Nov 30, 2018
नेपाल र कम्बोडियाका निजी क्षेत्र बीच व्यापार एवं लगानी प्रबर्द्धन सम्बन्धी छलफल (२०७५/०८/१४)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा एवं महासंघका पदाधिकारी र नेपाल भ्रमणमा रहेका कम्बोडिया व्यापार संघ (Cambodia Chamber of Commerce - CCC) का उपाध्यक्ष ओक्न्हा लिम हेङ्ग (Oknha LIM HENG) को नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डल बीच आज महासंघको सचिवालयमा भेटघाट एवं छलफल भयो । उक्त प्रतिनिधिमण्डल नेपालमा आयोजित Asia Pacific Summit 2018 मा कम्बोडियाका प्रधानमन्त्री हुन सेनको प्रतिनिधिमण्डल सहित नेपाल भ्रमणमा आएको हो ।

उक्त भेटघाट तथा छलफल कार्यक्रममा महासंघका अध्यक्ष राणाले प्रतिनिधिमण्डलको स्वागत गर्नु हुंदै नेपालमा हालका दिनमा स्थायी सरकार भएको तथा सरकारको प्रमुख उद्देश्य तथा लक्ष्य आर्थिक सम्बृद्धि भएकोले सो अनुसार नेपालमा लगानी मैत्री वातावरण भएको बारे स्पष्ट पार्नु हुंदै नेपालमा लगानी गर्न आव्हान गर्नु भयो ।

 

यसै क्रममा उहाँले नेपालमा लगानीको लागि सम्भाव्य भएका क्षेत्रहरु बारे प्रतिनिधि मण्डललाई जानकारी गराउनु हुंदै नेपालमा कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएको र सो अनुसार सरकारले लगानीसंग सम्बन्धित ऐन नियमहरु सुधार गर्दै लगेको वस्तुस्थिति प्रस्तुत गर्नु भयो । साथै उहाँले नेपालमा धेरै क्षेत्रहरुमा शत्प्रतिशत विदेशी लगानी गर्न सक्ने जानकारी गराउनु हुंदै नेपाल सरकार र कम्बोडिया सरकार बीच भएको हवाई सेवा सम्झौताबाट नेपाल र कम्बोडिया बीच व्यापार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्न जाने बताउनु भयो । छलफलको क्रममा उहाँले हालका दिनहरुमा रोजगारदाता र श्रमिकहरु बीच सुमधुर सम्बन्ध भएको तथ्य माथि प्रकाश पार्नु हुंदै नेपाल लगानीको लागि अत्यन्त लाभदायक गन्तव्य भएको बताउनु भयो । साथै उहाँले महासंघ र कम्बोडिया चेम्बर बीच चाँडै नै समझदारी पत्रमा हस्ताक्षर गरी अघि बढ्ने बताउनु भयो ।

उक्त अवसरमा कम्बोडिया चेम्बर अफ कमर्सका उपाध्यक्ष लिमले कम्बोडियाली व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी दिनु हुंदै नेपालमा लगानी सम्बन्धी भएका नीति ऐन नियमहरु वारे जिज्ञासा राख्नु भयो । उहांले नेपाल सरकार र कम्बोडिया सरकार बीच भएको हवाई सेवा सम्झौता द्विपक्षीय व्यापार तथा पर्यटनको बिकासमा कोशेढुंगा हुने विश्वास व्यक्त गर्न हुदै दुई सरकारहरु बीचको बलियो सम्बन्धले निजी क्षेत्र बीचको सम्बन्धलाई अझ मजबूत बनाउने धारणा राख्नु भयो ।



उक्त छलफल कार्यक्रममा महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधान, पूर्व कार्यकारिणी समितिका सदस्य शंकर प्रसाद पाण्डे, निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी एवं वस्तुगत संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by