Jul 28, 2019
सम्माननीय प्रधानमन्त्रीबाट काठमाडौंमा नेपाल–भारत पारवहन सहजिकरण सम्मेलन समुद्घाटन भारतसंगको व्यापार सहजीकरण र नेपालमा लगानी गर्न प्रधानमन्त्रीको भारतीय निजी क्षेत्रलाई आग्रह (२०७६/०४/१२)

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र मेरिटाइम गेटवे इण्डियाद्वारा संयुक्त रूपमा आज काठमाडौमा आयोजना गरिएको नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन (Nepal-India Logistics Summit-2019)  को एक विशेष समारोहका बीच काठमाडौंमा समुद्घाटन गर्नुभयो ।  
पारवहनका सम्बन्धमा विद्यमान समस्या र समस्या समाधानतर्फ भैरहेका प्रयासको पृष्ठभूमिमा नेपाल–भारत बीचको पारवहनलाई कसरी सरल र प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । 


सम्मेलन समुद्घाटन समारोहलाई संवोधन गर्नुहुंदै प्रधानमन्त्री ओलीले नेपाल–भारत जोड्ने जलमार्गले दुई देशीय व्यापार अझ विस्तार हुने र नेपालमा लगानीको वातावरण बन्ने विश्वास प्रकट गर्नुभयो । वर्तमान अवस्थामा नेपाल–भारत बीचको दुई पक्षीय सम्बन्ध भनेको सडक सञ्जाल नै भएको, रेलमार्ग र जलमार्गबाट पनि दुई देशलाई जोड्ने काम अगाडी बढाईको स्पष्ट पार्नुहुंदै प्रधानमन्त्रीले यसको सफलता पछि  दुई पक्षीय व्यापार अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । 
दुवै देशका उद्यमी व्यवसायी र लगानीकर्ताहरूको समेत ठूलो सहभागिता रहेको सो सम्मेलनमा प्रधानमन्त्री ओलीले दुई देश बीचको व्यापारमा नेपालले निकै धेरै व्यापार घाटा व्यहोर्नु परेको तथ्यांक प्रस्तुत गर्नुहुंदै नेपालमा आएर लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह समेत गर्नुभयो । लगानीका लागि नीतिगत, कानूनी लगायत सम्पूर्ण सुधार गरिएको स्पष्ट पार्नुहुंदै उहांले नेपालको व्यापार घाटा कमगर्न पनि नेपाललाई पर्याप्त लगानीको आवश्यकता रहेकाले यहां आएर लगानी गर्न भारतीय लगानकर्ताहरूलाई आग्रह गर्नुभयो । नीतिगत सुधार र नीतिगत स्थायित्व लगानी आकर्षणका लागि महत्वपूर्ण आधार हुन प्र्रधानमन्त्रीले भन्नु भयो राजनीतिक स्थायित्व समेत भएकाले नेपाल यतिखेर लगानीका लागि सुन्दर स्थल भएको दावी समेत गर्नुभयो । 


काठमाडौं—वीरगञ्ज रेलमार्ग डिपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुहुंदै प्रधानमन्त्रीले नेपाल विकासतर्फ फड्को मार्ने क्रममा रहेकाले त्यसका लागि भारतस“गको व्यापारको भूमिका महत्वूर्ण हुने बताउनु भयो । 
त्यसअघि स्वागत मन्तव्य दिनुहुंदै महासंघका अध्यक्ष भवानी राणाले दुवै देशका सरकारी पदाधिकारीहरू, उद्यमी व्यवसायीहरू, व्यवसायिक घरानाहरू, लजिष्टि कम्पनीहरू समेतलाई एकै थलोमा ल्याई व्यापार तथा पारवहनका विषयमा रहेका समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी समाधानका लागि सहमती बनाउन र व्यापार सहजीकरणमा सहयोग गर्न सम्मेलन महत्वपूर्ण हुने विश्वास प्रकट गर्नुभयो । विश्व वैंकको तथ्यांक अनुसार नेपालले लजिष्टिक सुधार सूचकांकमा सुधार गर्दै गएको तथ्यांक प्रस्तुत गर्नुहुंदै सन् २०१६ मा सूचकांक २ दशमलव ३८ रहेकोमा त्यसमा सुधार भई सन् २०१८ मा २ दशमलव ५१ पुगेको बताउनु भयो । यसले नेपालको लजिष्टिक क्षेत्रमा निकै महत्वपूर्ण उपलव्धी भएको भन्नु हुंदै यो सम्मेलनले दुई देश बीच स्थलगततहमा रहेका पारवहनका समस्या तथा चुनौतीहरूलाई प्रत्यक्ष रूपमा राखी त्यसको निराकरणका लागि सम्मेलन महत्वपूर्ण माध्यम हुने विश्वास प्रकट गर्नुभयो । पारवहनका क्रममा नेपाली उद्यमी व्यवसायीहरूले उठाएका समस्याहरूलाई संवोधन गरी सहयोग गर्न भारतीय सरकारका महत्वपूर्ण पदाधिकारीहरू प्रतिवद्ध रहेको आफूले पाएको पनि उहांले बताउनु भयो । पारवहनका तहमा देखा परेका नीतिगत तथा व्यवहारिक समस्या पहिचान गरी तीनको समाधानमा सहयोग पुगोस भन्ने अभिप्रायले महासंघले नेपाल सरकार, मेरिटाइम इण्डियासंगको सहकार्यमा यो कार्यक्रमको आयोजना गरेको अध्यक्ष राणाले बताउनु भयो । 


