Apr 01, 2019
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको औपचारिक समापन (२०७५/१२/१८)
सन् २०२० को मार्चमा नवौं संस्करण आयोजना गर्ने घोषणा सहित नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair-2019) को आठौं सँस्करण औपचारिक रूपमा आज सकिएको छ । चैत्र १४ गते सम्माननीय प्रधानमन्त्रीज्यूबाट एक विशेष समारोहका बीच समुद्घाटन भई शुरू भएको मेला ५ दिनसम्म चलेको थियो । मेलाको १ लाख २५ हजारले अवलोकन गरेका छन् । मेलामा प्रत्यक्ष अप्रत्यक्ष गरी करिव १६ करोडको कारोवार भएको अनुमान छ । मेला समुद्घाटन समारोहलाई सम्माननीय प्रधानमन्त्री, माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीले समुद्घाटन मन्तव्य दिनु भएको थियो । 

मेला नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह-आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा आयोजना गरिएको हो । मेलामा चीनबाट ९०, वंगलादेशबाट ४०, भारतबाट १०, पाकिस्तानबाट २ र नेपालबाट ८३ वटा स्टलहरूबाट नेपाल सहित ती देशका उत्पादनहरू, प्रविधि तथा सेवाहरूको प्रर्दशनी गरिएको थियो । 



मेलाको चीनबाट ९२ वटा कम्पनीका लगानीकर्ताहरूले अवलोकन गरेका थिए । मेलाको सार्क क्षेत्रबाट आएको प्रतिनिधिमण्डलहरुले समेत अवलोकन गरेका थिए ।  मेला अवधिमा नेपाली र चिनियाँ व्यवसायीहरू बीच कृषि क्षेक्रमा संयुत्त लगानीका लागि विभिन्न ९ वटा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सहमतीपत्रमा हस्ताक्षर भएको छ । साथै दुवै देश बीच व्यवसायिक भेटवार्ता समेत सम्पन्न भएको छ । मेलाको नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरुले अवलोकन गर्नुका साथै नेपाली निर्यातयोग्य वस्तुहरुको खरिदमा चासो दिनु भएको थियो ।

माननीय मन्त्रीहरू, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारीहरू, उद्यमी व्यवसायीहरू, कलेजका व्यवस्थापन क्षेत्रमा अध्ययनरत विद्यार्थीहरू, सार्क क्षेत्रका लगानीकर्ता, व्यवसायीहरूले मेलाको अवलोकन गरेका छन् । महासंघले मेलालाई राष्ट्रिय अन्तराष्ट्रिय रूपमा स्थापित बनाउन क्यालेण्डर इभेन्टको रूपमा आयोजना गर्दै आएको छ । यो आठौं संस्करण हो । विशेष गरी मेला महोत्सव आयोजनाको मुख्य थलो भृकुटीमण्डपको पूर्वाधार जीर्ण भएकाले यसमा सुधारमात्र गर्न सकेपनि मेला महोत्सव आयोजनालाई अझ स्तरीय बनाउन मद्दत पुग्ने महशुस महासंघले गरेको छ ।     

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू प्रमुख आकर्षणका रुपमा रहेका थिए । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै स्टलहरू रहेका छन् । 

महासंघले मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रूपमा हेरेको छ । राष्ट्रिय अन्तराष्ट्रियतहमा एउटा विशिष्ठ पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुगेको विश्वास महासंघको छ ।

प्रमुख आतिथ्यता सहित मेलाको समुदघाटनका साथ निजी क्षेत्रलाई प्रेरणादायी संवोधन भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूमा महासंघ हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । साथै मेला समुद्घाटन समारोहमा हाम्रो निमन्त्रणालाई स्वीकार गरि संवोधन समेत भई निजी क्षेत्रलाई हौसला प्रदान भएकोमा माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीज्यूमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं । मेलालाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा सहयोग गर्ने नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, ललितपुर उद्योग वाणिज्य संघ, नेपाल हस्तकला महासंघ, चन्द्रागिरी हिल्स, ग्लोबल आइएमई बैंक, चाइना एक्जिविशन एण्ड फोरम कम्पनी लि., न्यूटेक्सलाई महासंघ हार्दिक धन्यवाद दिन चाहान्छ । साथै अफिसियल आइएसपी मर्कन्टायल कम्पनी प्रा.लि., अफिसियल इन्स्योरेन्स अजोड, अफिसियल कार्गो गणेश एयर कार्गो प्रा.लि., सबै संचार माध्यमहरू, डीएन इभेन्टस् र वीन मेडियालाई पनि मेला आयोजनामा सहयोग गरेकोमा महासंघले धन्यवाद ज्ञापन गरेको छ । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by