Apr 28, 2017
महासंघका पदाधिकारीहरु र आइएलओका देशिय निर्देशक बीच भेटवार्ता (२०७४/०१/१५)

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन ( International Labor Organization-ILO)  का देशिय निर्देशक रिचार्ड हवार्ड ( Mr. Richard Howard, Country Director) बीच आज महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भयो । 

महासंघका अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकाल, कार्यकारिणी समितिका सदस्यहरु, निमित्त महानिर्देशक मीना श्रेष्ठ, आइएलओ नेपाल कार्यालयका वरिष्ठ अधिकारीहरु सहभागी रहनु भएको सो भेटवार्तामा महासंघ र आइएलओ बीचको सहकार्य, नेपालको पछिल्लो आर्थिक वस्तुस्थिति, रोजगारी, औद्योगिक श्रम सम्बन्ध, सामाजिक सुरक्षा तथा श्रम ऐन लगायत विषयमा विस्तृत छलफल भयो । 

सो अवसरमा महासंघका अध्यक्ष राणाले देशिय निर्देशक रिचार्डको स्वागत गर्नुहुंदै नेपालको आर्थिक विकास, श्रम सम्बन्ध सुधारमा आइएलओले निर्वाह गरेको भूमिका एवं सहयोगको प्रशंसा गर्नुभयो । अध्यक्ष राणाले नेपाली निजी क्षेत्र मुलुकभित्र औद्योगिक विकास मार्फत रोजगारी सृजनामा केन्द्रीत भएको, रोजगारदाता एवं श्रमिक बीचको सम्बन्ध सुमधुर बन्दै गएको, रोजगारदाता र ट्रेड यूनियन बीच छलफल पश्चात श्रम ऐन र सामाजिक सुरक्षा ऐन तयार भई अहिले संसदमा पेश भइसकेको र उक्त ऐनहरु छिट्टै पारित हुनेमा आफूहरु विश्वस्त रहेकाले मुलुक अव विस्तारै आर्थिक समृद्धितर्फ अगाडी बढ्ने आशा निजी क्षेत्रले गरेको बताउनु भयो । साथै अध्यक्ष राणाले महिला उद्यमशीलता विकास, यूवा रोजगारी तथा सिपमुलक तालीम संचालनका लागि आगामी दिनमा आइएलओबाट थप सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

सो अवसरमा देशिय निर्देशक हवार्ड  ( Mr. Richard Howard, Country Director)  ले महासंघका नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुलाई आइएलओका तर्फबाट बधाई दिनु भयो । साथै उहांले नयां टिमसंग आगामी दिनमा अझ बढी सहकार्य हुने विश्वास दिलाउनु हुंदै महासंघको आवश्यकताका आधारमा थप प्राविधिक सहयोग एवं कार्यक्रमहरु विस्तार गर्दै जाने प्रतिवद्धता समेत जनाउनु भयो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by