Jun 07, 2016
काठमाडौंमा नेपाल भारत व्यापार विषयक अन्तरक्रिया सम्पन्न (२०७३ जेष्ठ २४)

 

नेपाल सरकार वाणिज्य मन्त्रालयसंगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल–भारत उद्योग वाणिज्य संघको संयुक्त कार्यदलले आज नेपाल–भारत वाणिज्य सन्धीको नविकरणको पूर्व तयारी तथा उक्त सन्धीलाई नेपालको हीतमा केन्द्रित गर्न अवलम्बन गरिनुपर्ने बिषयहरुमा केन्द्रित रहेर नेपाल–भारत ब्यापार बिषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो ।

उक्त कार्यक्रममा आयोजक संस्थाहरुका प्रतिनिधिहरुका साथै नेपालका बिभिन्न जिल्ला उद्योग वाणिज्य संघहरु, बस्तुगत संघका प्रतिनिधिहरु लगायत बिशेषज्ञ ब्यक्तिहरुको सहभागिता थियो ।

उक्त कार्यक्रममा नेपाल–भारत वाणिज्य सन्धीको म्याद अक्टोबर २७ बाट समाप्त भई पून ७ बर्षको लागी स्वत: नविकरण हुने प्रावधान रहेको र यदी त्यसमा समयानुकुल संशोधन गर्नुपर्ने भएको तीन महिना अगाडि सोको जानकारी अर्को पक्षलाई गराउनुपर्ने व्यबस्था भएको तथा हाल बिद्यमान नेपाल–भारत बीचको ब्यापारमा देखिएका अप्ठ्याराहरुलाई समाधान गर्न अपनाउनु पर्ने उपायहरु, हाल नेपाल तथा भारत दुबै देशले क्षेत्रीय ब्यापार सम्बन्धी ब्यबस्था साफ्टा तथा बिश्व ब्यापार संगठनको प्रावधान लागू भईसके पछि प्राप्त सुबिधासंग समन्वय हुनेगरी नेपाल–भारत वाणिज्य सन्धीले उपलब्ध गराउन सकिने थप सुबिधाहरु लगायतका बिषयमा सहभागीहरु बीच ब्यापक छलफल भई धारणाहरु प्रस्तुत भयो ।
कार्यक्रममा नेपाल सरकारको तर्फबाट वाणिज्य मन्त्रालयका सहसचिव रबि शंकर सैंजूले आगामी सन्धीे नविकरणमा नेपाली पक्षले ध्यान दिनुपर्ने बिषयहरु तथा हाल देखिएका समस्याहरु तथा अवसरहरुको वारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो भने नेपाली निजी क्षेत्रको तर्फबाट पूर्व वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाले कार्यपत्र प्रस्तुत गर्नुभयो । निजीक्षेत्रको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै पूर्व सचिव ओझाले हालको दुईदेशीय ब्यापार सन्धीमा हाल क्षेत्रीय ब्यापार सन्धी साफ्टाले उपलब्ध गराएको सुबिधा भन्दा संकुचित रहेको उल्लेख गर्दै साफ्टाको तुलनामा हालको नेपाल–भारत वाणिज्य सन्धी नेपालको लागि त्यति धेरै सकारात्मक नभएको भन्दै अव सन्धी नविकरण गर्दा यस सन्धीलाई पनि कमसेकम साफ्टाबाट प्राप्त सुबिधा भन्दा कम नहुने गरी नविकरण गर्नुपर्ने राय ब्यक्त गर्नुभयो । साफ्टा अन्तर्गत नेपालले कृषि बस्तु आयात गर्दा कर लगाउन पाउने प्रावधान रहेको तथा नेपाल–भारत वाणिज्य सन्धी अन्तर्गत कर लगाउन नपाउने ब्यबस्था रहेको उदाहरण दिनुभयो ।

वाणिज्य मन्त्री जयन्त चन्द प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा कार्यपत्रहरु माथि बिज्ञ डा. पोषराज पाण्डेले टिप्पणी गर्नुभयो । टिप्पणीको क्रममा उहांले नेपालको आयातको आकार हरेक बर्ष बढदै गएको प्रति कच्चापदार्थ, मेशीनरीहरु वा अन्य बस्तुहरुको आयात जस्ले नेपालको निर्यात क्षमतालाई बृद्धि गर्ने खालको भए त्यस्तो बस्तुको आयातबाट आतिनु नपर्ने बताउनुभयो भने कोटाका बस्तुको सन्दर्भमा भारतले अफगानिस्तान, भूटान, बंगलादेश लगायतका देशहरुलाई उपलब्ध गराएको सुबिधाको तुलनामा नेपाललाई त्यस्तो सुबिधा उपलब्ध नभएको उल्लेख गर्नुभयो ।

