Jun 11, 2017
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं अधिवेशनलाई  महासंघको रोजगारदाता परिषद्का सभापति ढकालबाट संवोधन (मिति २०७४/०२/२६)
स्वीटजरलैण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं अधिवेशनलाई नेपालको रोजगारदाता संगठनको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकालले आज संवोधन गर्नुभयो । उक्त अधिवेशनमा भाग लिन सभापति ढकाल हाल जेनेभामा हुनुहुन्छ । उक्त अधिवेशनमा महासंघको रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्यले समेत भाग लिइरहनु भएको छ । सम्मेलन आगामी जुन १६ तारिखसम्म संचालन हुनेछ । 

अधिवेशनलाई संवोधन गर्नुहुदै श्री ढकालले अन्तर्राष्ट्रिय श्रम संगठनले नेपालमा आफनो कार्यकालको ५० औं वर्ष पूरा गरेको आवसरमा ILO का महानिर्देशक श्री गाय राईडर (Guy Ryder) को गत डिसेम्बरमा भएको नेपाल भ्रमणवाट नेपालको निजी क्षेत्र उत्साहित हुनुका साथै अन्तर्राष्ट्रिय श्रम संगठनसँग नेपालको वलियो साझेदारी र सहकार्य प्रतिविम्वित भएको कुरा वताउनु भयो । साथै उहाँले नेपाल राजनैतिक र सामाजिक क्षेत्रको विकासमा अघि वढि रहेको चर्चा गर्दै नयाँ संविधान जारीसँगै मुलुक संघीय शासान प्रणली र राजनीतिक स्यायित्व तर्फ उन्मूख भएको वताउनु भयो ।

श्री ढकालले परिवर्तित राजनीतिक वातावरणसँगै राजनीतिक र आर्थिक क्षेत्रमा महिला सहभागिता बढी रहेको प्रसंग उल्लेख गर्दै नेपाल उद्योग वाणिज्य महासंघको ५० वर्षको इतिहासमा पहिलो पटक महिलाले अध्यक्षको रुपमा नेतृत्व सम्हालेको र मुलुकमा स्थानीय तहदेखि राष्ट्रको सर्वोच्च पद राष्ट्रपति, संसदको सभामुख एवं सर्वोच्च अदालतको प्रधान न्यायधीश पदमा समेत महिलाले नेतृत्व लिएको कुरा उल्लेख गर्नु भयो ।

संवोधनका क्रममा श्री ढकालले अहिलेको विश्वको साझा चुनौती भनेकै दीगो समावेशी आर्थिक विकास, गरिवी निवारण, रोजगार सृजना र वातावरण परिवर्तनबाट परेको असरको न्यूनिकरण गर्नु पर्ने कुरामा जोड दिदै आधुनिक प्रविधिको प्रयोगले श्रम बजारमा नयाँ शीपयुक्त जनशक्तिको माग बढ्दै गएको कुरा उल्लेख गर्नु भयो ।

सभापति ढकालले पछिल्लो पटक नेपालको गरिवी दर आशातित रुपमा घटेको उल्लेख गर्दै नेपालले सन् २०२२ सम्म आफूलाई विकासोन्मुख देशमा स्तरोन्नती गर्ने निकै चुनौतीपूर्ण लक्ष्यका साथ अगाडी बढेको र यसका लागि अधिक लगानी आकर्षण गरी उच्च आर्थिक वृद्धि र बढी भन्दा बढी रोजगारीका अवसर सृजना गर्ने उद्देश्य अनुरुप नेपालको निजी क्षेत्र सरकारसँग सहकार्यका साथ अगाडी बढीरहेको कुरामा जोड दिनु भयो ।

हालका वर्षहरुमा नेपालको श्रम सम्बन्धमा निकै सुधार आएका,े रोजगारदाता र ट्रेड युनियनहरू बीच सौहाद्रपूर्ण वातावरण रहेको उल्लेख गर्दै दुवै पक्षको सहकार्यमा श्रम ऐन सहित सामाजिक सुरक्षा ऐनको मस्यौदा तयार भएको बताउनु भयो । श्रम ऐन र सामाजिक सुरक्ष ऐन संसदबाट छिट्टै पारित हुने विश्वास व्यक्त  गर्दै यसवाट नेपालको श्रम सम्बन्ध सुधारमा नयाँ आयाम थपिने उल्लेख गर्नु भयो । 

सोही अवसरमा उपाध्यक्ष ढकालले औद्योगिक विकासका अतिरिक्त असल औद्योगिक सम्बन्ध विकासका विविध पक्षहरु बारेमा  सम्मेलनका सहभागी विश्वका विभिन्न मुलुकका प्रतिनिधिहरुसँग विस्तृत विचार विमर्श गर्नु हुने कार्यक्रम छ । साथै उहांले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र अन्तर्राष्ट्रिय रोजगारदाता संगठन (IOE) का पदाधिकारीहरुसँग समेत भेटघाट एवं छलफल गर्नु हुनेछ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by