Jan 09, 2025
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्न सकेमा यसले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताउनु भएको छ ।
काठमाडौंमा बिहीवार आयोजित नेशनल इन्स्योरेन्स डिस्कोर्षमा बोल्दै उहाँले बीमाले देशको अर्थतन्त्रमा पुँजी निर्माण गर्न ठूलो भूमिका खेल्ने बताउनु भयो ।
अर्थतन्त्र चलायमान हुन अर्थतन्त्रका सबै क्षेत्र चलायमान हुन आवस्यक रहेको बताउदै उहाँले बीमाको पूजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्ने बताउनु भयो ।
" बैंकमा पर्याप्त तरलता हुँदैमा अर्थतन्त्र चलायमान हुने रहेनछ भन्ने पछिल्लो आर्थिक अवस्थाले देखाएको छ । यसको लागि अर्थतन्त्रका सबै क्षेत्रको उत्तिकै योगदान रहन्छ । सबै क्षेत्र चलायमान हुन जरुरी छ। " उहाँले भन्नु भयो ।
अध्यक्ष ढकालले बीमा क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब २ लाख भन्दा बढिले रोजगारी सिर्जना गरेको भन्दै यसको विकास र विस्तारले थप रोजगारी सिर्जना हुने धारणा राख्नु भयो ।
यस्तै उहाँले बिमाको प्रीमियम बढी भएको , बीमा भुक्तानीमा समस्याको गुनासो आउने गरेको भन्दै यसको सुधारका लागि पहल गर्न नियामक निकायलाई आग्रह गर्नु भयो ।
अध्यक्ष ढकालले नियामक निकायलाई बीमा कम्पनीहरुको माइक्रो म्यानेजमेन्ट गर्नु भन्दा कम्पनीलाई नै स्वयम जिम्मेवार बनाउन सके प्रभावकारी हुने सुझाव समेत दिनुभयो ।
कूल जनसंख्याको ४४ प्रतिशतमा पुगेको विमाको पहँच विस्तार आवश्यक रहेको भन्दै अध्यक्ष ढकालले वीमाको दायरा बढाउन बीमाको महत्वबारे जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।