Dec 19, 2018
पूर्व अध्यक्ष ढकालबाट चीनमा आयोजित १६ औं लगानी सम्मेलनलाई संवोधन–नेपालमा लगानी गरी लाभ उठाउन विश्व समुदायलाई आग्रह (२०७५/०९/०४)

नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले चीनमा आयोजना भएको १४ औं चाइना साउथ एशिया विजनेश फोरम बैठक (14th China-South Asia Business Forum) र १६ औं लगानी सम्मेलन तथा व्यापार मेला (16th Investment  Forum and Trade Fair Achievements & Symposium) मा भागलिनु भयो । उक्त कार्यक्रमहरूमा भाग लिने क्रममा श्री ढकाल हाल चीन भ्रमणमा हुनुहुन्छ । चाइना साउथ एशिया विजनेश फोरम बैठकमा सार्क तथा चीनबाट सरकारी तथा निजी क्षेत्रको प्रतिनिधित्व रहेको थियो । उक्त फोरमको एउटा व्यवसायिक सत्रको उहाँले सभापतित्व समेत गर्नु भएको थियो । 

१६ औं लगानी सम्मेलन तथा व्यापार मेला (16th Investment  Forum and Trade Fair Achievements & Symposium) मा बीआरआइलाई साउथ इष्ट एण्ड साउथ एसियाको विकासको लागि कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । उक्त सम्मेलनमा सार्क राष्ट्रका प्रतिनिधि, युरोपियन युनियनका एम्बेस्डर लगायत चिनियाँ सरकारी अधिकारहरू सहित लगभग ४ सय लगानीकर्ताको उपस्थिति रहेको थियो । सो कार्यक्रममा श्री ढकाललाई अतिथि वक्ताको रुपमा निम्त्याइको थियो । 



ती दुवै कार्यक्रमलाई छुट्टाछुट्टै समयमा संवोधन गर्नुहुंदै विशिष्ट सदस्य ढकालले सार्क राष्ट्रलाई लगानीको थलो बनाउनु पर्ने धारणा राख्नु भयो । सार्कको युथ फोर्सलाई उत्पादनको लागि प्रयोग गर्न सकिने उहाँको सुझाव थियो । आगामी मार्चमा नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा भाग लिन समेत सहभागी राष्ट्रहरूलाई श्री ढकालले आव्हान गर्नुभयो । सन् २०२० लाई नेपालले भम्रण वर्षको रूपमा मनाउन लागेकाले सहभागीहरूलाई नेपालको भ्रमण वर्ष सफल पार्न सहयोगका लागि आग्रह समेत गर्नुभयो । महासंघका पूर्व अध्यक्ष ढकालले नेपालमा हाइड्रो, पर्यटन, आधुनिक कृषि लगायतका क्षेत्रमा लगानी गर्न समेत अनुरोध गर्नुभयो । विशिष्ट सदस्य श्री ढकाल सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commerce and Industry-SCCI) का उपाध्यक्ष समेत हुनुहुन्छ ।
 
विशिष्ट सदस्य ढकालले नेपालमा राजनीतिक स्थिरता कायम हुँदै गएको, पाँच वर्षका लागि स्थिर सरकार गठन भई क्रियाशिल रहेको र ऐन कानूनहरू पनि वैदेशिक लगानी मैत्री रहेको जानकारी विश्व समुदायलाई गराउनु भयो । उर्जा क्षेत्रमा लगानी गर्नेहरूका लागि नेपाल सरकारले निकै धेरै सहुलियत र सुविधा समेत दिएको जानकारी गराउँदै नेपालमा लगानी गर्ने लगानीकर्ताले शत प्रतिशत मुनाफा स्वदेश फिर्ता लैजान सक्ने कानुनी व्यवस्था रहेको समेत स्पष्ट पार्नु भयो । 

विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले खासगरी अतिकम विकसित र विकासशील देशहरूको आर्थिक विकासमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै विशिष्ट सदस्य ढकालले चीनले अगाडी सारेको बेल्ट एण्ड रोड इनिशिएटिभ (The Belt and Road Initiative-BRI) को अवधारणाले नेपाल लगायत सार्क सदस्य राष्ट्रहरू समेत गरी विश्वका ६० भन्दा बढी देशहरूलाई जमिन, जल र इन्टरनेटका माध्यमबाट जोड्दै आश्चर्यजनक रूपमा आर्थिक अवसरहरू सृजना गर्ने दावी गर्नुभयो । आफ्नो संवोधनका क्रममा नेपालको पर्यटन विकासमा चिनियाँहरूको आकर्षण बढाउनु पर्नेमा जोड दिनु हुंदै उहाँले नेपालमा क्षेत्रगत लगानीका अवसर, सरकारले उपलव्ध गराएका नीतिगत सुविधाका विषयमा अन्तराष्ट्रिय लगानीकर्ताहरूलाई जानकारी गराउनु भयो । 



तुलनात्मक रूपमा दक्षिण एशिया विश्वका अन्य राष्ट्रहरूसँग जोडिन नसकेको परिप्रेक्षमा बीआरआइले दक्षिण एशियालाई पान एशिया, यूरेशिया, सेन्ट्रल एशिया, अफ्रिका, यूरोप र त्यसभन्दा पनि बाहिरका राष्ट्रहरूसँग समेत सम्पर्क स्थापित गरी विकासका सम्भावनालाई उजागर गर्न सहयोग पुर्‍याउने दावी समेत गर्नुभयो । 

चीन भ्रमणका क्रममा श्री ढकालले सार्क तथा चीनका व्यवसायिक नेताहरू, सरकारी उच्च पदस्थ अधिकारीहरू र शील्क रोड उद्योग वाणिज्य संघका उपाध्यक्ष समक्ष द्विपक्षीय भेटवार्ता समेत गर्नुभएको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by