Apr 12, 2019
विभिन्न महत्वपूर्ण घोषणाहरू सहित महासंघको ५३ औं वार्षिक साधारण सभा सम्पन्न (२०७५/१२/२९)

नेपाल उद्योग वाणिज्य महासंघकाको ५३ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस-२०७५ को सम्पूर्ण कार्यक्रम सफलतापूर्वक आज काठमाडौंमा सम्पन्न भयो ।

समृद्धिको अभियानमा निजी क्षेत्रको साथ मुख्य बिषयमा जोड दिएको महासंघको ५३ औं वार्षिक साधारण सभाको चैत्र २८ गते सम्माननीय प्रधानमन्त्रीज्यूबाट समुद्घाटन सहित सम्बोधन भयो । महासंघको साधारण सभालाई सम्बोधन गर्नु हुंदै सम्माननीय प्रधानमन्त्रीज्यूबाट मुलुकको आर्थिक विकासको समृद्धिको अभियानमा निजी क्षेत्रलाई अगाडि बढ्न आग्रह गर्नु भयो ।


(समुद्घाटन समारोहको फोटोको लागि यहाँ क्लिक गर्नु होला)

सम्माननीय प्रधानमन्त्रीले संवोधन गर्दै उद्योग व्यवसाय विस्तार, स्वदेशी तथा विदेशी लगानी भित्र्याउन, रोजगारी सृजना गर्ने गतिविधिहरू गर्ने क्रममा कुनै पनि समस्या उत्पन्न भएमा आफूले त्यसलाई तत्काल सम्बोधन गरी समाधान गर्ने विश्वास दिलाउनु भयो । साथै उहाँले निजी क्षेत्रको नेतृत्वदायी संस्था महासंघले मुलुकको आर्थिक विकासमा निर्वाह गरेको भूमिकाको प्रसंशा समेत गर्दै निर्धक्क साथ आर्थिक विकासको नेतृत्व गर्न मार्गनिर्देश गर्नु भयो ।

महासंघका अध्यक्ष भवानी राणा (यसै साथ संलग्न) को स्वागत मन्तव्यबाट शुभारम्भ भएको साधारण सभाको समुद्घाटन समारोहमा महासंघका सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, बस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरूलाई उनीहरूको उत्कृष्ट कार्यको मूल्याङ्कन सहित कदर सम्मान गरियो । साथै सो अवसरमा महासंघका पूर्व अध्यक्ष महेश लाल प्रधानलाई लाइफ टाईम एचिभमेन्ट अवार्ड, महासंघका विशिष्ठ सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाललाई महासंघको विकासमा निर्वाह गरेको भूमिकाको कदर गर्दै सम्मान गरियो ।

त्यसैगरी, महासंघका कार्यकारिणी समितिका सदस्य एवं उद्योग वाणिज्य संघ नवलपरासीका निवर्तमान अध्यक्ष तथा सुनवल नगरपालिकाका मेयर भीम बहादुर थापा क्षेत्रीलाई उद्योग वाणिज्य संघ नवलपरासीको भवन निर्माणको कार्यमा ठूलो रकम सहयोग गरे वापत सम्मान समेत गरियो । समुद्घाटन समारोहमा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान (यसै साथ संलग्न) ले धन्यवाद मन्तव्य दिनु भएको थियो भने महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठ (यसै साथ संलग्न) ले सम्मान सम्बन्धमा विस्तृत जानकारी गराउनु भएको थियो । सो अवसरमा महासंघका तर्फबाट नेपाल आर्थिक पत्रकार समाजको संस्थागत विकासका लागि रु. एक लाख नगद सहित सम्मान पत्र समेत प्रदान गरियो ।

साधारण सभाको दोस्रो सत्रमा प्रदेशका आर्थिक विकासका सम्भाव्यता बिषयमा प्रदेशका मुख्य मन्त्रीहरूको सहभागितामा बहस कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य राख्नु हुंदै अध्यक्ष राणाले प्रदेशको आर्थिक विकासको सम्भाव्यता बिषयमा महासंघले १ वर्ष अघि आयोजना गरेको प्रदेशिक आर्थिक बहसबाट सबै प्रदेशमा आर्थिक विकासका बिषयमा सचेतना जगाउन सहयोग पुर्‍याएको र छिट्टै महासंघले परिणाम दिने अर्को चरणको कार्यक्रम लैजाने घोषणा गर्नु भयो ।


(कार्यक्रमको फोटोको लागि यहाँ क्लिक गर्नु होला)

सो अवसरमा मुख्य मन्त्रीज्यूहरूबाट सम्बोधन हुंदै आ-आफ्नो प्रदेशमा लगानीका लागि उद्यमी व्यवसायीहरूलाई आग्रह गर्नु भयो । उहाँहरूले आफ्ना प्रदेशमा लगानी गर्न आउने उद्यमीहरूलाई सबै प्रकारको सहयोग र सुविधा उपलव्ध गराउन आफ्नो सरकार तयार रहेको र सोही अनुसारले नीति एवं ऐन, कानूनमा पनि संशोधन र सुधार गर्दै लगिएको स्पष्ट पार्नु भयो । साथै उहाँहरूले आफ्ना प्रदेशका समृद्धिका आधारहरू, लगानीका क्षेत्रहरू र प्रदेशको सवल पक्ष वारेमा उद्यमी व्यवसायीहरूलाई जानकारी गराउनु भयो । 

