Apr 12, 2018
महासंघको साधारण सभाको दोस्रो सत्रलाई अर्थमन्त्रीबाट संवोधन - समृद्धिको पथमा लाग्न निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह (२०७४/१२/२९)

नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारण सभाको दोस्रो दिन आज ललितपुरमा सम्पन्न विशेष सत्रलाई अर्थमन्त्री डा. युवराज खतिवडाले संवोधन गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मुलुकभरबाट आउनु भएका उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा करिव दुई सय जना महासंघका सदस्य संघ संस्थाका पदाधिकारी, प्रतिनिधि उद्यमी व्यवसायीहरुले आआफ्ना क्षेत्रका समस्या तथा सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा धारणा राख्नु भएको थियो । 



कार्यक्रमलाई संवोधन गर्नुहुँदै अर्थमन्त्री डा. खतिवडाले यो सरकार एक निश्चित अभियानका साथ आएकाले मुलुकको आर्थिक विकास बाहेक सरकारसँग अर्को कुनै एजेण्डा नभएको स्पष्ट पार्नुभयो । अव राजनीतिक एजेण्डा सकिएकाले निर्वाध रुपमा आर्थिक विकासनै एकमात्र अभियान रहेकोमा कुनै शंका नगरी समृद्धि र प्रगतिको पथमा अगाडी बढन् निजी क्षेत्रलाई आग्रह गर्नुभयो । 

राज्यले निर्वाह गर्नुपर्ने दायित्वप्रति सचेत रही सरकारको भूमीका निर्वाह हुने स्पष्ट पार्दै अर्थमन्त्री डा. खतिवडाले खुला अर्थनीतिप्रति सरकार पूर्ण दत्तचित्त रहेको र यसमा कुनै भ्रममा नपर्न आग्रह समेत गर्नुभयो ।  

पूर्वाधार विकास, पर्यटन, कृषि क्षेत्र, पर्यटन(शाहसिक पर्यटन समेत), रेलवे आदिमा लगानी बढाउन आग्रह गर्नुहुँदै अर्थमन्त्रीले निजी क्षेत्रले गर्न नसक्ने ठूला पूर्वाधारको आयोजनामा सरकारले सहयोग गर्न सक्ने बताउनु भयो । औद्योगिक क्षेत्रको विकासमा निजी क्षेत्र विज्ञ समूह समेत भएकाले नयाँ नयाँ उद्योग र प्रविधि भित्रयाउन समेत उहाँको जोड थियो । अर्थमन्त्रीले आयात प्रतिस्थापन/निर्यात बढाउने उद्योगधन्दाको विस्तारमा जोड दिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । 



अनुगमनका नाउँमा निजी क्षेत्रलाई दुःख दिन नहुने पक्षमा सरकार पनि रहेको स्पष्ट पार्दै अर्थमन्त्रीले यसलाई व्यवस्थित गर्नेमा सरकार लागी परेको विश्वास दिलाउनु भयो । अर्थमन्त्रीले पूर्वाधार विकास, नीतिगत सुधार, कृषिजन्य उत्पादनको भारत निकासीमा देखा परेका समस्या, सरकारको कार्यशैलीका विषयमा जिज्ञासाहरु आएको भन्दै निजी क्षेत्रबाट आएका कतिपय सुझावहरुलाई आगामी आर्थिक वर्षको वजेट मार्फत संवोधन गर्ने विश्वास दिलाउनु भयो । 

नेपाली कृषिजन्य उत्पादनहरुको भारत निकासीमा आइपर्ने समस्याका विषयमा प्रधानमन्त्री तहमै कुरा भएकाले यसको छिट्टै समाधान हुने विश्वास समेत दिलाउनु भयो । भ्याटमा वहुदरका विषयमा थप छलफल आवश्यक भएको भन्दै अर्थमन्त्रीले महासंघलाई समेत साथै राखेर गहन छलफल चलाउने जानकारी गराउनु भयो । 



अर्थमन्त्री डा. खतिवडाले भंसार विन्दूबाटै सामान ल्याउने वातावरण बनाउन सरकार लागेको भन्दै आफूले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेकै दिनदेखि मूलबाटै सफाइको अभियान थालनी गर्ने प्रतिवद्धता जारी गरेको स्मरण गराउनु भयो । 

करको बोझ बढाउने पक्षमा आफू पनि नरहेको भन्दै अर्थमन्त्रीले करको दायरा बढाउन निजी क्षेत्रको सहयोग आफूले खोजेका पनि स्पष्ट पार्नुभयो । न्याय ढिलो दिनु भएको न्याय नदिनु सरह हो तसर्थ न्याय छिटो छरितो दिनु पर्नेमा सरकार पनि स्पष्ट रहेको अर्थमन्त्री डा. खतिवडाले बताउनु भयो । 

