Mar 30, 2019
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा अवलोकनकर्ताहरूको चाप, तीन दिनमा ५५ हजारले मेला अवलोकन गरे

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair 2019) को आज तेस्रो दिन भृकुटीमण्डपमा मेला अवलोकन गर्नेहरुको उच्च सहभागिता रह्यो । मेलाको आजमात्र २० हजारले अवलोकन गरे भने यस बीचमा ५० हजार भन्दा बढीले मेला अवलोकन गरेका छन् । मेलाको गत विहीवार सम्माननीय प्रधानमन्त्रीले एक विशेष समारोहका बीच समुद्घाटन गर्नुभएको थियो ।

मेला नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह-आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा आयोजना गरिएको हो । मेलामा चीनबाट ९०, वंगलादेशबाट ४०, भारतबाट १०, पाकिस्तानबाट २ र नेपालबाट ८३ वटा स्टलहरूबाट नेपाल सहित ती देशका उत्पादनहरू, प्रविधि तथा सेवाहरूको प्रर्दशनी गरिएको छ ।

मेलामा भागलिन चीनबाट ९२ वटा कम्पनीका लगानीकर्ताहरू नेपाल भ्रमणमा आएका छन् भने हिजो शुक्रवार चीनिया लगानीकर्ताहरूसँग महासंघले काठमाडौंमा व्यवसायिक भेटवार्ताको आयोजना गरयो । व्यवसायिक भेटवार्तामा नेपाली र चिनियाँ व्यवसायीहरू बीच संयुक्त लगानीका लागि विभिन्न ८ वटा क्षेत्रमा सहमतीपत्रमा हस्ताक्षर भएको छ ।

माननीय मन्त्रीहरू, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारीहरू, उद्यमी व्यवसायीहरू, कलेजका व्यवस्थापन क्षेत्रमा अध्ययनरत विद्यार्थीहरू, सार्क क्षेत्रका लगानीकर्ता, व्यवसायीहरूले मेलाको अवलोकन गरेका छन् । महासंघले मेलालाई राष्ट्रिय अन्तराष्ट्रिय रूपमा स्थापित बनाउन क्यालेण्डर इभेन्टको रूपमा आयोजना गर्दै आएको छ । यो आठौं संस्करण हो ।    



नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू प्रमुख आकर्षणका रुपमा रहेको छन् । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै स्टलहरू रहेका छन् ।

महासंघले मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रूपमा हेरेको छ । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिव १ लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

राष्ट्रिय अन्तराष्ट्रियतहमा एउटा विशिष्ठ पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्‍याउने आशा एवं विश्वास महासंघले लिएको छ ।

मेलालाई चन्द्रागिरी हिल्स, ग्लोबल आइएमई बैंक, चाइना एक्जिविशन एण्ड फोरम कम्पनी लि., न्यूटेक्सको सहयोग रहेको छ । मेलाको अफिसियल आइएसपी मर्कन्टायल कम्पनी प्रा.लि., अफिसियल इन्स्योरेन्स अजोड, अफिसियल कार्गो गणेश एयर कार्गो प्रा.लि. रहेका छन् ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by