May 15, 2017
जापानका लागि नवनियुक्त नेपाली राजदुत समक्ष महासंघ सचिवालयमा भेटवार्ता (२०७४/०२/०१)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघका पदाधिकारीहरु र जापानका लागि नव नियुक्त नेपाली राजदुत प्रतिभा राणा बीच महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भयो । आफ्नो कार्यभार सम्हाल्न जापान जानु अघि नेपाली उद्यमी व्यवसायीहरुसंग आज महासंघ सचिवालयमा आयोजित भेटवार्तामा महासंघका तर्फबाट राजदूत राणा समक्ष नेपाल जापान बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, नेपालमा जापानी लगानी एवं प्रविधि आकर्षण सहित आर्थिक एजेण्डालाई मुख्य प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइयो । 

जापान सरकारको सहयोगमा विगतमा सञ्चालित केहि महत्वपूर्ण कार्यक्रमहरुको पुन: संचालन, थप नयां कार्यक्रमहरुको अध्ययन, मानव संसाधन विकास, सीपमूलक तालिम कार्यक्रमहरुको संचालन लगायतमा नव नियुक्त राजदुतबाट विशेष पहलका लागि आग्रह गरियो । त्यसैगरि केहि प्रमुख नेपाली उत्पादनहरुको जापानमा पहिचान एवं प्रवद्र्धन, जापानी लगानीलाई नेपालको पूर्वाधार विकास एवं उत्पादनमुलक क्षेत्रमा आकर्षण, जापानमा नेपाली सिने महोत्सव आयोजना लगायतमा राजदुताबासबाट नेपाली निजी क्षेत्रले निकै ठूलो सहयोगको अपेक्षा गरेको पनि सो अवसरमा बताइयो ।

महासंघका विशिष्ट सदस्य एवं पुर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ र चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समिति सदस्यहरु भरतराज आचार्य, प्रवलजंग पाण्डे, आकाश अधिकारी, अजय मुडबरी र महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ उपस्थित रहनुभएको सो बैठकमा नव नियुक्त राजदुत राणाको महासंघ सचिवालयमा स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष राणाले नेपाल र जापान बीचको आर्थिक सम्बन्धलाई थप मजबुद बनाउन आर्थिक एजेण्डालाई मुख्य प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिनुभयो । साथै अध्यक्ष राणाले आपसी सम्बन्ध विस्तारका लागि व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान नेपालमा लगानीका सम्भावित क्षेत्रहरुको बारेमा जानकारी गराउने तर्फ महासंघले निरन्तर सहयोग गरिरहने र राजदुतावाससंग नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाउनुभयो । 

त्यस अवसरमा नव नियुक्त राजदुत राणाले महासंघको तर्फबाट प्राप्त सुझावहरु आफ्नालागि निकै महत्वपूर्ण रहेको बताउनुहुंदै अहिलेको युग नै “व्यवसायिक युग” भएकाले आफुले आफ्नो कार्यकालमा आर्थिक कुटनीतिलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने विश्वास दिलाउनुभयो । उहांले आफूले यसकालागि महासंघबाट निरन्तर सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by