May 31, 2020
कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन विश्वका अधिकांश देशहरूले लकडाउनको उपायहरू अवलम्वन गर्दै आएको र नेपालमा पनि गत चैत्र ११ गतेदेखि निरन्तर लकडाउन जारी रहेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणको कुनै निश्चत समय किटान गर्न गाह्रो भएको र यसको रोकथामको लागि विश्वनै लागीरहेको अहिलेको अवस्थामा विश्वका कतिपय देशहरूले लकडाउनलाई विस्तारै खुकुलो पार्दै आमजनजीवन र आर्थिक गतिविधि चलायनमान बनाउंदै गएको कुरालाई हामीले पनि मनन गर्नैपर्दछ । किनभने लकडाउनले समस्या स्थगनमात्र गर्न सक्दछ, समस्याको निदान गर्ने यो मात्र उपाय होइन भन्ने कुरा विश्वव्यापी अभ्यास समेतले स्पष्ट पार्दछ ।
त्यसैले नेपालको सन्दर्भमा लकडाउनको अवधिमा स्वास्थ्य सुरक्षालाई मजवूद बनाउने, परिक्षणको दायरालाई फराकिलो बनाउंदै आर्थिक जनजीवन सामान्य बनाउने भन्दा पनि लकडाउन मात्र गरेर हामीले समय खेर फालिरहेको आभास निजी क्षेत्रलाई हुन थालेको छ । लकडाउनको यो अवधिमा मुलुकले निकै ठूलो क्षति समेत व्यहोरेको र कूल गार्हस्थ गार्हस्थ उत्पादनमा करिव ४ प्रतिशतको आर्थिक नोक्सानी भैसकेको छ, लाखौ मानिसहरू बेरोजगार भएका छन्, उद्योग व्यवसाय थला पर्न थालेका छन् र मानिसहरूको न्यूनतम बांच्ने आधार समेत कमजोर बन्दै छ ।
यस्तो विषम अवस्थामा लकडाउनको समयसिमा बढाउंदा सरोकारवालाहरू समेतको राय सल्लाह लिनु पर्नेमा त्यसो नगरी पुन जेष्ठ ३२ गतेसम्म अवधि थप गरिएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघ चिन्ता व्यक्त गर्दछ । पुनः लकडाउनको अवधि बढाइदा मुलुकको अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका सरोकारवालाहरूसंग पनि प्रत्यक्ष संवाद हुनुपर्दथ्यो भन्ने हाम्रो धारणा हो । जोखिमको तुलनात्मक स्थितिको यथार्थपरक आंकलन र आम श्रमजीवी मजदूर, साना एवं मझौला व्यवसायी लगायत आम सर्वसाधारण नागरिकको जीवन निर्वाह सम्म गर्न नसक्ने (below the sustainability level) अवस्थामा पुगेको यथार्थतालाई विश्लेषण गरी उद्योग व्यवसाय संचालनमा सहजता ल्याउन र लकडाउनको थप अवधिमा गम्भीर पुनर विचार गर्न महासंघ जोडदार माग गर्दछ ।