May 21, 2019
महासंघका अध्यक्ष र आईएलओका सहायक महानिर्देशक  बीच सिष्टाचार भेटवार्ता  (२०७६/०२/०७)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासंग नेपाल भ्रमणमा रहनु भएकी अन्तराष्ट्रिय श्रम संगठन (ILO) का सहायक महानिर्देशक एवं एशिया प्रशान्त क्षेत्रिय निर्देशक सुश्री तोमोको निसिमोतो (Ms Tomoko Nishimoto, ILO Assistant Director General and Regional Director for Asia and Pacific) ले आज महासंघ सचिवालयमा शिष्टाचार भेटवार्ता गर्नु भयो ।

सो अवसरमा महासंघका अध्यक्ष राणाले क्षेत्रिय निर्देशक निसिमोतोको स्वागत गर्नुहुंदै श्रम सम्बन्धमा आएको सुधारले नेपालमा लगानीको वातावरण बनेको जानकारी गराउनु भयो । नयां श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको पहल भइरहेको उल्लेख गर्दै अध्यक्ष राणाले महासंघले श्रम क्षेत्रको सुधारका साथै मुलुकको आर्थिक विकास र रोजगारी सृजना गर्न सरकार र ट्रेड यूनियनसंगको सहकार्य र संवादलाई महत्व दिई काम गरिरहेको बताउनुहुँदै आईएलओ मार्फत थप कार्यक्रमका साथै सहयोगको आग्रह गर्नुभयो ।

उक्त भेटवार्ताका अवसरमा महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्र प्रसाद ढकालले रोजगारदाता परिषदले आइएलओको सहयोगमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना वारे जानकारी दिंदै सातवटै प्रदेशमा कार्यक्रम संचालन गरिरहेको र प्रदेशमा श्रम सम्बन्धी थप कार्यक्रम गर्न प्रदेश कार्यालयको क्षमता विकास आवश्यक भएकोले यसतर्फ आइएलओको सहयोग महत्वपूर्ण हुने बताउनु भयो ।



सो अवसरमा सहायक महानिर्देशक निसिमोतोले नेपालको श्रम सम्बन्धको स्थिति र आर्थिक एवं सामाजिक विकास तर्फ भईरहेका प्रयास वारे जिज्ञासा राख्नहुँदै विश्वमा द्रुत गतिमा भएको परिवर्तनलाई आत्मसाथ गर्दै निजी क्षेत्रले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिनुभयो । साथै श्रम वजारको आवश्यकता अनुसार व्यवसायिक सीप र ज्ञान भएको जनशक्त्तिको उत्पादनमा जोड दिनुपर्ने उहाँको सुझाव थियो । 

भेटवार्तामा आइएलओ नेपाल कार्यालयका देशिय निर्देशक Richard Howard, महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, आइएलओका वरिष्ठ कार्यक्रम अधिकृत सलोमोन राजवंशी, राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश शर्माको  उपस्थिति थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by