Mar 20, 2019
महिला, व्यवसाय र मानव अधिकार सम्बन्धी क्षेक्रीय कार्यत्रममा महासंघको महिला उद्यमी समितिकी सभापति श्रेष्ठको सहभागिता (२०७५/१२/०६)

नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले मानव अधिकारको उच्चतम ख्याल गर्दै दक्षिण एशिया क्षेत्रमा व्यवसायिक प्रवर्द्धन र विशेषगरी महिला उद्यमशीलता विकासमा सामूहिक रूपमा लाग्नु पर्नेमा जोड दिनु भएको छ । 

उद्यमशीलताको विकास मार्फत महिलाहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा समेट्न सकियो भने दक्षिण एशिया क्षेत्रमा महिला हिंसा र मानव अधिकार हननका घटनाहरू समेत कम हुन गई यस क्षेत्रलेनै आर्थिक समृद्धि हासिल गर्ने सुझाव उहाँको थियो ।   

यूएनडीपी र यूएन वोर्किंङ ग्रुप (UNDP and UN Working Group on Business and Human Rights) ले भारतको नयाँ दिल्लीमा आयोजना गरेको यूएन साऊथ एशिया अन विजनेश एण्ड ह्यूमन राइटस (UN South Asia Forum on Business and Human Rights) विषयक क्षेक्रीय कार्यत्रमको महिला, व्यवसाय र मानव अधिकार (Women, Business and Human Rights) विषयक शत्रलाई हालै संवोधन गर्नुहुँदै सभापति श्रेष्ठले सो कुरा बताउनु भएको हो । 

निश्चयनै व्यवसाय संचालनका क्रममा चुनौतीहरू पनि आउँछन तर त्यस्ता चुनौतीहरूलाई सामना गरी मानव अधिकारको उच्चतम ख्याल गर्दै सार्क क्षेत्रमा व्यवसायिक प्रवर्द्धन र विशेष गरी महिला उद्यमशीलता प्रवर्द्धनमा सामूहिक रूपमा लाग्नु धारणा उहांले सो कार्यक्रममा राख्नु भयो ।

सार्क क्षेत्रमा महिला उद्यमशीलता विकासमा सम्पत्ति माथिको पहुँचमा कमी, पूँजी अभाव, चर्को बैकिङ व्याजदर, पर्याप्त शिक्षा, तालीम, ज्ञान, शीप तथा प्रविधिको अभाव, अन्तरिक एवं वाह्य बजार प्रवर्द्धन हुन नसक्नु, विशेष गरी कार्यस्थलमा मानव अधिकारका विषयमा पर्याप्त जानकारी दिन नसक्नु मुख्य चुनौतीको रूपमा रहेकाले यस क्षेत्रका सरकारहरूले विशेष ध्यान दिनु पर्ने सुझाव उहाँले राख्नु भयो । 



नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट ऊक्त कार्यत्रममा भाग लिनुहुंदै महिला उद्यमी समितिका सभापति श्रेष्ठले नेपाल सरकार, निजी क्षेत्र, सरोकारवाला निकायहरू बीच समन्वय गरेर मानव अधिकारको उच्चतम ख्याल गर्दै मुलुकभित्र आर्थिक व्यवसायिक विकासमा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विश्व समुदायलाई जानकारी गराउनु भयो । 

महासंघले कार्यस्थललाई सुरक्षित र सम्मानजनक कार्य वातावरण बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र दीगो विकासको लक्ष्यलाई पुरा गर्न निरन्तर अग्रभागमा रहेर कार्यगर्ने सभापति श्रेष्ठले अन्तराष्ट्रिय समुदायलाई विश्वास दिलाउनु भयो । कार्यक्रममा सार्क क्षेत्रका राष्ट्रहरूबाट सरकार, निजी क्षेत्र, मानव अधिकारका क्षेत्रमा कार्यरत संघ/सँस्थाहरूको सहभागिता रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by