May 02, 2019
सार्कका व्यवसायिक नेताहरू काठमाडौंमा सार्क उवासंघको बैठक शुरू, क्षेत्रीय समृद्धिमा जोड (२०७६/०१/१९)

सार्क उद्योग वाणिज्य संघको ७७ औं बैठक काठमाडौंमा शुरु भएको छ । बैठकको प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले आज एक समारोहका बीच  चन्द्रागिरीमा समुद्घाटन गर्नुभयो । बैठक नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा सार्क उवासंघद्वारा आयोजना गरिएको हो । 



बैठकलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि सभामुख महराले क्षेत्रीय रूपमा आर्थिक समृद्धिका लागि कार्यरत संस्था सार्क उद्योग वाणिज्य संघका गतिविधिले सिंगो दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका उद्देश्यहरू हासिल गर्न सहयोग पुर्‍याउने विश्वास प्रकट गर्नुभयो  ।  

दक्षिण एशियाली राष्ट्रहरू बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी आकर्षणका माध्यमबाट यस क्षेत्रको समृद्धिका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुहुंदै प्रमुख अतिथि महराले संघको बैठक यस दिशामा पूर्णरूपमा सफल हुने विश्वास आफूले लिएको बताउनु भयो ।  साथै उहाँले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई मजवूद पार्दै यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुधारमा एकिकृत प्रयासको खाँचो समेत औल्याउनु भयो । 



समुद्घाटन कार्यक्रमलाई संवोधन गर्नुहुंदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले दक्षिण एशियामा नेपाल लगानीका लागि प्रमुख आकर्षणको थलो बन्दै गएको बताउनु भयो । हालै सम्पन्न लगानी सम्मेलनबाट सार्क लगायत विश्वमै नेपालमा बन्दै गएको लगानीको वातावरणका विषयमा संदेश गएको उहाँले बताउनु भयो । अध्यक्ष राणाले सार्क क्षेत्रमा आपसी सम्बन्ध विस्तार मार्फत यस क्षेत्रको समृद्धि हासिल गर्ने कार्यमा सार्क उवासंघको नेतृत्वदायी भूमिकाको अपेक्षा पनि गर्नुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत मझार जोभेद (H.E. MAZHAR JAVED, AMBASSADOR OF PAKISTAN TO NEPAL) ले सार्कलाई समृद्ध क्षेत्र र सुखी जनता अभियानमा अगाडी बढाउनु पर्ने र यसको नेतृत्व सार्क उवासंघ जस्ता संस्थाले लिनुपर्ने सुझाव राख्दै कार्यक्रमको पूर्ण सफलताको कामना गर्नुभयो ।

सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रूवान इदरिसिंघे (Mr. Ruwan Edirisinghe, President SAARC CCI) ले सार्क उवासंघको बैठक काठमाडौंमा आयोजना गर्न पाएकोमा खुशी प्रकट गर्नुभयो । बैठक आयोजना गर्न महासंघबाट पाएको सहयोगको लागि आभार समेत प्रकट गर्नुभयो । अध्यक्ष रूवान इदरिसिंघेले सहकार्य, केनेक्टीभिटी, स्वतन्त्र आवात जावत यस क्षेत्रको आर्थिक समृद्धि हासिल गर्ने आधार भएकाले यसका लागि सार्क सदस्य राष्ट्रहरू बीच सामूहिक प्रयासमा जोड दिनु भयो । 



सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष, महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले आपसी सहकार्यका क्षेत्रहरू पहिल्याउंदै अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो । उपाध्यक्ष ढकालले यस क्षेत्रमा पूर्वाधार निर्माण, उर्जा, प्राविधिक विकास, सूचना प्रविधि, पर्यटन लगायतका क्षेत्रमा आपसी सहकार्य  र संयुक्त लगानीको खाँचो औल्याउनु भयो । साथै उहाँले बाह्य लगानी आकर्षणका लागि नेपालले गरेका नीतिगत सुधार लगायतका विषयमा समेत प्रष्ट पार्नुभयो । 

सार्क उवासंघका पूर्व अध्यक्ष दासो उगेन दोर्जी (Mr. Dasho Ugen Dorge, Former President, SCCI) र संघका वरिष्ठ उपाध्यक्ष इफ्तिखार अलि मलिक (Mr. Iftikhar Ali Malik, Senior, Vice President, SCCI) ले आपसी संवाद र छलफलका माध्यमबाट यस क्षेत्रको आर्थिक विकास र समृद्धिका एजेण्डालाई अगाडी बढाउनु पर्नेमा जोड दिनुहुंदै सार्क उवासंघले क्षेत्रीय विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने धारणा राख्नु भयो । 



समुद्घाटन कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, सार्क उवासंघका पदाधिकारीहरू, कार्य समिति सदस्यहरू, साधारण सदस्यहरू, नेपाल लगायत सार्क क्षेत्रका उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो । संघको बैठक भोलीसम्म चल्ने छ । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by