Mar 07, 2019
महासंघ पदाधिकारी र अमेरिकी राजदूत बीच भेटवार्ता (२०७५/११/२३)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी (Excellency Mr. Randy Berry, Ambassador of USA to Nepal) बीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भयो ।

महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष (नेपाल) चण्डिराज ढकालको समेत सहभागिता रहेको उक्त भेटवार्तामा नेपाल अमेरिका आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, आयात निर्यात, संयुक्त लगानी, नेपालमा लगानीको वातावरण, नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन तथा आपसी सहकार्यका सम्भाव्य क्षेत्रहरूका विषयमा छलफल भयो । 

महासंघको कार्यकारिणी समितिका सदस्यद्वय जय प्रसाद सिवाकोटी र आकाश अधिकारी, अमेरिकी राजदूतावासका अधिकृतहरू र महासंघ सचिवालयका उच्च अधिकृतहरूको समेत उपस्थिति रहेको सो अवसरमा महासंघको तर्फबाट अध्यक्ष राणाले राजदूत बेरीको महासंघ सचिवालयमा स्वागत गर्नुहुँदै नेपालमा लगानीको वातावरण बन्दै गएकाले यतिखेर वाह्य लगानी, प्रविधि तथा विकासको मोडल समेत खोजिरहेको नेपालका लागि अमेरिकी लगानी आकर्षण गर्ने कार्यमा कुटनीतिक तवरबाट सहयोग गर्न राजदूत समक्ष अनुरोध गर्नुभयो । 



मुलुकको आर्थिक विकासमा नेपाल सरकार अत्यन्त क्रियाशिल रहेको यसका लागि कतिपय ऐन कानूनहरू (श्रम तथा सामाजिक सुरक्षा, फिट्टा, सेज आदि) समेत आईसकेको र बाँकी ऐन कानून पनि छिट्टै ल्याउने तरखरमा रहेको, श्रम सम्बन्ध सुमधुर बन्दै गएको, लोड सेडिङको समस्या नरहेकाले लगानीको वातावरण बनिरहेको अध्यक्ष राणाले सो अवसरमा स्पष्ट पार्नुभयो । साथै उहाँले नेपाल सरकारले अगाडी सारेको नेपाल लगानी सम्मेलन र भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रका तर्फबाट निरन्तर सरकारलाई सल्लाह सहयोग भैरहेको जानकारी गराउनु हुंदै नेपालको समृद्धिको चाहनालाई सफल पार्न अमेरिकी सरकार र निजी क्षेत्रको सहयोग नेपाली निजी क्षेत्रले खोजेको स्पष्ट पार्नुभयो । 

महासंघका विशिष्ट सदस्य ढकालले नेपाल अमेरिका बीच आपसी सम्बन्ध अत्यन्त प्रगाढ रहेको र महासंघका तर्फबाट समेत आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा विगतमा निर्वाह भएको भूमिकाको चर्चा गर्नुहुंदै राजदूतज्यूको कार्यकालमा निजी क्षेत्र बीच आपसी सम्बन्ध विस्तार, लगानीकर्ता/व्यवसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण आदान प्रदान तथा लगानी सम्बन्धी छलफल/बैठकको आयोजनालाई बढाउनु पर्नेमा जोड दिनु भयो ।

सो अवसरमा राजदुत र्याण्डी बेरीले नेपालको आर्थिक विकासमा अमेरिकाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाउनु भयो । नेपाल विस्तारै आर्थिक विकासको मार्गतर्फ अगाडी बढीरहेकोमा अमेरीकी सरकार अत्यन्त खुशी रहेको बताउनुहुँदै राजदूत बेरीले वाह्य लगानी आकर्षणका लागि अझै धेरै सुधारको आवश्यकता औल्याउनु भयो । राजदूत बेरीले सो अवसरमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनका विषयमा चासो समेत देखाउनु भयो । नेपालमा अमेरिकी लगानी आकर्षणका लागि आफ्नो कार्यकालमा सक्दो सहयोग गर्ने विश्वास समेत उहाँले दिलाउनु भयो । दुवै देशका विदेशमन्त्रीहरूको हालै अमेरिकामा सम्पन्न औपचारिक भेटवार्ताको स्मरण गर्नुहुंदै अर्को वर्ष काठमाडौंमा हुने Trade and Investment Framework Agreement –TIFA सम्बन्धी वार्ता नेपालका लागि अत्यन्त महत्वपूर्ण हुने समेत हुने उहाँले स्पष्ट पार्नुभयो । साथै उहाँले राजदूतावास र महासंघ बीच साझेदारीको अवधारणा अनुसार काम अगाडी बढीरहेकोमा खुशी समेत प्रकट गर्नुभयो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by