Mar 17, 2017
महासंघका पदाधिकारी र चीनको वाणिज्य मन्त्रालयका अधिकारीहरु बीच महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता (२०७३/१२/४)

नेपाल उद्योग वाणिज्य महासंघद्धारा आयोजित नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा भाग लिन आएको चीनको वाणिज्य मन्त्रालय अन्तरगतको व्यापार विभागका निर्देशक चु शुहाई (Zhu Shuhai, Director, Trade Development Bureau, Ministry of Commerce, China) को नेतृत्वमा आएको चिनिया उद्यमी व्यवसायीहरुको एक प्रतिनिधिमण्डले महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठलाई आज महासंघ सचिवालयमा भेटी द्विपक्षीय आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, मेला महोत्सवमा सहभागिता लगायतका विषयमा छलफल भेट गर्यो ।

कार्यक्रममा चिनिया प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका उपाध्यक्ष्ँ श्रेष्ठले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा चीनको महत्वपूर्ण सहभागिताबाट महासंघ अत्यन्त उत्साहित भएको बताउनुभयो  । मेलामा चीनको नियमित सहभागिताबाट आपसी सहकार्य थप मजवुद हुनुको साथै आर्थिक सम्बन्ध विस्तार, सहकार्यका क्षेत्र पहिचना, संयुक्त लगानी विस्तार, व्यापार आदान प्रदानमा देखा परेका समस्या समाधानमा सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो । चीनले नेपाली उत्पादनहरु चीन आयातमा दिएको भंसार रहित सुविधालाई परिणामदायी बनाउन प्रक्रियागत सरलीकरणमा सहयोग गर्न आग्रह गर्नुभयो । 

साथै उहांले महासंघका तर्फबाट चीनमा आयोजना भएका मेला महोत्सवमा पनि नियमित रुपमा सहभागिता जनाउंदै आएको जानकारी गराउंदै चीनले अघि बढाएको एक क्षेत्र एक रोड (One Belt One Road)  को  अवधारणबाट नेपालले पनि लाभ लिने बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले चीनसंग आर्थिक, व्यावसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी, पर्यटन, जडिबुटी, सूचना तथा प्रविधि, व्यवसायिक कृषि विकास, शिक्षा लगायतका क्षेत्रमा सहकार्यका लागि प्रस्ताव समेत राख्नुभयो । साथै श्रेष्ठले नेपालमा सुविधा सम्पन्न प्रदर्शनी स्थल निमार्णमा सहयोग गर्न समेत आग्रह गर्नुभयो । साथै उपाध्यक्ष श्रेष्ठले नेपालका प्रधानमन्त्रीबाट छिट्टै हुन लागेको चीनको भ्रमण आपसी हितका लागि कोशेढुंगा हुने समेत अपेक्षा गर्नुभयो । 

कार्यक्रममा चीनका तर्फबाट निर्देशक चु शुहाई (Zhu Shuhai) ले  महासंघद्धारा आयोजित नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा (NITF) नियमित रुपमा सहभागी हुन पाउँदा खुशी व्यक्त गर्नुभयो । महासंघले व्यवसायिक कृषि विकास लगायतका क्षेत्रमा सहयोग गर्न राखेको प्रस्तावलाई सहयोग गर्ने विश्वास समेत दिलाउनु भयो । आपसी सहकार्यका लागि आफूहरु महासंघसंग नियमित सम्पर्कमा रहने सहकार्यका क्षेत्र पहिचान, नीतिगत व्यवस्था सम्बन्धी जानकारी आदान प्रदान हुनुपर्नेमा पनि उहांले जोड दिनुभयो । 

निर्देशक शुहाईले चीनले आफूसंगै आफ्ना छिमेकी देशहरुको पनि विकास गर्ने चाहना अनुरुप एक क्षेत्र एक रोडको अवधारणा अगाडी बढाएको स्पष्ट पार्नुभयो । साथै सो अवसरमा प्रतिनिधिमण्डलबाट चीनको कान्सु (Gansu) प्रान्तमा आगामी जुलाईमा हुने मेलामा भाग लिन महासंघलाई निमन्त्रणा समेत दिइएको थियो । 

कार्यक्रममा मेला समितिका सह–सभापति राष्ट्र भुषण चाकुवजी, महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ, सहायक निर्देशकद्वय अरुण श्रेष्ठ र विदुरचन्द्र लामिछानेको उपस्थिति थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by