Aug 29, 2018
एफएनसीसीआई र सेजनद्वारा संयुक्त रूपमा इकोटक शुरूः उच्च व्याजदर र पर्याप्त तरलतामा पनि व्याजदर घट्न नसक्नु प्रमुख चुनौती–उद्यमी व्यवसायीहरू (२०७५/५/१३)

उद्यमी व्यवसायीहरूले उच्च व्याजदर, मुद्रा बजारमा तरलता हुँदा पनि व्याजदर घटन नसक्नु र मनोमानी तवरले ब्याज बृद्धि यति वेलाका मुख्य चुनौती रहेको औल्याएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीवि नेपालको प्रमुख आतिथ्यतामा आज महासंघ सचिवालयमा आयोजित इकोटकमा उद्यमी व्यवसायीहरूले सो कुरा औल्याएका हुन । 

मुलुकभित्रका समसामयिक आर्थिक, व्यवसायिक र क्षेत्रगत विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञ, नीति निर्माताहरू, सरोकारवाला निकायका पदाधिकारीहरू, उद्यमी व्यवसायीहरू, संचार माध्यमहरूलाई समेत सहभागी गराई प्रत्येक महिना समसामयिक विषयमा कम्तिमा दुई वटा आर्थिक छलफल कार्यक्रम गर्ने प्रयास स्वरुप नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल आर्थिक पत्रकार समाजद्वारा संयुक्त रूपमा इकोटक कार्यक्रमको शुरुवात गरिएको हो । पहिलो इकोटमा बैंक तथा वित्तिय क्षेत्रका विषयमा छलफल गरियो । 

महासंघका अध्यक्ष भवानी राणाको सभापतित्वमा आयोजित कार्यक्रममा महासंघका पदाधिकारीहरू, नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरू, नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीहरू, उद्यमी व्यवसायीहरू, आर्थिक पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले कार्यपत्र (यसैसाथ संलग्न) प्रस्तुत गर्नु भएको थियो । 

उद्योग व्यवसाय क्षेत्रको बैंकिङ सम्बन्धी समस्यामा मुलत हाल कर्जाको ब्याजदर वेस रेटमा आधारित भएपनि ब्याजदरको तल्लो र माथिल्लो सीमा नतोकेको हुँदा ऋणीले आफुले लिएको कर्जाको ब्याजदर बढीमा कति सम्महुने र घटीमा कतिसम्म हुन सक्ने भनेर वित्तीय प्रक्षेपण गर्न सक्ने अवस्था नरहेको, ऋणको ब्याज अकस्मात बीच बीचमा बढेको, बस्तुको उत्पादन लागत बढेको, ऋण लिदा क्रेडिट रेटिङको शुल्क बढी भएको, विदेशी लगानीको स्वीकृती ढिलो हुने गरेको,  विदेशी लगानीको लाभांस फिर्ता लैजान ढिलो स्वीकृत हुने, कृषिमा सहुलियत ऋण सहजरूपमा प्राप्त हुन नसकेको गुनासो गरेका थिए ।  

कार्यक्रममा हालको बेसरेट गणना गर्ने तरिकामा सम्पत्तिको प्रतिफल वापत ०.७५ प्रतिशत मुनाफा समेत जोडी सकेको हुदा त्यसमा त्यस माथि थप प्रिमियम समेत जोड्दा बैंकको उच्च मुनाफा हुने हुंदा वेस रेटमा गणना गर्दा सम्पत्तिको प्रतिफल वापतको ०.७५ प्रतिशत हटाउनु पर्ने, वेस रेट लागु भएपछि कर्जाको ब्याजदर अत्याधिक बृद्धि भएको हुँदा वेस रेटको सट्टा कष्ट अफ फण्डको आधारमा कर्जाको ब्याजदर गणना कायम हुनुपर्ने अन्यथा बेसरेट गणना गर्ने तरिका परिमार्जन हुनुपर्ने लगायतका सुझावहरू महासंघका तर्फबाट राखिएको थियो ।



