Apr 27, 2016

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले वाणिज्य मन्त्री जयन्त चन्द समक्ष आज उहांको कार्यकक्षमा भेट गऱ्यो ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरु शंकर श्रेष्ठ, राजन शर्मा, कमला श्रेष्ठ, ज्योत्साना श्रेष्ठ र महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ सहभागी रहनु भएको सो अवसरमा महासंघका अध्यक्ष मुरारकाले नननियुक्त वाणिज्य मन्त्री चन्दलाई बधाई सहित उहांको कार्यकालको सफलताको कामना गर्नुभयो ।

भेटवार्तामा अध्यक्ष मुरारकाले विविध कारणबाट उद्योग व्यवसाय क्षेत्र संकटमा रहेकाले सरकारको उचित संवोधन मार्फत मुलुकभित्र औद्योगिक व्यवसायिक वातावरण बनाउनु पर्नेमा जोड दिनु भयो ।

सो क्रममा अध्यक्ष मुरारकाले खुला अर्थतन्त्रमा फर्मको पूंजी सीमा तोक्न नहुने, जिल्लास्थित वाणिज्य कार्यालयहरुलाई अधिकारसम्पन्न बनाउनु पर्ने, डेमरेज डिटेन्सनमा सरकारले उचित संवोधन गर्नुपर्ने, फर्म नविकरणका क्रममा जिल्लाहरुमा व्यवसायीहरुले भोग्न परेको समस्याहरुको उचित समाधान गरिनुपर्ने, वाणिज्य क्षेत्रमा देखापरेका नीतिगत एवं प्रक्रियागत झन्झटहरुको निराकरण गर्नुपर्ने लगायतका विषयमा वाणिज्य मन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।

वाणिज्य मन्त्रालयका निमित्त सचिव तोया नारायण ज्ञवालीको समेत उपस्थिति रहेको सो अवसरमा नवनियुक्त मन्त्री चन्दले महासंघबाट प्राप्त सुझाव तथा गुनासाहरुलाई अध्ययन गरि समस्या समाधानमा आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो । मन्त्री चन्दले नीतिगत तथा कानुनी सुधारमा महासंघसंग नजिकमा रहेर कार्य गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by