Dec 17, 2018
नेपाली र चिनियाँ निजी क्षेत्र बीच भेटवार्ता : चीनको हुपेई प्रान्त नेपालमा लगानी गर्न इच्छुक (२०७५/०९/०२)

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकालको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चीनको हुपेई उद्योग वाणिज्य महासंघ तथा हुपेई प्रान्तीय उद्योग वाणिज्य संघका उपाध्यक्ष चाओ सुफेङ (Mr. Zhao Xufeng, Vice President of Hubei Federation of Industry and Commerce and Vice President of the Provincial General Chamber of Commerce) को नेतृत्वमा नेपाल भ्रमणमा आएको चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भयो । 

सो भेटवार्तामा नेपाली र चिनियाँ उद्यमी व्यवसायी बीच नेपाल–चीन आर्थिक व्यवसायिक सम्बन्ध, संयुक्त लगानी विस्तार, वैदेशिक लगानी सम्बन्धी नीतिगत व्यवस्था लगायतका विषयमा छलफल भयो ।  

सो अवसरमा प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका उपाध्यक्ष ढकालले नेपालमा लगानीको वातावरण, विदेशी लगानी सम्बन्धी विद्यमान नीतिगत व्यवस्थाका विषयमा स्पष्ट पार्नुभयो । नेपालमा यतिखेर लगानीका लागि सवैभन्दा उपयुक्त समय भएको समेत उहाँले बताउनु भयो । नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीका हिसावले समेत सवैभन्दा बढी लगानी गरीरहेको छिमेकी राष्ट्र चीनबाट अझै धेरै लगानीको अपेक्षा नेपालले गरेको पनि उहाँले बताउनु भयो । 

नेपालमा लगानी, पूँजी, प्रविधि भित्रयाउँदा तपाईहरूलाई आवश्यक सहयोग गर्न महासंघ तयार छ, उपाध्यक्ष ढकालले विश्वास दिलाउनु भयो । सन् २०१९ को मार्चमा नेपाल सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागेकोले उक्त सम्मेलनमा सहभागिताका लागि चिनियाँ पक्षलाई आमन्त्रण समेत गर्नुभयो । साथै उहाँले सम्मेलन अगाडी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक व्यवसायिक ऐन र अन्य आवश्यक ऐन कानूनहरूलाई समय सान्दर्भिक रूपमा परिमार्जन गरी बढी भन्दा बढी वैदेशिक लगानी आकर्षणका लागि सरकार र निजी क्षेत्रले गृहकार्य गरिरहेको जानकारी गराउनु भयो ।  

नेपालमा लगानीका सम्भाव्यताका विषयमा अध्ययन गर्न आएको उक्त प्रतिनिधिमण्डललाई महासंघका तर्फबाट व्यवसायिक कृषि, पूर्वाधार (सडक, पुल, टनेल, एयरपोर्ट), पर्यटन, उर्जा, सूचना प्रविधि, उत्पादनमुलक उद्योग लगायतका क्षेत्रमा लगानी गर्न आव्हान गरियो । उपाध्यक्ष ढकालले महासंघले सन् २०१९ को मार्चमा आयोजना गर्ने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा हुपेई प्रान्तको महत्वपूर्ण सहभागिताका लागि निम्तो समेत दिनु भयो ।   

सो अवसरमा चिनियाँ पक्षबाट हुपेई प्रान्तले गरेको विकासको अनुभव, उच्च प्रविधि तथा पूँजी मार्फत नेपालको विकासमा सहयोग गर्न तिव्र इच्छा व्यक्त गरियो । प्रतिनिधिमण्डलका नेता एवं हुपेई उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाओ सुफेङले नेपालको विकासमा हुपेई प्रान्त सहयोग गर्न आतुर रहेको स्पष्ट पार्नुभयो । सो अवसरमा चिनियाँ पक्षबाट व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदानमा समेत जोड दिइयो । साथै सो अवसरमा भएको छलफलमा नेपालको जलविद्युत विकासमा सहकार्य गर्ने विश्वास चिनियाँ पक्षबाट व्यक्त भएको थियो । 

भेटवार्तामा महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले दक्षिण एशियामा नेपाल सवैभन्दा बढी लगानीका लागि उपयुक्त थलो भएकाले नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । दक्षिण एशियाको सवैभन्दा सिरानामा रहेको र चीनको अत्यन्त घनिष्ठ मित्रराष्ट्र समेत भएकाले नेपालको विकास प्रयासमा सहयोग गर्न उहाँले अनुरोध समेत गर्नुभयो । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ तपाईहरूलाई नेपालमा स्वागत गर्न आतुर छ, कोषाध्यक्ष प्रधानले भन्नु भयो– सरकार विदेशी लगानी आकर्षणका लागि आवश्यक नीतिगत सुधारमा क्रियाशिल रहेको र लगानीको वातावरण समेत अत्यन्त अनुकुल रहेको छ ।  



भेटवार्तामा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, महासंघको सदस्य संघ सस्थाका प्रतिनिधिहरू, चीनसँग व्यापार व्यवसाय गरिरहेका नेपाली उद्यमी व्यवसायीहरू र महासंघका वरिष्ठ कर्मचारीहरू र प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो  ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by