तरलता अभावका विषयमा बोल्नुहुँदै अर्थमन्त्रीले वाहिरबाट पैसा ल्याएर भएपनि यहां लगानी गर्न सरकारले भनिसकेको जानकारी गराउनु भयो । तपाई निजी क्षेत्रहरु पनि ठूलो परियोजना ल्याएर लगानी बढाउने तर्फ लाग्नुहोस सरकार आवश्यक सहयोग गर्न तयार छ, अर्थमन्त्रीले भन्नु भयो – निर्यात मुलक उद्योगहरुलाई दिंइदै आएको अनुदानका विषयमा आगामी वजेटमा थप प्रष्ट पारिने छ । 



नेपाल सरकार अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर कुमार ढुंगानाले निजी क्षेत्रका उद्यमी व्यवसायी साथीहरुले उठाउनु भएका विषय करको भुक्तानी इपेमेन्ट मार्फत आगामी नयाँ वर्षबाट शुरुवात गर्ने जानकारी गराउनु भयो । उद्यमी व्यवसायीले दिएका सुझावहरुलाई आगामी आर्थिक वर्षको वजेटमा समेटिने विश्वास दिलाउंदै अर्थमन्त्रालय पनि महासंघलाई साथमै लिएर सातै वटा प्रदेशमा जाने कार्यक्रम रहेको र त्यहाँ पनि आर्थिक क्षेत्रका विषयमा तपाईहरुको सल्लाह सुझाव लिने प्रतिवद्धता जनाउनु भयो ।  



महासंघका अध्यक्ष भवानी राणाले सवै चरणको निर्वाचन सम्पन्न भएको, स्थानीय, प्रदेश तथा केन्द्रीय सरकार समेत गठन भएकाले २०७४ साल मुलुकका लागि खुशीको वर्ष हुन सकेको भन्दै आगामी नयां वर्ष २०७५ समृद्धिको वर्ष वनाउन सरकार निजी क्षेत्र एकसाथ जानुपर्नेमा जोड दिनु भयो । अध्यक्ष राणाले उद्यमी व्यवसायीहरूको मान मर्यादा छविमा आँच नपुग्ने गरी मर्यादित ढंगबाट अनुगमन हुनु पर्नेमा समेत जोड दिनु भयो । 

कार्यक्रममा न्यूनविजकीकरण, भंसार मूल्यांकन, राजस्व अनुगमन, राजस्वको छापा, विशेष आर्थिक क्षेत्र, निर्यात गृह, मिस म्याच, वैकिङ व्याजदर, विल वीजक जारी गर्ने, खातापाता राख्ने समय, स्वदेशी वस्तुको उपयोग, औद्योगिक क्षेत्र विस्तार, पर्यटन प्रवर्द्धन, पोर्टको कन्टेनर जाम, डिटेन्सन, डमेरेज, भंसार नाकामा अध्यागमन कार्यालयको अभाव, निर्यात गृह, दोहोरो कर, कृषि उत्पादन निर्यातमा समस्या, कृषिमा सहुलियत दरको ऋण, महिला उद्यमशीलता लगायत विकास निर्माणका विषयमा सहभागी उद्यमी व्यवसायीहरुले आआफना सुझावहरु राख्नु भएको थियो । 



महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरुको उपस्थितिमा आयोजित विशेष शत्र कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरु दिनेश श्रेष्ठ, राजकुमार न्यौपाने, रविनकुमार श्रेष्ठ, कृष्ण श्रेष्ठ, केशव पाण्डे, आकाश अधिकारी, सुकुन्तलाल हिराचन,  सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम ग्याल लामा, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारा घिमिरे, रोल्पा उद्योग वाणिज्य संघ बालकुष्ण सुवेदी, नेपाल भेनियर उत्पादक संघका महासचिव, बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देव रोकाय, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी, नेपाल इटा उद्योग व्यवसायी महासंघका अध्यक्ष महेन्द्र चित्रकार, तनहुं  उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की, उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, महिला उद्यमी व्यवसायी महासंघका अध्यक्ष शारदा रिजाल, बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल हस्तकला महासंघका अध्यक्ष किरण डंगोल, व्यवसायी विप्लवमान सिंह, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दूर्गा वहादुर थापा, नेपाल मुद्रण उद्योग संघका अध्यक्ष नरेश बहादुर मल्ल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, दार्चुला उद्योग वाणिज्य संघका पदाधिकारी, भापा उद्योग वाणिज्य संघका उपाध्यक्ष कालीचरण बस्नेत नेपाल बोटल वाटर्स एसोसिएसनका अध्यक्ष शुवाष भण्डारी, स्याङजा उद्योग वाणिज्य संघका अध्यक्ष विक्रान्त कुमार श्रेष्ठ, उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र भट्राई, नेपाल औषधि उत्पादक संघका अध्यक्ष दिपक प्रसाद दाहाल लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।   

कार्यक्रमको फोटोको लागि यहाँ क्लिक गर्नु होला (Program Photographs)

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by