त्यसैगरी निक्षेपमा दिने ब्याजदर र कर्जामा लिने ब्याजदरको स्प्रेड दरको औषत निकाल्दा खेल्ने ठाउँ हुने हुँदा  निक्षेपमा प्रदान गर्ने न्यूतम ब्याजदर र कर्जामा प्रदान गर्ने अधिकतम ब्याजदरको फरक ४.५ प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था कायम गर्नुपर्ने, संस्थागत निक्षेपलाई कुल निक्षेपको २५ प्रतिशत गरिनु पर्ने,  स्प्रेड दरलाई ४.५ प्रतिशतबाट घटाईनु पर्ने,  सम्बन्धित पार्टीको आधिकारिक बिलबिजकको आधारमा मोड अफ पेमेन्ट  प्रतित पत्र, ड्राफ्ट, टी.टी. हुनुपर्ने,  ऋणलिदा क्रेडिट रेटिङको शुल्क घटाउनु पर्ने, कृषिमा सहुलियत ऋणको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, जलविद्युत क्षेत्रमा फिक्स व्याजदर हुनुपर्ने, ब्याजदरको स्थिरताको लागि फ्लोटिङ इन्ट्रेष्ट रेट/ फिक्सड इन्ट्रेष्ट रेटको अवधारणा ल्याउनु पर्ने, नगदमा आधारित अर्थतन्त्रबाट बैंकिङ च्यानलको अधिकतम उपभोग गरि क्रमश: नगद रहित अर्थतन्त्रलाई प्रोत्साहन गर्नु पर्ने, इकमर्सलाई प्रोत्साहन गर्नुपर्ने, सवै वाणिज्य बैंकबाट करको भुक्तानी गर्न पाउनु पर्ने लगायतका सुझावहरु राखिएको थियो ।  

कार्यक्रमलाई संवोधन गर्नुहुंदै राष्ट्र बैंकका गभर्नर डा. नेपालले अघिल्लो दुई आर्थिक वर्षमा लगातार मुलुकको आर्थिक वृद्धि भएको र यो आर्थिक वर्षमा पनि प्रक्षेपित आर्थिक वृद्धिको लक्ष्य हासिल हुने बताउनु भयो । उहाँले यो आर्थिक वर्षको आर्थिक वृद्धि हुने पर्याप्त आधार तयार भैसकेको समेत स्पष्ट पार्नुभयो । सरकारको आर्थिक नीतिलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएको र विद्यमान मौद्रिक नीतिले मुद्रा स्फितिलाई टार्गेट प्वान्टसमा राख्ने र आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउने दावी समेत गर्नुभयो । मुलुक भित्र उद्योग व्यवसायको वातावरण बनाउन राष्ट्र बैंकले गर्नुपर्ने सवै प्रकारको सहयोग गर्न आफू तयार रहेको र निजी क्षेत्रको सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता समेत जनाउनु भयो । 

त्यसअघि कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुंदै महासंघका अध्यक्ष राणाले मुलुकभित्र अव श्रम समस्या, राजनीतिक अस्थिरता, लोड सेडिङ जस्ता समस्याहरु नरहेकाले अव आर्थिक विकासको वातावरण निजी क्षेत्रले खोजेको बताउनु भयो । बैकिङ क्षेत्रमा अझै पनि समस्याहरू रहेकाले विद्यमान समस्या माथि छलफल गरी एउटा समाधानमा पुग्न यो कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो । उद्योग व्यवसाय र बैंकिङ क्षेत्र एकअर्कामा हातेमालो गरी मुलुकको आर्थिक विकासमा अगाडी बढ्न यो कार्यक्रम सहयोगी हुने उहाँले दावी गर्नुभयो । अध्यक्ष राणाले महासंघले बैकिङ क्षेत्रमा रहेका समस्या समाधानमा राष्ट्र बैंकसँग नजिकमा रहेर कार्य गरेको र राष्ट्र बैंकका गभर्नरज्यू सहित सवै पदाधिकारीबाट सहयोग समेत प्राप्त भैरहेको बताउनु भयो । 

महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले मुलुकभित्र लगानीको वातावरण बनाउन बैकिङ क्षेत्रको पनि मुख्य भूमिका हुने हुँदा निजी क्षेत्रले उठाएका गुनासाहरूलाई संवोधन हुनुपर्नेमा जोड दिनु भयो । 

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले उद्योग व्यवसाय क्षेत्र र बैकिङ क्षेत्र एकअर्काका परिपुरक भएकाले मुलुकभित्र आर्थिक विकास, उद्योग व्यवसायको विस्तारमा हातेमालो गर्दै जाने विश्वास दिलाउनु भयो । कार्यक्रममा उद्यमी व्यवसायीले राखेको सुझावहरूलाई कार्यान्वयन गर्नमा वाणिज्य बैंकहरू प्रतिवद्ध रहेको समेत विश्वास दिलाउनु भयो । 

नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्पराज आचार्यले समन्वय गर्नु भएको सो कार्यक्रममा महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, राष्ट्र बैंकका कार्यकारि निर्देशकद्वय नरवबहादुर थापा, नारायण प्रसाद पौडेल, महासंघको कार्यकारिणी समितिका सदस्यहरु, महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, वस्तुगत संघका पदाधिकारीहरू, उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो । कार्यक्रमा महासंघको बैंक, वित्तिय तथा विमा समितिका सह–सभापति गोपाल खनालले धन्यवाद मन्तव्य दिनु भएको थियो । 
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by