Oct 11, 2021
                        
                        
                        
                        
                        
                            
                        
                        
                        परिचय
 
लघु, घरेलु, साना तथा मझौला उद्योग (एमएसएमइ) भन्नाले सिमित स्रोतबाट संचालित तर अर्थतन्त्रलाई चलायमान बनाउने उद्यम हुन् । एमएसएमईहरुलाई पूँजी लगानी, वार्षिक बिक्री, सम्पत्ति, कर्मचारी आदिका आधारमा परिभाषित गर्ने गरेको पाईन्छ ।
 
बिशेष गरी उदीयमान र विकासशील राष्ट्रहरुका लागि एमएसएमईको भूमिका अति महत्वपूर्ण मानिएको छ । विश्व बैंकले गरेको एक अध्ययनका अनुसार औपचारिक रुपमा (दर्ता भएको) घरेलु तथा साना उद्योगहरूले कुल रोजगारीको ६० प्रतिशत, नयाँ औपचारिक रोजगारी सृजनाको ८० प्रतिशत र उदीयमान अर्थतन्त्रमा राष्ट्रिय आय (कूल ग्राहस्थ उत्पादन) को ४० प्रतिशतसम्म योगदान गर्दछ । नेपालको अर्थतन्त्रमा यस्ता उद्योगले करिब २२ प्रतिशत योगदान पुर्याएको र २० लाखलाई रोजगारी दिइरहेको आंकलन गरिएको छ ।
 
नेपालको औद्योगिक व्यवसाय ऐन, २०७६ ले लघु, घरेलु, साना एवं मझौला उद्योगलाई यस प्रकार परिभाषित गरेको छः
 
१) लघु उद्योगः घर जग्गा बाहेक बढीमा २० लाख रूपैयाँसम्म स्थीर पुँजी रहेको, उद्यमी स्वयं उद्योगको सञ्चालन र व्यवस्थापनमा संलग्न रहेको, उद्यमीसहित बढीमा नौ जनासम्म कामदार रहेको, वार्षिक कारोबार १ करोड रुपैयाँभन्दा कम रहेको; इञ्जिन, उपकरण वा मेशिनमा खपत हुने विद्युतीय ऊर्जा, ईन्धन वा अन्य तेल इञ्जिनको क्षमता २० किलोवाट वा सो भन्दा कम रहेको । 
२) घरेलु उद्योगः परम्परागत सीप र प्रविधिमा आधारित, श्रममूलक र सीप वा स्थानीय कच्चा पदार्थ एवं स्थानीय प्रविधि, कला तथा संस्कृतिमा आधारित, ईञ्जिन उपकरण वा मेशिनको प्रयोग गरेको भएमा बढीमा ५० किलोवाटसम्म विद्युत ऊर्जा प्रयोग गरेको ।
३) साना उद्योगः लघु उद्यम र घरेलु उद्यम वाहेकको १५ करोड रुपैयाँसम्म स्थीर पुँजी भएको उद्योग ।
४) मझौला उद्योगः १५ करोड रुपैयाँभन्दा वढी ५० करोडसम्म स्थीर पुँजी भएको उद्योग ।