Feb 11, 2019
दक्षिण एसियाली रोजगारदाता मञ्चको बैठक नयाँ दिल्लीमा नेपालमा लगानी गर्न महासंघका रोजगारदाता परिषदका सभापति ढकालको आग्रह (२०७५/१०/२८)

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले दक्षिण एसियाली रोजगारदाता मञ्चको आजदेखि नयाँ दिल्लीमा शुरु भएको आठौं बैठक (8th Session of the South Asian Forum of Employers-SAFE) लाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवं लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

सभापति ढकालले नेपालमा श्रम तथा सामाजिक सुरक्षा सम्बन्धी उपयुक्त कानुनहरु निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिक बीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकोले लगानीको वातावरण बनेको जानकारी गराउनुभयो ।

रोजगारदाता परिषदका सभापति ढकालले नेपालमा लामो राजनीतिक संक्रमणपछि स्थिर सरकार बनेको र संघीय, स्थानीय र प्रादेशिक तीनै तहको निर्वाचन सम्पन्न भई सरकार समेत गठन भई क्रियाशिल रहेकाले नेपालका लगानीका मुख्य क्षेत्रहरु कृषि, पर्यटन, उर्जा, सेवा क्षेत्र लगायतका क्षेत्रमा लगानीका लागि आग्रह गर्नुभएको हो ।

नेपाल सरकारले आगामी महिना लगानी सम्मेलन गर्न लागेको र नेपालमा लगानीका थूप्रै सम्भावनाहरु रहेको स्मरण गराउँदै सभापति ढकालले सो सम्मेलनमा सहभागी भई नेपालमा तिनको अध्ययन र पहिचान गर्न सार्क क्षेत्रका लगानीकर्ताहरुलाई आमन्त्रण समेत गर्नुभयो ।

श्रमिकका समस्याका विषयलाई सम्बोधन गर्नेगरी श्रम सम्बन्धी कानुन निर्माण भएका, देशमा राजनीतिक स्थिरता देखिएको र वैदेशिक लगानीका लागि लगानीमैत्री वातावरण निर्माणमा सरकार लागिपरेकोले नेपालमा सम्भावना रहेका कैयौं क्षेत्रहरुमा लगानी गरी पारस्पारिक आर्थिक लाभ लिन सार्क क्षेत्रका लगानीकर्ताहरुलाई आग्रह समेत गर्नुभयो ।

उहाँले नेपाल सरकारद्वारा हालै जारी गरिएका श्रम तथा सामाजिक सुरक्षा सम्बन्धी कानुनको कार्यान्वयनका साथै श्रम बजारको विस्तार एवं प्रादेशिक रुपमा श्रमिकहरुको क्षमता अभिबृद्धि गरी मुलुकमा औद्योगिक विकास र प्रवर्द्धनमा जोड दिनुभयो ।

दक्षिण एसियाका लगानीकर्ता एवं रोजगारदाताहरुले यस खालको मञ्चबाट निकै फाइदा लिन सक्ने धारणा राख्दै ढकालले सार्क देशहरुमा आर्थिक, सामाजिक, सांस्कृतिकका साथै लगानीका क्षेत्रहरुमा पनि साझा खालका अवसर र चुनौतीहरु रहेकाले यस्ता मञ्चबाट साझा लाभ लिन सकिने बताउनुभयो ।

यस दक्षिण एसियाली क्षेत्रका सरकारहरुलाई पनि आर्थिक सामाजिक क्षेत्रको विकास तथा आपसी आर्थिक हित प्रवर्द्धनका लागि आवश्यक र उपयुक्त नीति बनाउन यस्ता मञ्चबाट सामुहिक रुपमा सुझाव दिन या आग्रह गर्न सकिने पनि रोजगारदाता परिषदका सभापति ढकालले बताउनुभयो ।

उहााले यस रोजगारदाताहरुको साझा मञ्चमार्फत सार्क क्षेत्रमा लगानी प्रवर्द्धन गर्न, आर्थिक हितका साझा मुद्धाहरुमा मिलेर काम गर्न, पर्यटन, उर्जा, सेवा क्षेत्रलगायतमा लगानीका सम्भावनाहरुको पहिचान गरी द्विपक्षीय एवं बहुपक्षीय रुपमा लाभलिने गरी पारस्परिक सहयोगको वातावरण निर्माण गर्न पनि सबैसाग आग्रह गर्नुभयो ।

दक्षिण एसियाली रोजगारदाता मञ्चको बैठक तीन दिनसम्म चल्ने छ । यस बैठकमा नेपाललगायत सार्क राष्ट्रका रोजगारदाताहरुको सहभागिता रहेको छ । बैठक फागुन १ गतेसम्म चल्नेछ ।

सार्क देशका उद्योग बाणिज्य संघ, महासंघ तथा चेम्बर अफ कमर्स लगायतमा आबद्ध रोजगारदाताहरु सम्मिलित यस मञ्चमार्फत रोजगारदाताहरुले आफ्ना क्षेत्रका समस्या, सम्भावना र चुनौतीहरुको खोजी गरी तिनको समाधानका उपायहरुका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by