Feb 21, 2019
नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐन विषयमा छलफल–संवाद र सहकार्यको अभ्यासलाई निरन्तरता दिदै असल श्रम सम्बन्ध विकास गर्न रोजगारदाताहरू प्रतिवद्ध—अध्यक्ष राणा (२०७५/११/०९)

उद्यमी व्यवसायीहरूले श्रम ऐनको सफल कार्यान्वयन हुन सकेमात्र अपेक्षा गरे अनुसार श्रम सम्बन्धलाई सहज बनाई औद्योगिक शान्ति प्रवर्द्धन गर्न बल पुग्ने बताएका छन् । उद्यमी व्यवसायीहरूले नयाँ ऐनले श्रम बजारलाई गतिशिल बनाउनुको साथै श्रम सम्बन्धको विकासमा पनि ठूलो प्रभाव पार्ने हुँदा श्रम ऐनमा गरिएका व्यवस्था र यसको सफल कार्यान्वयनमा सबैको चासो हुनुपर्नेमा जोड दिएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघद्वारा अन्तराष्ट्रिय श्रम संगठन (ILO) को सहकार्यमा नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐनका वारे छलफल एवं जानकारी दिने उद्देश्यले आज काठमाडौमा आयोजित कार्यक्रममा सहभागी उद्यमी व्यवसायीहरूले सो कुरा बताएका हुन । नेपाल अहिले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयनको चरणमा छ । कार्यक्रममा महासंघका पदाधिकारीहरू, महासंघको सातै वटा प्रदेश च्याप्टका अध्यक्षहरू, अन्तराष्ट्रिय श्रम संगठन नेपाल कार्यालयका पदाधिकारीहरू र उद्यमी व्यवसायीहरू, श्रम रोजगार क्षेत्रका विज्ञहरूको सहझागिता रहेको थियो । 

अन्तरक्रिया कार्यत्रमलाई संवोधन गर्नुहुंदै कार्यक्रमका प्रमुख अतिथि एवं महासंघका अध्यक्ष भवानी राणाले रोजगारदाताहरू संवाद र सहकार्यको अभ्यासलाई निरन्तरता दिदै असल श्रम सम्बन्ध विकास गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

अध्यक्ष राणाले श्रम ऐन २०७४ को संरचनामा धेरै समस्या छैन तथापी हाम्रो विगतको अध्यास, हाम्रो अर्थतन्त्र र व्यवसायको प्रकृतिले गर्दा यो ऐन कार्यान्वयनमा केही व्यवहारिक कठिनाई समेत भईरहेको सुनिनमा आएकोले सबै प्रतिष्ठान र क्षेत्रमा लागू हुने गरी श्रम ऐन निर्माण हुनु, ऐनमा कतिपय नयाँ प्रावधान राखिनु र श्रमिकहरूको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्नुपर्ने भएकोले खास गरी साना उद्योग प्रतिष्ठानलाई अप्ठेरो पर्न गएको उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष राणाले नया“ ऐनको कार्यान्वयनमा आउने कठिनाई र समस्याको अध्ययन र उद्योग प्रतिष्ठानबाट प्राप्त राय सुझावका आधारमा ऐन नियममा आवश्यक सुधारको लागि पहल गरिने पनि बताउनु भयो ।

महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल र आइएलका देशिय निर्देशक डा रिचार्ड हवार्ड (Dr. Richard Howard, Country Director, ILO, Kathmandu) को पनि उपस्थिति रहेको सो कार्यक्रममा महासंघको रोजगारदाता परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले श्रम ऐन नियम र सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा स्थानीय र प्रदेश उद्योग वाणिज्य संघको महत्वपूर्ण भुमिका रहने भएकाले महासंघको प्रदेश च्याप्टरहरूको क्षमता विकास गर्ने योजना अर्न्तगत छलफल कार्यक्रमको आयोजना गरेको स्पष्ट पार्नुभयो ।  

परिषदका सभापति ढकालले प्रदेश सरकारसंग महासंघको प्रदेश च्याप्टरहरूले सहकार्य गर्नु पर्ने हुंदा प्रदेश च्याप्टरले अन्य विषयका अतिरिक्त श्रम र रोजगार सम्बन्धी विषयहरूलाई पनि प्राथमिकतामा राखि काम गर्नु पर्ने तर्फ बिशेष ध्यानाकर्षण गराउनु भयो ।  
रोजगारदाता परिषदका उप–सभापति भरतराज आचार्यले महासंघका प्रदेश च्याप्टरले श्रम सम्बन्ध, औद्योगिक विकास एवं रोजगारी सिर्जना जस्ता विषयमा प्रदेश सरकारका सम्बन्धित निकायसंग कार्य गर्नुपर्ने हुँदा श्रम ऐन, नियम लगायत श्रम सम्बन्धका अन्य विविध पक्षमा जानकारी दिन सातवटै प्रदेशमा तालिम तथा गोष्ठी आयोजना गर्न कार्यक्रम तय भईसकेको जानकारी गराउनु भयो । साथै उहा“ले कार्यक्रमबाट स्थानीय तहमा नयाँ ऐनका विषयलाई कार्यस्थलमा प्रभावकारी कार्यान्वयनमा सघाउ पुग्ने विश्वास समेत प्रकट गर्नुभयो । 

आइएलओ नयाँ दिल्लीका रोजगारदाता गतिविधि सम्बन्धी वरिष्ठ विशेषज्ञ रभिन्द्र पेरिस (Mr. Ravindra Peiris, Senior Specialist Employers’ Activities, ILO New Delhi) ले रोजगारदाता र श्रमिक बीचको सौहाद्रपूर्ण वातावरणमा आएको श्रम ऐन र सामाजिक सुरक्षा ऐनको सफल कार्यान्वयनबाट नेपालको श्रम बजार सम्मानजनक बन्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । साथै उहा“ले नया“ ऐनमा भएका व्यवस्थाहरूको सफल कार्यान्वयन हुन सकेमा नेपालको औद्योगिक विकासले चाडै गतिलिने समेत विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, आइएल नेपाल कार्यालयका वरिष्ठ अधिकृतहरू प्रकाश शर्मा र शलोमन राजवंशीले कार्यक्रमका बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा कानूनविद अनुपराज उप्रेती र श्याम राज अधिकारीले श्रम ऐन र सामाजिक सुरक्षा ऐनका प्रावधानहरू र अर्थशास्त्री विश्व पौडेलले नेपालमा व्यवसायिक वातावरणका विषयमा प्रस्तुती दिनु भएको थियो  । 

सोही अवसरमा महासंघका अध्यक्ष राणा, विशिष्ठ सदस्य ढकाल, रोजगारदाता परिषदका सभापति ढकाल, उपसभापति अचार्य, आइएलओका रभिन्द्र पेरिस, प्रकाश शर्माले “श्रम ऐन २०७४ योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ एवं नियमावली तथा कार्यविधि” को संयुक्त रूपमा लोकापर्ण समेत गर्नुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by