Mar 29, 2016
नेउवामहासंघ र सैनिक अधिकृत बीच मुलुकको अर्थतन्त्र र उद्योग व्यवसायका सम्बन्धमा अन्तरक्रिया(२०७२/१२/१६)

 

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाली सेनाका सैनिक अधिकृतहरु बीच आज महासंघ सचिवालय, टेकूमा उद्योग व्यवसायको विकासमा निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाली सेनाले प्रत्येक वर्ष सेनाका अधिकृतहरुका लागि निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघसँग यस प्रकारको अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ ।

उक्त अवसरमा सैनिक अधिकृतहरुलाई सम्वोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले मुलुकभित्र शान्ति सुरक्षाको वहाली सहित मुलुक निर्माणमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुहुंदै मुलुकको आर्थिक विकासमा महासंघले गर्दै आएका प्रयासहरु वारे जानकारी गराउनु भयो । केही महत्वपूर्ण विकास निर्माणका कामहरु जस्तो उर्जा विकास लगायतमा नेपाली सेनासंग सहकार्य गरेर जान सकिने सम्भावना उहांले औल्याउनु भयो । उपाध्यक्ष श्रेष्ठले नेपाली सेनाका अधिकृतहरुलाई मुलुकको निर्माण, पूँजी परिचालन एवं रोजगारी प्रवद्र्धनमा निजी क्षेत्रको महत्व र भूमिकाका विषयमा जानकारी गराउन पाएकोमा खुशी प्रकट गर्नुभयो ।

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति शंकर श्रेष्ठले यस कार्यक्रमबाट नेपालको आर्थिक वस्तुस्थिति एवं महासंघका गतिविधिसंग नजिकबाट जानकारी आदान प्रदानमा सघाउ पुग्नुको साथै आपसी सहकार्यमा समेत सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो । कार्यक्रमको प्रारम्भमा महासंघका महानिर्देशक धरणीधर खतिवडाले विषय प्रवेश गराउनु भएको थियो ।

सो अवसरमा महासंघका निर्देशक हंसराम पाण्डेले सेना र निजी क्षेत्र बीच आपसी विश्वास र सम्बन्ध सुदृढ पार्न यस प्रकारका कार्यक्रमहरु महत्वपूर्ण हुने बताउनु भयो । सो अवसरमा निर्देशक पाण्डेले महासंघ र यसको भूमिका वारे विस्तृत प्रस्तुतीकरण गर्नु भएको थियो ।

सो अवसरमा सहायक रथी समिर शाहीले वदलिंदो अवस्थामा सैनिक अधिकृतहरुलाई उद्योग व्यवसाय लगायत वहुपक्षिय विषयमा जानकारी दिन आवश्यक महशुस गरि महासंघसंग यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको र कार्यक्रम उपलव्धीमुलक समेत भएको हुंदा भविष्यमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो ।

उक्त कार्यक्रममा सैनिक अधिकृतहरुले नेपाली अर्थतन्त्रको विद्यमान अवस्था, उद्योग व्यवसायको विकासमा महासंघको भूमिका, राजश्व, वैकिङ, उर्जा विकास, व्यवसायिक कृषि, पारवहन सम्झौता, वातावरण, सिण्डिकेट, कार्टेलिङ, कालोवजारी, वैदेशिक लगानी, श्रम लगायतका विषयमा जिज्ञासाहरु राखेका थिए ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by