कार्यपत्रहरुमा उल्लेख भएका बिषयहरुले दुई देश बीचको वाणिज्य क्षेत्रमा आगामी दिनमा फलदायी हुने धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपाल र भारत बीचको वाणिज्य सम्बन्ध आजका दिनसम्म आईपुग्नुमा यस्तै प्रकारका गहन छलफल, तथा बिचारहरुको आदान–प्रदानको भूमिका प्रमुख रहेको उल्लेख गर्दै आजको छलफलबाट निस्केका निक्र्यौलबाट पनि आगामी दिनमा दुई देश वीचको वाणिज्य सम्बन्ध अझ प्रगाढ बन्ने, दुबै देशको हीतको लागि सहयोगी सिद्ध हुने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले पनि नेपालको आर्थिक बिकासमा भारत सहयोगी रहेको बिचार ब्यक्त गर्दै नेपालमा भारतका बिभिन्न ३०० वटा भन्दा बढी कम्पनीहरुका औषधीहरु बिक्री हुने गरेको तथा नेपालमा रहेका ४५ वटा उद्योगहरुले आफ्नो उत्पादन भारतीय बजारसम्म आफ्नो पहुंच पुर्याउन नसकेको प्रति संकेत गर्दै आगामी दिनमा भारतले नेपालको आर्थिक बिकासको लागी उपलब्ध गराउने सहयोग अझ बढाउनुका साथै नेपाल जस्तो सानो मुलुकको लागी आफ्नो हृदय खुल्ला गर्नुपर्ने धारण ब्यक्त गर्नुभयो ।

बिचारकै क्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र भारत दुई देशवीचको ब्यापारलाई कसरी अझ प्रभावकारी बनाउने भन्ने बिषयमा बेला बेलामा भारतीय राजदूतज्यूसंग बिचार बिमर्श गर्ने गरेको तथा नेपालको ब्यापारको आकार बृद्धि गर्ने बिषयमा सकारात्मक सुझावहरु नै पाउने गरेको उल्लेख गर्दै अव हुने सन्धी नबिकरणमा पनि सन्धीलाई नेपाली उद्योगी ब्यबसायीहरुको अनुकुल बनाउने सिलसिलामा उहांको साथ सकारात्मक रहने बिचार ब्यक्त गर्नुभयो ।

नेपाल र भारतको ब्यापार सहजीकरणका बिषयमा हरेक कार्यक्रममा एउटै बिषय बारम्बर दोहोरिएर आउने गरेको तर्फ संकेत गर्दै भारतीय राजदूत रन्जित रेले आफ्नो कार्यकालको शुरु देखी सुन्दै आएको तथा त्यस्ता बिषयहरु किन दोहोरिई रहेका छन् त्यो किन समाधान हुन सकेन भन्ने बिषयमा पनि बिचार पुर्याउनुका साथै त्यस्ता समस्या समाधान गर्ने तर्फ कहांनिर कमी कमजोरी वा संवादहीनता वा ग्याप रह्यो त्यतातिर पनि ध्यान पुर्याउन आग्रह गर्नुभयो । ब्यापार घाटाका बिषयमा राजदूत रेले भन्नुभयो अहिले जुन परिमाणको ब्यापार नेपालको भारतसंग रहेको छ त्यस्लाई सन २०२० सम्ममा दोब्बर बनाउने लक्ष्य राखेर अघि बढौं, कमी कमजोरीहरु सच्याउंदै अघि बढ्ने हो भने ब्यापार घाटा बिस्तारै कम हुंदै जाने बताउनुभयो । त्यसका लागी निश्चित योजना, नीतिहरु बनाउन आवश्यक रहेको पनि उहांले जनाउनुभयो ।

कार्यक्रमको सभापतित्व गर्नुभएका वाणिज्य सचिव ङईन्द्र प्रसाद उपाध्यायले नेपाल–भारत वाणिज्य सन्धीको नविकरण तथा नेपाल–भारत अन्तर सरकारी कमिटीको बैठकको तयारी सिलसिलामा देशका बिभिन्न स्थानहरुमा सम्बन्धित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुसंग अन्तरक्रिया गरी सकेको तथा यहां आजको कार्यक्रममा पनि झण्डै सोही बमोजिमका सवालहरु ब्यक्त भएको भन्दै आगामी वाणिज्य सन्धी नविकरणको क्रममा यी बिषयहरुलाई यथोचित स्थान दिई अघि बढ्ने बचनबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल-भारत उद्योग वाणिज्य संघका अध्यक्ष सौर्य शमशेर जड्डबहादुर राणाले नेपाली निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल–भारत उद्योग वाणिज्य संघको संयुक्त कार्यदलले अन्तरसरकारी समिति (आईजीसी)को लागी बिभिन्न १० वटा सूझावहरुलाई प्राथमिकताक्रम तोकेर वाणिज्य मन्त्रालयमा बुझाई सकेको जानकारी गराउन्दै कार्यक्रममा उठेका बिभिन्न समसामयिक बिषयहरुलाई वाणिज्य सन्धीको नविकरणको क्रममा त्यस्को उचित सम्बोधन गरिनेछ भन्ने आशा ब्यक्त गर्नुभयो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by