Jan 06, 2019
समृद्धिको अनुभुति भएनः महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकाल (२०७५/०९/२२)

नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले मुलुकमा दुई तिहाई बहुमतको सरकार गठन भएको नौ महिनासम्म पनि मुलुकमा समृद्धिको अनुभुति हुन नसकेको बताउनु भएको छ । 

रिपोटर्स क्लव नेपाल प्रदेश नम्वर ५ दाङले आज दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विशिष्ट सदस्य ढकालले सो कुरा बताउनु भएको हो । मुलुक कम्तिमा २० बर्ष अन्यौलको वातावरणमा रहँदा पनि व्यवसायीहरूले कहिल्यै हौसला नगुमाएर मुलुकलाई गतिशिल बनाउन लागिपरेको स्मरण गर्दै पूर्व अध्यक्ष ढकालले अन्यौल र अस्थिरतामा पनि व्यवसायीहरू हतोत्साहित नभएको स्पष्ट पार्नुभयो ।

गुजारामुखी अर्थतन्त्रलाई प्रतिस्थापन गरी निर्यातमुखि अर्थतन्त्रको विकास भएमात्र मुलुकमा आर्थिक समृद्धिको लक्ष हासिल हुने उहाँले बताउनुभयो । ‘लगानीमैत्री वातावरण सरकारले बनाइदिनुपर्यो, त्यसमा हातेमालो गर्न हामी सम्पूर्ण व्यवसायीहरू तयार छौं’-विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले भन्नुभयो, सरकारले व्यवसायीहरूलाई हतोत्साहित होइन, उर्जाशिल बनाउन आवश्यक छ ।



साक्षात्कार कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले दुई तिहाई वहुमतको सरकारबाट व्यवसायीहरूले आर्थिक समृद्धिको धेरै आशा गरेको बताउंदै समृद्धिको न्यानो ताप अझै पाई नसकेको बताउनु भयो । ‘अझै पनि आशावादी छौं, हतोत्साहि भएका छैनौं, तर राज्यले देखिने खालका अर्थपूर्ण आर्थिक समृद्धिको अभियान चालोस भन्ने शुभ-कामना दिन चाहान्छौं’-प्रधानले भन्नुभयो । साथै उहा“ले समृद्धिको यो अभियानमा दाङका पूर्वपश्चिम र उत्तरदक्षिणमा रहेका धार्मिक धरोहरहरूले आशिर्वाद प्रदान गरून भन्ने कामना पनि गर्नुभयो ।



महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले दाङमा एग्रो इन्डष्ट्रिजको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै, त्यसको वातावरण बनाइदिन स्थानिय सरकारलाई आग्रह गर्नुभयो । ‘यहाँ कृषिजन्य उद्योगको भरपुर सम्भावना छ, यद्धपि खुर्सानिदेखि बेसारसम्म पनि उल्लेख्य रूपमा आयात भैरहेको देखिन्छ, यसलाई कृषिजन्य उद्योगले समन्वय गर्न सक्छ’-उपाध्यक्ष ढकालले भन्नुभयो । त्यसैगरी यहा“का नदिनाला र प्राकृतिक स्रोतबाट पनि आयआर्जन गर्न सकिने प्रसस्त संभावना रहेको पनि उहाँले प्रस्ट पार्नु भयो । 



कार्यक्रममा महासंघको प्रदेश नम्वर ५ का अध्यक्ष गुणनिधि तिवारीको पनि उपस्थिति रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by