Mar 19, 2019
करदाता शिक्षा सञ्चालन सम्बन्धी आन्तरिक राजस्व विभाग र महासंघ बीच समझदारीपत्रमा हस्ताक्षर (२०७५/१२/५)

साना तथा मझौला करदाताहरूलाई कर सम्बन्धी शिक्षा प्रदान गरी कर कानूनले निर्दिष्ट गरेका व्यवस्थाहरू परिपालना गर्न, कर फारामहरू भर्दा हुने त्रुटिहरु कम गर्न तथा कर सहभागितामा व्यवसायीहरूको अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र आन्तरिक राजस्व विभाग बीच आज एक कार्यक्रम बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

महासंघमा संचालित तीन दिने कर तालीमको औपचारिक समापनसँगै आयोजित कार्यक्रममा समझदारीपत्रमा महासंघका अध्यक्ष भवानी राणा र विभागका महानिर्देशक विष्णु प्रसाद नेपालले हस्ताक्षर गर्नुभयो । 
 


समझदारीपत्रमा उल्लेख भए अनुसार करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न विभाग र महासंघको आपसी समझदारीमा जिल्लाको माग, करदाताहरूको संख्या तथा प्रादेशिक सन्तुलनका आधारमा जिल्ला छनोट गरिने छ । समझदारी अनुसार आ.व. २०७५।७६ को लागि सुनसरी, उदयपुर, सप्तरी, चितवन, स्याजा, नवलपरासी र काठमाडौं जिल्लालाई छनोट गरिएको छ । 

मूल्य अभिवृद्धि करमा अनिवार्य दर्ता हुनु पर्ने, व्यवसाय तथा रू. पचास लाख भन्दा बढी कारोबार भएका करदाता व्यवसायीहरूलाई आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क सम्बन्धी ३ दिने तालीम प्रदान गरिने र तालीममा २५–३५ जनासम्म करदाताहरूलाई समावेश गरिनेछ । नमुना जिल्लाको प्रभावकारिताको आधारमा अन्य जिल्लाहरूमा समेत करदाता शिक्षा कार्यक्रम विस्तार गरिने कुरा समझादारीपत्रमा उल्लेख गरिएको छ । 

कार्यक्रममा महासंघका अध्यक्ष राणा, विभागमा महानिर्देशक नेपालले समझदारीपत्रको भावना अनुसार सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, कर तथा राजस्व समितिका सभापति अशोककुमार तोदी सहितको उपस्थिति रहेको थियो ।    

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by