Jul 28, 2019
भारतीय सरकारका उद्योग वाणिज्य सचिव (लजिष्टिक)संग  महासंघ सचिवालयमा नेपाल भारत पारवहनका विषयमा छलफल (२०७६/०४/११)
नेपाल र भारत बीचको पारवहनका विद्यमान चुनौती तथा व्यवहारिक समस्याका विषयमा आज महासंघ सचिवालयमा वृहद छलफल भयो । भारतीय सरकारका उद्योग तथा वाणिज्य मन्त्रालयका विशेष सचिव (लजिष्टिक) श्री एन. सिभासैलाम (N. Sivasailam, IAS, Special Secretary(Logostic), Ministry of Commerce and Industry, Government of India) को स्वागतमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित विशेष भेटवार्ता कार्यक्रममा उक्त छलफल भएको हो । 
विशेष सचिव (लजिष्टिक) श्री एन. सिभासैलाम नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र मेरिटाइम गेटवे इण्डियाद्वारा संयुक्त रूपमा भोलि काठमाडौमा आयोजना हुन लागेको नेपाल–भारत पारवहन सहजिकरण सम्मेलन (Nepal-India Logistics Summit-2019)मा भाग लिन काठमाडौं आउनु भएको हो । 
महासंघका अध्यक्ष भवानी राणाले सो अवसरमा विशेष सचिव एन. सिभासैलामको महासंघ सचिवालयमा स्वागत गर्नुभयो । उक्त भेटवार्ता कार्यक्रममा भारतीय सरकारको वाणिज्य मन्त्रालयका सहसचिव अनन्त स्वरूप (Anant Swarup, Joint Secretary, Ministry of Commerce and Industry, Government of India) नेपालस्थित भारतीय राजदूतावासका द्वितिय सचिव (वाणिज्य) कपिध्वज प्रताप सिंह (Kapidhwoj Pratap Singh, Second Secretary(Commerce), Embassy of India in Nepal) महासंघको कार्यकारिणी समितिका सदस्यहरू अशोककुमार तोदी, भरतराज आचार्य, प्रकाशसिंह कार्की, प्रवलजंग पाण्डे, कार्गो व्यवसायमा आवद्ध उद्यमी व्यवसायीहरू, महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी सहितको सहभागिता रहेको थियो । 
उक्त भेटवार्तामा महासंघका अध्यक्ष राणाले भारत, नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदार रहेको र अधिकांश व्यापार भारतीय भूमि भएर हुने गरेको स्थितिमा पारवहनका विषयमा देखापरेका समस्याहरूको समाधान गरी निर्वाध व्यापार व्यवसायको वातावरण बन्नुपर्नेमा नेपाली निजी क्षेत्रको धारणा राख्नु भयो । अध्यक्ष राणाले विशेष सचिवसंग भएको महत्वपूर्ण अन्तरक्रियाबाट पारवहन क्षेत्रमा देखिएका विद्यमान समस्याका विषयमा स्पष्ट पार्ने मौका मिलेको र समस्या समाधानमा विशेष सचिवज्यूबाट महत्वपूर्ण पहल हुने विश्वास प्रकट गर्नुभयो । 
विशेष सचिव  श्री एन. सिभासैलामले नेपाल भारत पारवहनका विषयमा प्रत्यक्ष रूपमा नेपाली उद्यमीहरूसंग वसेर छलफल गर्ने मौका प्राप्त भएकोमा खुशी व्यक्त गर्नुहुंदै स्थलगत रूपमा रहेका समस्या समाधानमा आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो । भारत नेपाल बीच व्यापारको दृष्टिकोणले मात्र होइन हामी बीचको सम्बन्ध अत्यन्त पारिवारिक समेत रहेकाले आपसी लाभका लागि संयुक्त रूपमा सहकार्य गर्न भारत सरकार तयार रहेको समेत उहांले स्पष्ट पार्नुभयो । छलफलमा उठेका नीतिगत, पूर्वाधार तथा स्थलगत सवै प्रकारका समस्या समाधानमा सहयोग गर्ने पनि उहांले प्रतिवद्धता जनाउनु भयो । 
सो अवसरमा भएको छलफलमा नेपाली उद्यमी व्यवसायीहरूको तर्फबाट नेपालले पैठारी गरेका सामानहरू बन्दरगाहमा जाहाजबाट झार्ने, गोदाममा राख्ने, रेलका डिब्बाहरूको अपर्याप्तता लगायतका कारण नेपाल पठाउने क्रममा विभिन्न प्रकारका समस्याहरू रहेको, त्यसले अनावश्यक खर्च बढाई रहेको, गोदाममा रहेका सामान नेपाल पठाउन अनावश्यक ढिलाई हुंदा ठूलो रकम विलम्व शुल्क वापत तिर्नुपरेको, कतिपय ठाउंमा पूर्वाधार समेत अत्यन्त कमजोर रहेका कारण समस्या उत्पन्न भएको र यसबाट समग्रमा नेपालको व्यवसायिक लागत समेत बढ्न गएकाले समस्या समाधानका लागि सचिव एन. सिभासैलामको ध्यानाकर्षण गराइएको थियो ।
स्मरणीय छ, पारवहनका सम्बन्धमा विद्यमान समस्या र समस्या समाधानतर्फ भैरहेका प्रयासको पृष्ठभूमिमा नेपाल–भारत बीचको पारवहनलाई कसरी सरल र प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले भोलि काठमाडौंमा नेपाल–भारत पारवहन सहजिकरण सम्मेलन (Nepal-India Logistics Summit-2019) आयोजना हुंदैछ । सम्मेलनको सम्माननीय प्रधानमन्त्रीज्यूबाट एक विशेष समारोहका बीच समुद्घाटन हुने कार्यक्रम छ भने सम्मेलनमा दुवै देशका व्यापार तथा वाणिज्य क्षेत्रका विज्ञहरू, सरकारी पदाधिकारीहरूबाट पारवहन, आयात निर्यात लगायतका विषयमा कार्यपत्र प्रस्तुती तथा छलफल हुने कार्यक्रम छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by