Sep 23, 2022
संयुक्त प्रेस विज्ञप्ती

२०७९ असोज ७ गते , शुक्रबार । 

आदरणीय पत्रकार मित्रहरु,

नेपाल मत्स्यपालनको लागि उपयुक्त र प्रचुर सम्भावना बोकेको मुलुक रहेको सबैमा विदितै छ । हाल नेपालको मत्स्य उत्पादन क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा लगभग १.६ प्रतिशत र कुल कृषि ग्राहस्थ उत्पादनमा ४.२ प्रतिशत योगदान गरेको र कृषि क्षेत्रको सबैभन्दा बढी बृद्वीदर भएको उपक्षेत्रको रुपमा सर्वविदितै छ । 

यस क्षेत्रमा हाल माछा पालन तर्फ १,५०,००० र अन्य सम्बन्धित क्षेत्रमा लगभग ४,५०,००० सहित ६,००,००० हाराहारीमा जनशक्ती पुर्ण रुपले रोजगार पाईरहेको छन् । हाल माछा विक्री गर्ने चाडपर्वको सिजनमा नेपालमा उत्पादित माछा उपभोक्ताहरुको माग बमोजिम पर्याप्त रहेको जानकारी गराउंदै स्वदेशमा नै उत्पादित स्वस्थ र ताजा माछा उपभोग गर्न प्रोत्साहन गर्नुको सट्टा भारतबाट आयातीत अखाद्य रसायनिक पदार्थ (फर्मालिन र नाइट्रेड) मिसावट गरिएको माछा नेपालमा दैनिक सरदर ५० टनको हाराहारीमा भन्सार छली धमाधम भित्रिनु जनस्वास्थ्यको दृष्टिले कति न्यायोचित रहन्छ सो गम्भीरतालाई मध्यनजर गर्दै नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय कार्य समिति र सम्पुर्ण निजी क्षेत्रले विगत १० वर्ष देखि पटक पटक नेपाल सरकारको सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदै आईरहेको व्यहोरा स्मरण गराउन चाहान्छौ । अन्य कृषि पेशाको तुलनामा यो पेशा कम जोखिम, महिला र पुरुष दुवैले सजिलै निगरानी गर्न सकिने भएकोले यस पेशा प्रति कृषकहरुको आर्कषण बढिरहेको अवस्थामा भारतबाट आयातित माछाले स्थानिय किसानहरुको बजार धरासायी हुन गई मत्स्य किसानहरु आफ्नो लागत उठाउन नसक्दा बैंक र अन्य वित्तिय संस्थाहरुबाट लिएको कर्जा भुक्तान गर्न नसकी पेशाबाट नै पलाएन हुने अवस्थामा पुगेका छन् । राज्यको सम्बन्धित निकाय मौन रहंदा एकातर्फ राज्यले ठूलो राशीको राजश्व समेत गुमाएको छ भने अर्को तर्फ उपभोक्ताको स्वास्थ्यमा समेत ठुलो खेलवाड गरिएको छ । 

नेपालको माछा उत्पादनको तथ्यांक हेर्ने हो भने चितवन जिल्ला अग्रणी स्थानमा रहेको छ यसरी जिल्लामै माछाको उपलब्धता रहंदा रहंदै पनि अवैध रुपमा माछा आयात हुने कार्यप्रति चितवन जिल्लाका सम्पुर्ण निजी क्षेत्रहरुको समेत गम्भिर ध्यानाकर्षण भएको छ । कोभिड १९ का कारण विक्षिप्त बनेको आर्थिक क्षेत्र यस किसिमका गतिविधिले झन बढि प्रभावित हुने नीजि क्षेत्रको धारणा रहेको छ । 

एकातर्फ राज्यले मुलुकलाई माछामा आत्मनिर्भर बनाउनु पर्छ भनेर अनुदान लगाएतका कार्यक्रमहरु लागु गर्ने अर्को तर्फ भारतबाट माछा आयात गर्ने कार्यले मत्स्य किसानहरु निरुत्साहित हुनुका साथै वैदेशिक मुद्रा वाहिर गईरहेको छ । भारतबाट अवैध रुपमा माछा आयात गर्ने कार्य अबिलम्ब रोक लगाई स्वदेशी उत्पादनको बजारिकरणमा सुनिश्चितता एवं आयात प्रतिस्थापन गर्ने यस कृषि उद्योगमा संलग्न मत्स्य किसानहरुलाई पुन:उत्साह प्रदान गर्नको लागि संघिय, प्रदेश तथा स्थानिय सरकारसंग माग गर्दा मातहतका नियमनकारी निकायहरुसंग सहकार्य गरि अघि बढ्न पुर्णरुपमा सहयोग गर्न प्रदेश सरकारबाट प्रतिबद्वता समेत व्यक्त भए अनुसार देशका विभिन्न क्वारेन्टाईन, चेकपोष्टहरुमा मत्स्य व्यवसायीसंघका प्रतिनिधि समेत रहने गरी कडाईका साथ अनुगमन गरि गैर कानुनी एवम् अवैध रुपमा माछा आयात गर्ने कार्यलाई अविलम्ब रोक्नको लागी सम्बन्धित निकायलाई यसै विज्ञप्ती मार्फत अनुरोध गरिन्छ ।

चुननारायण श्रेष्ठ, अध्यक्ष, उवासंघ–चितवन
त्रिलोचन कँडेल, अध्यक्ष, उद्योग संघ–चितवन
अनिल कृष्ण श्रेष्ठ, अध्यक्ष, रत्ननगर उवासंघ
दिपेन श्रेष्ठ, अध्यक्ष, उवासंघ खैरहनी
गोपाल भट्टराई, उपाध्यक्ष, चितवन चेम्बर अफ कमर्श
खगेन्द्र सुवेदी, अध्यक्ष, चितवन मत्स्यव्य संघ
अम्बीकाप्रसाद अधिकारी, अध्यक्ष,केन्द्रीय समिति, नेपाल मत्स्य व्य. संघ
        

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by