वार्षिक साधारण सभाको समुद्घाटन समारोहमा मन्त्रीहरू, मुख्य मन्त्रीहरू, महासंघका पूर्व अध्यक्षहरू, वर्तमान पदाधिकारीहरू, नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश च्याप्टरका अध्यक्षहरू, कार्यकारिणी समितिका सदस्यहरू, पूर्व पदाधिकारीहरू, महामहिम राजदूतहरू, उच्च पदस्थ व्यक्तिहरू, एवं नेपालका प्रतिष्ठित उद्यमी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।


(कार्यक्रमको फोटोको लागि यहाँ क्लिक गर्नु होला)

साधारण सभाको दोस्रो दिन आज चैत्र २९ गते विहानको विशेष सत्रलाई माननीय अर्थ मन्त्री डा. युवराज खतिवडा, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले सम्बोधन गर्दै वर्तमान सरकार, उद्योग व्यवसायको विकास विस्तार सहितको समृद्धिको अभियानमा रहेकाले सबै प्रकारको वातावरण दिन आफूहरू तयार रहेको विश्वास दिलाउनु भयो । विशेष सत्रमा उद्यमी, व्यवसायीहरूले उठाउनु भएका बिषयहरूलाई महासंघ समेतसंग बसेर अन्तिम रूप दिई आगामी आर्थिक वर्षको बजेटमा समेट्ने प्रतिवद्धता समेत जनाउनु भयो ।


(कार्यक्रमको फोटोको लागि यहाँ क्लिक गर्नु होला)

आज सम्पन्न महासंघको ५३ वार्षिक साधारण सभाले देहायका निर्णयहरू गरेको छः

१.    नेपाल सरकारले तय गरेको Visit Nepal 2020 लाई सफल पार्न महासंघले आफ्नो सम्पूर्ण संजालको परिचालन गर्ने तथा प्रादेशिक पर्यटन विकासमा नेतृत्व लिएर बहस चलाउने,
२.    समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय अभियानलाई सफल पार्न समृद्धिको प्रतिवद्धताका साथ सिंगो निजी क्षेत्रलाई परिचालन गर्ने,
३.    विज्ञहरू समेतको संलग्नतामा मुलुक भित्र उद्योग व्यवसाय लगायत अर्थतन्क्रको विकासका त्रममा देखा परेका पूर्वाधारको समस्या, प्रक्रियागत झन्झट, नीति, कानूनका अप्ठ्यारा, चुनौति एवं समस्याहरूको विस्तृत प्रतिवेदन बनाई नेपाल सरकारमा पेश गर्ने,
४.    विधान संसोधनको मस्यौदा यथाशीघ्र तयार गरी सबै सदस्य संघ/संस्थासँग छलफल गरी सो कार्यलाई अगाडी बढाउने,
५.    उद्योग प्रतिष्ठानलाई पूजीको आधारमा वर्गीकरण गरी सामाजिक सुरक्षा ऐन लागू हुनुपर्ने,
६.    सरकारसंग समन्वय गरी मेला महोत्सवको आयोजना आधिकारिक संस्थालाई मात्र दिनुपर्ने,
७.    सामाजिक सुरक्षा योजना तथा श्रम ऐनमा पुनरविचार गर्न सरकारसंग पहल गर्ने, 
८.    महासंघ भित्र Think Tank को स्थापना गर्ने,
९.    साना तथा मझौला उद्यमी व्यवसायीको सशक्तिकरणका लागि सातै प्रदेशमा साना तथा मझौला (SMs Conference) सम्मेलन गर्ने,
१०.    महासंघका पूर्व उपाध्यक्ष दिवाकर गोल्छाको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव (यसै साथ संलग्न) पारित, 
११.    महासंघको वार्षिक साधारण सभामा सदस्य संघ संस्थाहरूबाट प्राप्त प्रस्तावलाई अन्तिम रूप दिन उपाध्यक्ष श्री किशोरकुमार प्रधानज्यूको संयोजकत्वमा क्रमशः भीम घिमिरे, कृष्ण श्रेष्ठ, राधाकृष्ण सापकोटा र के आर खनाल सहित ५ सदस्यीय प्रस्ताव समिति गठन गर्ने ।

साधारण सभाको बन्द सत्रमा सहभागी मुख्य प्रतिनिधि, प्रतिनिधि, उद्यमी व्यवसायीहरूले आ-आफ्नो क्षेत्रमा भोग्नु परेका समस्या, चुनौतिका बिषयमा आ-आफ्नो धारणा राख्नु भयो ।

कार्यक्रमको अन्त्यमा समापन मन्तव्य दिनु हुंदै अध्यक्ष राणाले महासंघको वार्षिक साधारण सभाको समुद्घाटन सहित सम्बोधन भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूमा हार्दिक कृतज्ञता सहित माननीय अर्थ मन्त्री, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, माननीय मुख्य मन्त्रीहरू, महासंघका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू एवं कार्यकारिणी समितिका सदस्यहरू सहित महासंघका सदस्य संघ संस्थाका प्रतिनिधिहरू सञ्चारकर्मीहरू लगायत महासंघ सचिवालयलाई समेत कार्यक्रम सफल पार्न सहयोग प्राप्त भएकोमा हार्दिक धन्यवाद दिनु भयो  ।
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by