यले लिने नीति समेत महासंघको आधारणपछि मात्रै आउने गरेको बताउनु भयो । 

सो अवसरमा अध्यक्ष ढकालले व्यवसायिक एकताबाटमात्र निजी क्षेत्र बलियो बन्ने धारणा राख्नु भयो । निजी क्षेत्रले मुलुकको अर्थतन्त्र सकारात्मक रुपमा सुधार भएको सन्देश दिन जरुरी रहेको भन्दै अगाडि भन्नुभयो, जिम्मेवार उद्योगी व्यवसायीहरुले अर्थतन्त्रमा सहज अवस्था नभए पनि अर्थतन्त्र सुधारको सन्देश दिन आवश्यक छ । अध्यक्ष ढकालले पछिल्लो एक वर्षका अर्थतन्त्रका धेरै सूचकहरुमा सुधार भएको भन्दै अब थप सुधार हुंदै जाने आशा समेत गर्नुभयो । 

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नसुल्झिएको राजनीति नै मुलुकको मुख्य समस्या रहेको बताउनु भयो । राज्यले व्यवसायीलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन नभएसम्म निजी क्षेत्रले उच्च मनोवलले काम गर्न नसक्ने उहांको धारणा थियो । 

निजी क्षेत्रले उठान गरेका समस्यालाई गहिराईसम्म गएर समाधान गर्ने भन्दा पनि राज्य टालटुले समाधानमा जांदा दीर्घकालिन समाधान आउन नसकेको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नु भयो– अव हाम्रा समस्या समाधान गर्न राज्यको प्रतिवद्धता खोज्नु पर्ने बेला आएको छ । मुलुकको अर्थतन्त्रको अधिकांश हिस्सा ओगट्ने वस्तुगत संघहरुका समस्या समाधान गर्ने, व्यवसाय गर्न सहज वातावरण बनाइदिने कार्यमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालले कुनै समयमा ८ प्रतिशतको आर्थिक वृद्धि गरेको मुलुुकको आर्थिक विकास खुमचेर १ प्रतिशतको हाराहारीमा पुग्दा पनि राज्य गम्भीर नभएको गुनासो गर्नुभयो । उपाध्यक्ष ढकालले मुलुकमा व्याप्त आर्थिक शिथिलतालाई अन्त्य गर्न अर्थतन्त्रमा संरचनात्मक सुधार नै गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो । उहांले सरकारले छिटो भन्दा छिटो क्रेडिट रिकभरी एक्ट ल्याउनु पर्नेमा पनि जोड दिनुभयो । 

महासंघले आफना सदस्य वस्तुगत संघका नवनिर्वाचित टिमलाई महासंघ सचिवालयमा स्वागत सहित उनीहरुको गुनासा सून्ने र ती गुनासाहरुलाई सरकारको सम्बन्धित निकायबाट समाधानमा पहल गर्दै आएको छ । 

नेपाल विज्ञापन संघ,नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ,नेपाल मुद्रण उद्योग महासंघ,ढुुवानी व्यवसायी महासंघ नेपाल,जुत्ता उत्पादक संघ नेपाल,नाडा अटोमोवाइल एसोसिएसन अफ नेपाल,नेपाल बायो ग्यास प्रवद्र्धन संघ,नेपाल प्लाष्टिक उत्पादक संघ,नेपाल हिमालय सिमापार वाणिज्य संघ,नेपाल सौर्य विद्युत उत्पादक संघ,नेपाल कोल्ड स्टोरेज संघ र नेपाल पशुपंछी औषधि व्यवसायी संघका अध्यक्ष तथा पदाधिकारीहरुलाई स्वागत गरिएको थियो ।

सो अवसरमा संघका अध्यक्षहरुले आआफ्ना क्षेत्रका समस्या, सोको समाधानमा महासंघसंगको सहयोग एवं सहकार्यका विषयमा धारणा राख्नु भएको थियो । विज्ञापन व्यवसाय मुलुुकको अर्थतन्त्रको सूचक भएकाले यस व्यवसायमा परेको समस्या समाधानमा राज्यले सहयोग गर्नुपर्ने,सार्वजनिक खरिद प्रणालीमा सक्षम उद्योग व्यवसायले भाग लिन पाउने सुनिश्चतता गरिनुुपर्ने, सुरक्षण मुद्रण वाहेक अन्य मुद्रणको काम निजी क्षेत्रले गर्न पाउनु पर्ने, छाला जुत्तामा रहेको अधिक चोरी पैठारीलाई नियन्त्रण गरिनुपर्ने सुझाव आएको थियो ।  

त्यसैगरी स्तरीय प्रदर्शनी स्थल निर्माण गर्न राज्यलाई दवाव दिनुपर्ने, भ्याटको वहुदर लागू गरिनु पर्ने, सौर्य उर्जा रुफटप प्रणाली जडानलाई अभियानकै रुपमा अगाडी बढाउनु पर्ने, ढुवानीमा भ्याट खारेज हुनुपर्ने, कोल्ड स्टोरेजलाई विद्युत महुशलमा दिंदै आएको अनुदान यथावत गराउन सरकारमा दवाव दिनुपर्ने, महासंघका वस्तुगत संघ र प्रदेशतहका वस्तुगत संघहरु बीचको सहकार्यमा जोड दिनु पर्ने लगायतका सुझावहरु सो अवसरमा दिइएको थियो ।    

कार्यक्रममा महासंघका कार्यकारिणी समितिका सदस्यहरु, वस्तुगत परिषद्का उपसभापतिहरु, सदस्यहरु, सल्लाहकारहरु र उद्यमी व्यवसायीहरुको उपस्थिति थियो ।

फोटोको लागि:  https://photos.app.goo.gl/7JtaF976JJxqchXv5


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by