कार्यक्रममा भारतीय सरकारका उद्योग तथा वाणिज्य मन्त्रालयका विशेष सचिव (लजिष्टिक) श्री एन. सिभासैलाम (N. Sivasailam, IAS, Special Secretary(Logostic), Ministry of Commerce and Industry, Government of India) ले नेपाल–भारत बीचको व्यापारका क्षेत्रमा रहेका समस्या समाधानमा सहयोग गर्न भारतीय सरकार तयार रहेको बताउनु भयो । नेपाली उद्यमी व्यवसायीहरूले भोग्नु परेका पारवहनका मुद्दाहरूका विषयमा हिजो महासंघ सचिवालयमा महत्वपूर्ण छलफल भएको प्रशंग राख्नुहुंदै कतिपय समस्या भारतीय पक्षबाट संवोधन हुनुपर्ने देखिएकाले त्यसलाई संवोधन गरी सहयोग गर्न आफूहरू प्रतिवद्ध रहेको पनि उहांले बताउनु भयो । नेपालसंगको व्यापार सम्बन्ध अझ सुधार तथा विस्तार गर्नुपर्ने स्थिति छ, उहांले भन्नु भयो–दुई पक्षीय व्यापार विस्तार गर्न भारत सधै तयार छ । त्यस्ता विषयहरूमा दुवै देशले छलफल र कुराकानीबाटै अघि बढ्नु पर्दछ । नीतिगत, पूर्वाधार तथा स्थलगत सवै प्रकारका समस्या समाधानमा सहयोग गर्ने उहांले प्रतिवद्धता जनाउनु भयो । 


कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी (His Excellency Manjeev Singh Puri, Indian Ambassador to Nepal) ले सम्बोधन गर्दै  पछिल्लो समय नेपाल–भारत वाणिज्य सम्बन्ध अत्यन्त राम्रो भएको बताउनु भयो । नेपाल र भारत बीचको व्यापारलाई सहज रूपमा अगाडी बढाउन दुवै देश लागिरहेको र कतिपय महत्वपूर्ण परियोजना सम्पन्न भएपश्चात आपसी व्यापार थप मजवूद हुने उहांले धारणा राख्नु भयो । छिट्टै औपचारिक शुभारम्भ हुन गैरहेको मोतिहारी–अम्लेखगंज पेट्रोलियम पाइपलाइन नेपालको आर्थिक विकासका लागि गेम चेञ्जर हुने दावी समेत राजदूतले गर्नुभयो । यसले समग्रमा नेपालको विकासमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 
उद्योग वाणिज्य तथा आपूर्ति  मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले धन्यवाद मन्तव्य दिनुभएको समुद्घाटन समारोहमा म्यारिटाइम गेटवेका प्रधानसम्पादक तथा प्रकाशक राम प्रसाद रभि (Mr Ramprasad Ravi, Editor in Chief & Publisher, Maritime Gateway) कन्टेनर कर्पोरेशन अफ इण्डियाका अध्यक्ष एवं व्यवस्थापन निर्देशक भी कल्याण रमन (Mr V Kalyanarama, Chairman & Managing Director, Container Corporation of India Limited) नेपाल भारत बीचको आर्थिक व्यापारिक सम्बन्ध, अवका दिनमा गर्नुपर्ने सहकार्य तथा पारवहनका विषयमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।  


कार्यक्रममा नेपाल भारत व्यापारः अवसर तथा चुनौतीहरू(India-Nepal Trade : Opportunities and Challenges), क्रसवोर्डर कार्गो मुभमेन्ट (Cross Border Cargo Movement), चेन्जिङ ल्याण्डस्केप अफ सिपिङ एण्ड लजिष्टिक्स–प्रिपेएरिङ फर फ्यूचर (Changing Landscape of Shipping & Logistics-Preparing for Future), ट्रान्सफरमिङ (Transforming Logistics Landscape) का विषयमा दुवै देशका पारवहन क्षेत्रका विज्ञ, सरकारी पदाधिकारीहरू, भारतीय सिपिङ कम्पनीका पदाधिकारीहरू, फ्रेटफ्वार्डर्सहरू र उद्यमी व्यवसायीहरूद्वारा कार्यपत्र प्रस्तुती तथा वृहद छलफल हुनेछ । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, लगानी वोर्डका प्रमुख कार्यकारि अधिकृत महाप्रसाद अधिकारी, पूर्व वाणिज्य सचिवहरू, नेपाल फ्रेटफरवार्डर्स एसोसिएसनका अध्यक्ष एवं महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति प्रकाशसिंह कार्की लगायतका, आरवी रौनियार लगायतका विज्ञ व्यक्तित्वहरूबाट विभिन्न शत्रमा संवोधन हुने कार्यक्रम छ । समुद्घाटन कार्यक्रममा महासंघका पदाधिकारी, कार्यकारिणी समितिका सदस्यहरू, दुवै देशका सरकारी तथा निजी क्षेत्रका उदमी व्यवसायीहरु, विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by